
सरकारले बिहीबारदेखि सातै प्रदेशबाट कोरोनाभाइरस (कोभिड– १९) को नमूना परीक्षण गर्ने तयारी थालेको छ । यसका लागि आवश्यक जनशक्ति र उपकरण सम्बन्धित क्षेत्रमा पुगिसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
प्रदेश– १ मा धरानस्थित बीपी कोइराला विज्ञान प्रतिष्ठानमा सोमबारदेखि र गण्डकी प्रदेशको पोखरामा मङ्गलबारदेखि कोरोनाभाइरसको नमूना परीक्षण सेवा सुरु भइसकेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।
प्रदेश– २ को जनकपुरधाम, सुदूरपश्चिम प्रदेशको धनगढी, कर्णाली प्रदेशको सुर्खेत, प्रदेश– ५ को वुटवल र बाग्मती प्रदेशको हेडौंडामा बिहीबारदेखि नमूना परीक्षण गर्ने गरी आवश्यक तयारी भइसकेको छ । प्रवक्ता डा. देवकोटाका अनुसार सबै स्थानमा नमूना परीक्षणका लागि आवश्यक उपकरणसहित सम्पूर्ण सामग्री पुगिसकेका छन् । प्रयोगशाला सञ्चालन गर्ने जनशक्ति मन्त्रालयले यसअघि नै खटाइसकेको खबर राससले प्रेषित गरेको छ ।