newskoseli.Com

लकडाउनमा कसरी गर्ने मनको स्याहार ? हुन सक्छन् यस्ता समस्या

कोरोनाको संक्रमण नफैलियोस् भनेर नेपालमा पनि लकडाउन गरिएको महिना दिन नाघिसकेको छ । रोगको महामारी हुँदा शारीरिक स्वास्थ्यमा त असर पर्ने नै भयो साथसाथै मानसिक स्वास्थ्य समस्याको जोखिम पनि बढेर जान्छ । शरीर र मन एक–अर्काका परिपूरक हुन् । शरीरमा समस्या आउँदा मनमा पनि असर पर्छ । साथै, मनमा समस्या आउँदा पनि शारीरिक लक्षणहरु देखिन सक्छन् ।

लकडाउनको समयमा सेल्फ क्वारेन्टाइन वा सेल्फ आइसोलेसनमा बस्दा आफ्नो मानसिक स्वास्थ्यमा पनि विशेष ध्यान पुर्‍याउनुपर्छ । अन्यथा, मनोसामाजिक समस्या वा मनोरोगको जोखिम बढ्छ । प्राकृतिक विपत्ति वा प्रकोपहरु पर्दा, कोरोना भाइरसले रोग–व्याधि फैलाउँदा वा मानवसिर्जित ठूलठूला घटनाहरुका कारण स्वभावतः मनोवैज्ञानिक वा मानसिक रोग बढेर जान्छन् ।

को‍नोनाको प्रकोपजस्ता घटनाले स्वभावतः मानिसको मनमा चोट पुर्‍याउँछन्, मनमा असरहरु देखिन थाल्छन् । यसलाई असहज अवस्थामा देखिने स्वाभाविक प्रतिक्रियाका रुपमा लिइन्छ । धेरैको लागि यस्ता असरहरु अस्थायी हुन्छन्, समय बित्दै गएपछि ढिलो–चाँड‍ो प्रायः मानसिहरु आफैं पूर्ववत् अवस्थामा फर्कन सक्छन् । केहीलाई भने पूर्वअवस्थामा फर्कन गाह्रो पनि पर्न सक्छ र विज्ञको सहयोग पनि चाहिन सक्छ ।

कोरोनाको असरले निम्त्याउन सक्ने मानसिक स्वास्थ्य समस्याहरूः

१. एन्जाइटी– विभिन्न किसिमका डर–चिन्ताजन्य समस्याहरु ।

२. डिप्रेसन– दिक्दारीपन तथा आत्महत्याको सोचाइ वा प्रयास ।

३. मानसिक आघात– पीडादायिक घटनापछि उत्पन्न हुने एक किसिमको मानसिक रोग ।

४. प्यानिक अट्याक– विनाकारण एक्कासि उत्पन्न हुने अत्यधिक त्रास ।

५. समायोजनको समस्या– परिस्थितिसँग जुध्न नसकिरहेको अवस्था ।

६. अब्सेसिभ कम्पल्सिभ डिसअर्डर्स– एउटै सोच वा विचार आइरहने तथा एउटै कार्य लगातार धेरै पटक दोहोर्‍याइरहने मानसिक रोग ।

७. जाँड–रक्सी, लागू पदार्थको कुलत ।

८. कन्भर्सन डिसअडर्स– डर, त्रास, तनावका कारणले देखिने मनोवैज्ञानिक समस्या ।

९. एक्युट स्टेस डिसअर्डर्स– तत्कालै देखापर्ने अन्य तनावजन्य समस्या ।

संकटका बेला मनमा पर्ने असर भने व्यक्तिपिच्छे फरक–फरक हुन सक्छन् । कसलाई कति असर पर्छ भन्ने कुरा व्यक्तिको उमेर, लिंग, शारीरिक–मानसिक अवस्था, व्यक्तित्व, परिस्थितिसँग जुध्ने ज्ञान–सिप–मानसिक क्षमता–अनुभव, तनाव व्यवस्थापनको तौरतरिका, दैनिक जीवनशैली, व्यक्तिले प्राप्त गरेको सहयोगजस्ता कुरामा भर पर्छ ।

विपत्तिका बेला कतिपय मानिसले संयम गुमाउन पनि सक्छन् । उनीहरुले समस्यासँग जुध्न गलत उपाय वा तरिका अपनाइरहेका हुन पनि सक्छन् । नचाहँदा नचाहँदै नकारात्मक क्रियाकलाप गरिरहेका हुन सक्छन् । विपत्तिमा सबैले आफूलाई समाल्न सक्छन् भन्ने पनि हुँदैन । उनीहरुलाई सहयोगको जरुरत पर्दछ । प्रकोपको मानसिक असर लामो समयसम्म नरहन तथा मनोसामाजिक समस्या वा मानसिक रोगको जोखिम नबढ्नाका लागि भावनात्मक सहयोगको जरुरत पर्दछ ।

विपत्तिका बेला व्यक्तिको मनमा देखापर्ने त्रास, भय, छटपटी, मानसिक अशान्ति, नैराश्यता र यसका कारण आउन सक्ने व्यवहारजन्य गडबडीलाई व्यव्स्थापन गर्ने दिइने सबै प्रकारका व्यावहारिक र भावनात्मक सहयोग नै प्राथमिक मनोवैज्ञानिक सहयोग हुन् । प्राथमिक मनोवैज्ञानिक सहयोग पाउँदा मनमा शान्ति र स्थिरता आउँछ, तनाव व्यवस्थापन गर्न सहयोग मिल्छ र दैनिक जीवनमा फर्कन सजिलो हुन्छ ।

कोरोनाको संक्रमण बढेका बेला व्यक्ति स्वयंले आफ्न‍ो शारीरिक स्वास्थ्यको ख्याल गर्नुका साथै मनक‍ो स्याहारसुसारमा पनि विशेष ध्यान दिनु जरुरी हुन्छ, जसलाई स्वहेरचाह भनिन्छ ।

यसरी गर्न सकिन्छ आफ्नो मनको स्याहारः

१. करोनाको संक्रमणबाट ज‍ोगिन लकडाउनको पूर्ण पालना गर्नुपर्छ । सरसफाइमा ध्यान दिनुपर्छ । सेल्फ क्वारेन्टाइनमा बस्दा र सुरक्षाका उपायहरु अपनाउँदा मन ढुक्क हुन्छ । यसले डर, त्रास, भय, चिन्ता धेरै कम भएर जान्छ, आफू स्वस्थ छु भन्ने आत्मबल बढ्छ ।

२. फुर्सदका बेला मानसिक तनाव नहोस् भनेर समय व्यवस्थापन गर्नु जरुरी हुन्छ । दैनिक कार्यतालिका बनाएर आफ्नो दिनचर्यालाई सन्तुलित बनाउन सकिन्छ, आफूलाई व्यस्त तथा सक्रिय राख्न सकिन्छ । यसो गर्नाले मनमा कोरोनासम्बन्धी कुरा खेल्न पाउँदैन । नत्र जतिबेला पनि कोरोनातिर ध्यान गई त्रास बढ्न सक्छ ।

३. कोरोनाको जोखिमबाट जोगिन सत्यतथ्य जानकारी त लिने तर अति सतर्क हुने, चाहिनेभन्दा बढी जानकारी लिन खोज्ने, पटक–पटक समाचार हेरिरहनेजस्ता व्यवहार गर्नु हुँदैन ।

४. सामाजिक सञ्जाल र इन्टरनेट चलाएर बस्नेभन्दा आफ्नो रुचिका काम गरेर समय बिताउन सकिन्छ । परिवारसँग कुराकानी गर्ने, खेल खेल्ने, किताब पढ्ने, लेख्ने, मनोरञ्जन गर्ने, रमाइला र ज्ञानबर्द्धक फिल्म हेर्ने गर्न सकिन्छ । घरायसी काममा समय दिन सकिन्छ ।

५. तनाव कम गर्न शारीरिक व्यायाम, योग, मेडिटेसन, श्वास–प्रश्वासको व्यायाम, ध्यान केन्द्रित गर्ने खालका अभ्यास तथा अन्य आरामदायी अभ्यासले ठूलो मद्धत पुर्‍याउँछ । तनावका बेला पर्याप्त निदाउनु पनि जरुरी हुन्छ ।

६. तनावका बेला सजिलैसँग पच्ने तथा पोषणयुक्त आहार खानुपर्छ । जाँड–रक्सी तथा लागू पदार्थको सेवनले त समस्या तथा तनाव झनै बढाउँछ ।

(लेखक मनोविद हुन्, मार्क नेपाल मनोसेवा केन्द्रमा कार्यरत छन्)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर