सावधानी अपनाए सर्पको डसाइको जोखिमबाट बच्न सकिन्छ । सर्पदंश हुन नदिने प्रयाससँगै सावधानी जरुरी रहेको जानकारहरुले औंल्याएका छन् ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल विभाग प्रमुख तथा विश्व स्वास्थ्य सङ्गठनको सर्पविज्ञ समूहका सदस्य डा. सञ्जीव शर्मा भन्छन्– ‘सर्पदंशमा सबैलाई विषालु सर्पले डसेको हुँदैन, कतिपयमा विषालु सर्पले विष प्रवाह गर्दैन । सर्पले आत्मरक्षामा डस्दा मात्र विष छाड्छ त्यसैले अस्पताल आएका ९० प्रतिशत बिरामीमा विष हुन्न । बाँकी १० प्रतिशतलाई समयमै उपचार गर्न सके बचाउन सकिन्छ ।’
चिकित्सक शर्माको भनाइअनुसार कडा विष भएको गोमन सर्पले मानिसलाई एक्कासि डस्दैन । मानिसले चलाउँदा स्वर निकालेर तर्साउँछ, टेरेनन् भने मात्र डस्छ । पहिलो डसाइमा उसले विष छाड्दैन, चलाइरह्यो भने मात्र दोस्रो पल्ट विषसहित डस्ने गर्छ ।
कडा विष भएको करेतले प्रायः मानिस सुतेका ठाउँमा र जम्काभेट भएका ठाउँमा डस्छ । तराईमा हुने अत्यधिक करेतको डसाइ राति भुइँमा खुला सुतेका व्यक्तिमा हुने गरेको पाइएको छ । सानो सर्पलाई मानिसको हात, खुट्टा वा शरीरले थिच्दा चोट लाग्छ । राति टोकेको थाहा नपाउँदा बिहान बिरामीको अवस्था पक्षघातजस्तो हुन्छ, जसलाई बचाउन कठिन पर्छ । करेतबाट बच्न खाटमा झुल हालेर सुत्नुपर्छ र टोकेको शङ्का लागेमा तत्काल अस्पताल जानुपर्छ । करेतले टोकेको चिह्न देखिन्न तर गोमनले टोक्दा घाउ देखिन्छ ।
तराईमा यही बेला बाघे सर्पको बिगबिगी हुन्छ । यसले टोकेमा शरीरमा रक्तस्राव हुन्छ । समयमै उपचार नपाए रगतको कमी हुन्छ र दिमागमा रगत जमेर बिरामीको मृत्यु हुन्छ ।
पहाडतिर पाइने हरेउ सर्पको डसाइमा विष कम हुुन्छ । यसको टोकाइबाट सुन्निने, दुख्ने, रक्तस्राव हुने र टोकेको ठाउँ कुहिएर झर्ने सम्भावना हुन्छ । हिमालमा पाइने हिमालयन करेतमा पनि कडा विष हुन्छ । हिमालको सर्पमा विष हुन्न भनेर लापरबाही नगर्न डा. शर्माले सुझाएको खबर चाँदनी हमालको बाइलाइनमा आइतबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।