newskoseli.Com

युवतीमाथि युवतीबाटै ‘सिरिन्ज’ प्रहार : अब ‘सिरिन्ज–आतंक’ बनेपामा पनि !

बनेपाको व्यस्त बजारमा हिँडिरहेकी ३४ वर्षीया युवतीलाई हातमा सिरिन्ज हानेर अर्की युवती फरार भएकी छन् । मंगलबार राति सवा ८ बजे घर फर्कँदै गर्दा बाटामा अपरिचित युवतीले धक्का दिँदै उनलाई हातमा सिरिन्ज हानेर फरार भएकी हुन् ।

राजधानीमा ‘सिरिन्ज आतंक’ फैलिएसँगै राजधानीसँगै जोडिएको बनेपा नगरपालिका– ८, करुणामार्गमा राजधानीकै ठमेल घर भई २०७२ देखि बनेपामा बस्दै आएकी युवतीलाई सिरिन्ज प्रहार गरिएको हो । ‘दिदीको घर डेराबाट केही पर छ, राति सवा ८ बजे दिदीको घरबाट १३ वर्षिया छोरी र म फर्कंर्दै थियौं,’ उनले भनिन्– ‘बाटामा विपरीत दिशाबाट आउँदै गरेकी एक युवती ठोक्किन आइन् र हातमा हात जुधाएर अघि बढिन् ।’

‘ऊसँग ठोक्किए लगत्तै हातमा चसक्क भयो, म चिच्याएँ, छोरीले के भयो भन्न नपाउँदै फर्केर हेर्दा ती अधवैंशे उमेरकी युवती फटाफट आफ्नो बाटो लागिन्,’ उनले थपिन्– ‘म कोठामा गएँ, खाना खाएर सुतें तर हात दुखेर सुत्न सकिनँ । छोरी र म एउटा कोठामा सुत्ने भएकाले उनलाई भनें तर उनी निद्रामा भएकाले वास्ता गरिनन् ।’

‘बिहान उठ्दा समेत हात दुख्न छाडेन,’ ती युवतीले भनिन्– ‘हात मर्काउँदै एक्सरसाइज गर्दा त झन् सुन्निएर आयो । तत्कालै नाला दोबाटोमा रहेको मेडिकलमा गएँ । मेडिकलमा कीराले टोकेर सुन्निको हो कि भनेर जिज्ञासा राख्दा मेडिकलवालाले कीराले टोकेको प्वाल नभई सियो घोपेको जस्तो देखियो भनेपछि म आतिएँ । उहाँले मलाई तत्कालै टेकु जानु भन्नुभयो ।’

‘टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आधा दर्जन डाक्टरहरुले सीबीसी, आरएफटी, एलएफटी, एचबीएसएजी, एचसीभी, एचआईभी एड्सलगायतका जाँच गर्नुभयो र तत्कालै एचआईभी एड्स विरुद्धको औषधि खान दिनुभयो,’ युवतीले भनिन– ‘प्रहरीले पनि अनुसन्धान सुरु गरेको छ ।’

राजधानी हुँदै बनेपासम्म फैलन थालेको अज्ञात व्यक्तिहरूको ‘सिरिन्ज–आतंक’ सम्बन्धी यो खबर मोतिराम तिमल्सिनाको बाइलाइनमा बिहीबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर