स्याङ्जाको हरिनास गाउँपालिकास्थित ललही गाउँ यतिबेला सुन्तलाले पहेंलपुर बनेको छ । सुन्तला बारीको बीचमा छ अर्जुन सिग्देलको घर । सिग्देल ३ वर्ष मलेसिया बसेर आफ्नै गाउँमा कर्म गर्न फर्किएका व्यक्ति हुन् । कमाउनका लागि सिग्देल २०६० मा मलेसिया पुगे । त्यहाँको तीनवर्षे बसाइमा ३ लाख रुपैयाँ जोगाउन कठिन भयो ।
उनले भने– ‘महिनाको १० हजार रूपैयाँ पनि नबचेपछि म गाउँ फर्किएँ ।’ बरू उनका लागि आफ्नै गाउँमा अनगिन्ती अवसर आए । भिरालो बारीमा उनले सुन्तला, अदुवा, अम्रिसो लगाए भने सम्म बारीमा तरकारी रोपे । गोठमा भैंसी र बाख्रा पाले । ती सबैले आम्दानी दिन थाले ।
खुशी हुँदै उनले भने– ‘यस वर्ष २ लाख रूपैयाँको सुन्तला बेचे, १ लाख ५० हजारको खसी र ५६ माना घ्यु बेचें ।’ यससँगै अम्रिसो, बेसार, तरकारीबाट पनि आम्दानी भएको छ । वार्षिक ४ लाख रूपैयाँभन्दा बढी आम्दानी भएको सिग्देलले बताए । उनी कृषिकर्ममा मात्र होइन, सामाजिक क्षेत्रमा पनि क्रियाशील छन् । सामुदायिक वन, कृषि समूह, टोल विकास समूह, विद्यालयजस्ता संस्थाको अध्यक्ष उनी नै छन् । ८ वटा संस्थाको नेतृत्व आफैंले गरेको उनले बताए ।
सुन्तला देखाउँदै उनले भने– ‘विदेश जानेका लागि गाउँमा गज्जबको उदाहारण म बनेको छु ।’ विदेश जानुभन्दा आफ्नै देश र माटोमा मेहनेत गर्न सक्यो भने यहीं नै बढी कमाइ छ । गाउँबाट युवा पलायन भएकामा उनलाई चिन्ता छ । ‘यहीं बसेर परिश्रम गरौं, यहीं रमाऊँ भनेको छु तर कसैले सुन्दैनन्,’ उनले गुनासो गरे– ‘गाउँमा परिश्रमी किसान, समाजसेवी र नेता बन्न पाउँदा निकै खुशी लागेको छ ।’ रासस