newskoseli.Com

अब ‘एसएमएस’ बाटै प्रसूति सेवा !

बैतडीका ग्रामीण क्षेत्रका १ सय २७ प्रसूति सेवा केन्द्रमार्फत सुरक्षित प्रसूति सेवा प्रदान गर्न थालिएपछि आमा र नवजात शिशुको मृत्युदरमा कमी आएको छ ।

केन्द्रमार्फत सुरक्षित प्रसूति सेवा प्रदान हुन थालेपछि मातृमृत्यु र शिशु मृत्युदरमा कमी आएको जिल्ला स्वास्थ्य कार्यालयकी पब्लिक हेल्थ नर्स ममता जोशीले जानकारी दिइन् । जिल्लामा अहिले १ सय २७ प्रसूति सेवा केन्द्रबाट सुरक्षित प्रसूति सेवा प्रदान भइरहेको उनले बताइन् ।

गाउँगाउँमा प्रसूति सेवा सुरु भएपछि आमा र शिशुको ज्यान जोगाउने अभियान सफल भएको देहीमाडौं स्वास्थ्यचौकीकी अनमी हिरा बोहराले बताइन् । पछिल्लो समय सुत्केरी सेवा लिन महिला पनि स्वास्थ्य संस्थामा आउने गरेको उनले बताइन् । पहिलाको तुलनामा गाउँघरमा हिजोआज धेरै परिवर्तन आएको बोहराले बताइन् ।

बढे सुरक्षित सुत्केरी सेवा लिनेहरू

बैतडीमा सुरक्षित सुत्केरी सेवा लिने महिलाको सङ्ख्यामा वृद्धि भएको पाइएको छ । यहाँका धेरै महिलाले सुरक्षित प्रसूति सेवा लिने गरेका छन् । पहिले–पहिले घरमै सुत्केरी हुने महिला आजभोलि सुत्केरी हुन स्वास्थ्य संस्थामै पुग्ने गरेका छन् । स्वास्थ्य संस्थामा सुत्केरी हुँदा आमा र बच्चा सुरक्षित हुन्छन् भन्ने चेतनाको विस्तार नागरिकमा हुँदा महिला सुत्केरी हुन स्वास्थ्य संस्थामा पुग्ने गरेका छन् ।

गर्भवती आमाले स्वास्थ्यको प्रोटोकलअनुसार स्वास्थ्य संस्थामा चार पटक जाँच गराउँदा ८ सय रुपैयाँ र स्वास्थ्य संस्थामा सुत्केरी हुँदा २ हजार रुपैयाँ भत्ता सरकारले दिने भएकाले पनि सुरक्षित सुत्केरी सेवा लिन स्वास्थ्य संस्था पुग्ने महिलाको सङ्ख्या बढेको देहीमाडौं स्वास्थ्यचौकीकी अनमी बोहराले बताइन् । उनका अनुसार साउनदेखि अहिलेसम्म २८ जनाले सुरक्षित सुत्केरी सेवा लिएका छन् ।

पछिल्लो समय केही कारणवश घरमै सुत्केरी भइहाले पनि सुत्केरी आमा स्वास्थ्य संस्थामा पुग्ने गरेका छन् । सुत्केरी भएको २४ घन्टामा स्वास्थ्य संस्थामा पुगेपछि पनि सुत्केरी आमाले सुत्केरी भत्ता पाउने गरेका छन् । आमा र बच्चाको स्वास्थ्य राम्रो बनाउन स्वास्थ्य संस्थामै सुत्केरी हुनुपर्नेमा जोड दिइएको बोहोराले बताइन् ।

गर्भवतीकोे तथ्याङ्क मोबाइलबाटै

मातृमृत्यु र बालमृत्युदरमा कमी ल्याउन गर्भवती महिलाको नाम दर्ता गराउने र उनीहरुलाई एसएमएसमार्फत नै गर्भजाँच र सुत्केरीका लागि निम्तो दिन थालिएको छ । बैतडीका विभिन्न स्थानीय तहका महिला स्वास्थ्य स्वयंसेविकाले मोबाइलमार्फत गर्भवती महिला र सुत्केरी हुने महिलालाई स्वास्थ्य संस्थामा पुर्‍याउन सहयोग गरिरहेका छन् ।

महिला स्वास्थ्य स्वयंसेविकाले मोबाइल प्राप्त गरेपछि गर्भजाँच गराउने र स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिलाका लागि सजिलो भएको छ । संस्थागत सुत्केरी र गर्भजाँच गराउनेको सङ्ख्यामा वृद्धि नभए पनि मोबाइलबाटै नाम दर्ता गराउनेको सङ्ख्या बढेको जानकारी जिल्ला स्वास्थ्य कार्यालय बैतडीका परिवार नियोजन सुपरभाइजर डिल्लीरमण जोशीले दिए । अहिले ९० प्रतिशत गर्भवती महिलाको नाम महिला स्वास्थ्य स्वयंसेविकाले मोबाइलबाटै दर्ता गरेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयले मेडिक मोबाइलसँगको सहकार्यमा महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल प्रदान गरेपछि उनीहरुले एसएमएसमार्फत नाम दर्ता गराउने र उनीहरुलाई एसएमएसमार्फत नै गर्भजाँच र सुत्केरीका लागि निम्तो दिने गरिएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । जिल्लाका ८ सय ३१ महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल वितरण गरिएको छ र स्थानीय तहले उनीहरुको मोबाइलमा रिचार्ज गरिदिने गरेको छ ।

स्वयंसेविकाले आफूसँग भएको मोबाइलमा गर्भवती महिलाको नाम दर्ता गर्ने बित्तिकै जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कमा नाम दर्ता हुने र गर्भवती महिलालाई ४, ६, ८ र ९ महिनामा गर्भजाँच गराउनका लागि महिला स्वास्थ्य स्वयंसेविकाको मोबाइलमा म्यासेज जाने गर्दछ । सोही म्यासेजको आधारमा महिला स्वास्थ्य स्वयंसेविकाले गर्भजाँच र सुत्केरी गराउन स्वास्थ्य संस्थामा पठाउने गरेको परिवार नियोजन सुपरभाइजर जोशीले जानकारी दिए ।

आफूहरुले मोबाइलमार्फत एसएमएस पठाउँदा र पाउँदा गर्भवती महिला तथा सुत्केरी हुने समय पुगेका महिलालाई स्वास्थ्य संस्थामा पठाउन सजिलो भएको डिलासैनीकी महिला स्वास्थ्य स्वयंसेविका गीता बोहराले जानकारी दिइन् । मोबाइलमार्फत एसएमएस जान थालेपछि पहिला स्वास्थ्य संस्थामा नआए पनि गर्भजाँचका लागि स्वास्थ्य संस्थामा आउने गरेका छन् । मातृमृत्यु र बालमृत्युदरमा कमी ल्याउन यो कार्यक्रम सञ्चालन गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर