
सन् २००४ मा वर्तमान प्रधानमन्त्री शेख हसिनामाथि लक्षित एक आक्रमणका दोषी ठहरिएका १९ जनामाथि बंगलादेशको एक अदालतले मृत्युदण्ड दिने गरी फैसला गरेको छ ।
तत्कालीन विपक्षी दलकी नेतृ शेख हसिनाको ढाकामा आयोजित र्यालीमा ग्रिनेड आक्रमण गरिएको थियो । आक्रमणबाट शेख हसिना घाइते हुनुका साथै २० जना मारिएका थिए । तत्कालीन प्रधानमन्त्री खालेदा जियाका छोरा तारिक रहमान समेत ४९ जनाका विरुद्ध उक्त आक्रमणको आरोप लागेको थियो ।
आक्रमणको योजना बनाएको आरोपमा रहमानमाथि मुद्दा चलेको छ । ५० वर्षीय रहमान भने सन् २००८ मा देश छाडेर बेलायतको लन्डनमा निर्वासित जीवन व्यतित गरिरहेका छन् । भ्रष्टाचारको आरोपमा पाँच वर्षका लागि गत फेब्रुअरीमा खालेदा जिया जेलमा थुनिएपछि निर्वासनबाटै रहमानले प्रमुख प्रतिपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी बीएनपीको नेतृत्व गरिरहेका छन् ।
‘फैसलाका लागि हामी भगवानलाई धन्यवाद दिन्छौं,’ कडा सुरक्षाबीच सरकारी वकिल मोसाराफ होस्सैनले बताए– ‘हाम्रो आशा छ, तारिक रहमानले पनि मृत्युदण्ड पाउने छन् ।’ १९ जनामाथि मृत्युदण्डको फैसलाबारेको यो खबर बिहीबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।