newskoseli.Com

के हो गाली–बेइज्जती ? कसैले मानसिक चोट पुर्‍याइदिए के छ कानुनी व्यवस्था ?

गाली–बेइज्जती व्यक्तिको प्रतिष्ठा विरुद्धको कसुर वा अपराध हो । यसले मानसिक रुपमा व्यक्तिको मान, सम्मान, प्रतिष्ठा, आत्मसम्मान र स्वाभिमानमा चोट पुर्‍याउँछ । गाली–बेइज्जतीले उसको नजिकका नातेदार, साथीभाइ, इष्टमित्र, हकवाला समेतलाई असर पुर्‍याउन सक्छ ।

यो एक किसिमको मानसिक यातना नै हो । गाली–बेइज्जतीले व्यक्तिको मनलाई घायल बनाउँछ । यो प्रत्यक्ष रुपमा व्यक्तिको मन वा मानसिक स्वास्थ्यलाई असर पुर्‍याउने खालको अपराध हो । गाली–बेइज्जतीका कारण व्यक्तिको मनोविज्ञान र मानसिक स्वास्थ्यमा नकारात्मक असर परी नैराश्यता, डर, चिन्ता तथा आत्महत्यासम्मका घटनाहरु घट्न सक्छन् ।

के–हाे गाली–बेइज्जतीकाे अर्थ ?

कसैलाई होच्याउने नियतले बोली वा वचनले अपमानजनक शब्द प्रयोग गर्नु गाली हो । अरुको इज्जतमा धक्का पुर्‍याउने नियतले कुनै तरिकाबाट उसको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउने र चरित्रहत्या गर्ने उद्देश्यले गरिएका सबै कार्य वा आक्षेप बेइज्जती हो । गाली–बेइज्जतीबाट व्यक्तिको सम्मानजनक रुपमा बाँच्न पाउने अधिकार कुण्ठित हुन्छ ।

सामाजिक सञ्जालको प्रयोग गरी कसैको विरुद्धमा नराम्रा शब्द प्रयोग गरी प्रतिक्रिया दिनु, कसैलाई होच्याउने वा बेइज्जत गर्ने उद्देश्यले फोटो तोडमोड गरी पोस्ट गर्नु, व्यक्तिको व्यक्तित्व, लवाइ, खुवाइ आदिलाई लिएर सार्वजनिक रुपमा टीकाटिप्पणी गर्नु आदि गाली–बेइज्जतीपूर्ण व्यवहार हुन् ।

यस्ताे छ कानुनी व्यवस्था…

यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई कसुरको गाम्भीर्यता, पीडितको प्रतिष्ठामा परेको असर, गाली–बेइज्जतीमा प्रयोग भएको माध्यमलाई विचार गरी पीडितलाई मनासिव क्षतिपूर्तिका साथै कसुरदारलाई एक वर्षदेखि तीन वर्षसम्म जेल तथा दस हजारदेखि बीस हजारसम्म जरिवाना वा दुबै सजायको व्यवस्था मुलुकी अपराध संहिता, २०७४ मा गरिएको छ । पीडितले कसुर भएको कुरा थाहा पाएको मितिले तीन महिनाभित्र उजुर गरिसक्नु पर्छ नत्र उजुरी लाग्दैन ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर