मानसिक रोगीहरु हिंसात्मक र डरलाग्दा हुन्छन्, उनीहरुलाई घरपरिवार रसमाजबाट ढाटा राख्नुपर्छ वा बाँधेर राख्नुपर्छ भन्ने धारण आम व्यक्तिहरुमा अझै पनि पाइन्छ । मानसिक सन्तुलन गुमाएको व्यक्तिले कसैको हत्या गर्यो रे भन्ने समचार सुन्दा वा देख्दा मानसिक रोगी हिंसात्मक नै हुन्छन् भन्ने हामीलाई पनि लाग्न सक्छ ।
तर, सबै मानसिक रोगी हिंसात्मक हुँदैनन् । नरम खालको मानसिक समस्या भएका व्यक्तिले हत्या–हिंसा गर्ने सम्भावना हुँदैन । कडा खालको मानसिक रोग लाग्दा भने शंका, अत्याधिक आवेग, सोचाइमा हुने मतिभ्रम (डिल्युजन), हेरा–सुनाइमा हुने मित्थाभाष (हेल्युसिनेसन) आदिका कारण अन्जानवश यदाकदा यस्ता घटना घट्ने गरेका छन् ।
उनीहरुले कसैलाई दुःख दिन्छु, बदला लिन्छु भनेर जानीबुझीकनै यस्ता घटना घटाएका हुँदैनन्र । उनीहरुमा यस्तो सोच्ने क्षमता पनि हुँदैन । बरू अपवादस्वरूप असामाजिक व्यक्तित्व भएका (साइकोपाथ) हरुमा भने बदलाको भावना हुन्छ । उनीहरु चाहिँ सोचविचार गरीकनै अपराध गर्ने गर्दछन् । आफूले अपराध गरेकामा उनीहरुलाई कुनै पछुतो वा पश्चात्ताप पनि हुँदैन ।
मानसिक समस्यामा परेको व्यक्तिबाट कुनै किसिमका अप्रिय धटना नहोऊन् भनेर घरपरिवारका सदस्यले विशेष ध्यान पुर्याउनुपर्छ । बिरामीले अरुलाई मात्र होइन, आफू स्वयंलाई समेत खतरामा पर्न सक्छ ।
मानसिक रोगीहरुका परिवारजरले ध्यान दिनुपर्ने केही आधारभूत कुराहरु–
– कडा खालको मानसिक रोग लागेको व्यक्तिलाई म रोगी छु मैले उपचार गर्नुपर्छ भन्ने ज्ञान नहुन सक्छ । यस्तो अवस्थामा फकाईफुलाई अस्पताल लैजानुपर्छ ।
– उनीहरुसँग विवाद, झर्कोफर्को गर्नु हुँदैन । औषधि खान नमान्दा फकाएर खुवाउनुपर्छ ।
– बिरामी र परिवारलाई असुरक्षाको महशुस भएमा अस्पताल भर्ना गर्नुपर्छ ।
– उनीहरुसँग ठूलो स्वरले बोल्ने, ईशाराले बोल्ने, आँखामा आँखा जुधाएर बोल्ने गर्नु हुँदैन ।
– मानसिक रोगीले भेट्ने गरी हातहतियार, धारिला वस्तु, डोरीलगायतका सामान राख्नु हुँदैन ।
– बिरामी उत्तेजित भएका बेला रेडियो–टिभी बन्द गर्नुपर्छ ।
– आफूलाई खतरा महशुस भएमा तुरुन्त रोगीबाट टाढा जानुपर्छ ।