newskoseli.Com

अकुपञ्चर सेवाबाट दीर्घरोगहरुको निदान, त्यो पनि जम्मा २५ रूपैयाँमा…

कलङ्की निवासी शान्ति पौडेललाई चार वर्षदेखि हिँड्दा दाहिने गोडा छोटो भएको जस्तो हुन्थ्यो । दिनभर काम गरे पनि दुखाइका कारण उनी राति सुत्न पनि सक्दिनथिइन् । रातभर निदाउन नसक्ने तथा दिनमा हिँड्न समेत समस्या भएपछि नसासम्बन्धी उपचारको खोजीमा उनले धेरै अस्पताल धाइन् ।

कतिपयले शल्यक्रिया गनुपर्ने तथा कतिले नसाको रोगलाई त अकुपञ्चर (सियोले घोचेर गरिने उपचार) पो गर्नुपर्छ भन्ने सल्लाह दिए । शल्यक्रिया गर्दा खर्च धेरै लाग्ने र गोडाको अवस्था कस्तो हुने हो भन्ने चिन्ता गर्दै उनले चार वर्ष पीडामै बिताइन् । त्रिपन्न वर्षीया पौडेलले अन्त्यमा काठमाडौं महानगरपालिका जनस्वास्थ्य विभागद्वारा सञ्चालित टेकुस्थित अकुपञ्चर सेवा केन्द्रमा अकुपञ्चर गराउन थालिन् ।

‘चार वर्षदेखि उपचारका लागि विभिन्न ठाउँमा भौंतारिँदै सो केन्द्रमा उपचार थालेको केही दिनमै दुखाइ कम भएपछि अकुपञ्चर उपचार पद्धतिबाटै सञ्चो हुन्छ भन्ने विश्वास मनमा पलायो, त्यो पनि एक पटकको उपचार खर्च जम्मा २५ रूपियाँ मात्र’– खुसी हुँदै उनले सुनाइन् । राति निदाउन दुखाइ कम गर्ने औषधि खानुपर्ने मेरो समस्यालाई एक महिनाको अकुपञ्चरले रातभर आरामले निदाउन सक्ने बनाइदिएको अनुभव पौडेलले सुनाइन् ।

सोही केन्द्रमा ढाड र गोडाकै उपचार गराइरहेकी दुर्गा राईले पनि आफ्नो पुरानो समस्यालाई पनि अकुपञ्चर उपचार पद्धतिले नै कम गराएकाले जीवन सहज भएको बताइन् । २०४५ को भूकम्पमा माथिल्लो तलाबाट हामफाल्दा राईलाई पनि गोडा छोटो भएको जस्तो अनुभूति हुने, हिँड्न गाह्रो हुने तथा अत्यधिक ढाड र कम्मर दुख्ने समस्या भयो । उपचारका लागि सारा अस्पताल चहार्दा पनि नभएपछि अकुपञ्चर सेवा लिन थालेको र यसले आफूलाई निक्कै फाइदा गरेको उनले बताइन् ।

‘अकुपञ्चरले नै मेरो रोग निको भएको छ, चिसो मौसम, वर्षातका बेला दुख्न थालेपछि फेरि अकुपञ्चर गराउँछु । यसको केही बेफाइदा पनि छैन । यो उपचार पद्धति भरपर्दो छ र यहाँ ज्यादै न्यूनतम् शुल्कमा उपचार सेवा पाइन्छ’– राईले भनिन् ।

काठमाडौं महानगरपालिकाद्वारा सञ्चालित सो केन्द्रमा अकुपञ्चर एक पटक गरेको २५ रूपियाँ मात्र लिइन्छ । एलोपेथिक र आयुर्वेदिक उपचार पद्धतिभन्दा फरक वैकल्पिक चिकित्सा पद्धतिअन्तर्गत पर्ने अकुपञ्चर सेवामा सियोले घोचेर उपचार गरिन्छ । अकुपञ्चर सेवालाई स्तरीय बनाउन यहाँ आवश्यक उपकरणहरू– स्टिमलेटर (भाइब्रेसन), युवी रेजलगायत सियोलाई सफा र स्वच्छ बनाउन स्तरीय विधि पनि उपलब्ध छन् । २० शैय्याको यस केन्द्रमा हाल बिहान ८ देखि १२ बजेसम्म दैनिक २५ जनाले उपचार सेवा पाइरहेका छन् ।

केन्द्रमा कार्यरत अकुपञ्चरिस्ट हर्षमान महर्जनले अकुपञ्चरका लागि आवश्यक सबै उपकरण तथा शैय्या उपलब्ध भए पनि जनशक्तिको अभावका कारण थोरै बिरामीलाई मात्र उपचार सेवा प्रदान गर्न सकिएको जानकारी दिए । बीस वर्षदेखि टहराजस्तै दुई कोठामा सेवा दिइरहेको र वर्षातमा पानी चुहिने समस्याका कारण सियोले घोचिराखेको बिरामीलाई पानीबाट जोगाउनै धौ–धौ परेको दुःखेसो पनि उनले पोखे ।

केन्द्रमा हाल उनी र एक कार्यालय सहयोगी मात्र कार्यरत छन् । कम्तिमा चार जना अकुपञ्चरिस्ट भए दिनमा सय जना बिरामीको उपचार गर्न सकिने उनको भनाइ छ । अकुपञ्चर विधिबाट प्यारालाइसिस, मुख बाङ्गिने, टाउको दुख्ने, पिनास, माइग्रेन, अनिद्रा, नसा, हाडजोर्नी, बाथ, ढाड, साइटिका दुख्ने, नपुंसकता, शीघ्र स्खलन, आँखासम्बन्धी समस्या, कान कराउने, अपच, कब्जियत ग्याष्ट्रिक आदिको उपचार गर्न सकिने जानकारी उनले दिएको खबर बुधबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर