
रामेछापको लिखु गाउँपालिकाका अध्यक्षसँग दुई कराेड रुपैयाँ माग्दै नदिए छोरीकाे ज्यान लिने धम्की दिएका एक अभियुक्तमाथि प्रहरीले राजधानीको स्वयम्भूमा गोली चलाएको छ ।
पीडितको उजुरीका आधारमा महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको स्वयम्भु क्षेत्रमा शुक्रबार दिउँसो गोली चलाएको हो । अभियुक्तलाई नियन्त्रणमा गर्ने क्रममा गोली चलाइएको महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सहकुल थापाले बताएका छन् ।
प्रहरीको गोली लागेर लोप्साङ भनिने मिलन लामा घाइते भएका छन् । प्रहरीले उनीसँगै अमृत तामाङलाई समेत पक्राउ गरेको छ । उनी राजधानीमा हुने चोरीका धेरै घटनामा संलग्न रहँदै आएको प्रहरीले जनाएको छ । लामाको घुँडामुनि दुईवटा गोली लागेका छन् । उनलाई उपचारका लागि वीर अस्पताल भर्ना गरिएको एसएसपी थापाले जनाएका छन् ।