newskoseli.Com

प्रचण्ड–बादल दोस्रो ‘सम्बन्ध–विच्छेद’ : रुँदैरुँदै चुनबाङ बैठकमा के भनेका थिए बादलले ?

राजनीतिक जीवनको अधिकांश समय एउटै मोर्चामा रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र रामबहादुर थापा ‘बादल’ बीच फेरि दोस्रो पटक ‘सम्बन्ध–विच्छेद’ भएको छ ।

यसअघि २०६९ मा प्रचण्ड नेतृत्वको एकीकृत नेकपा (माओवादी) बाट अलग भएका बादल बिहीबार विधिवतरूपमै खड्ग ओली नेतृत्वको नेकपामा बिलय भएका छन् । बादलको राजनीतिक पृष्ठभूमि र सिद्धान्त ओलीसँग मिल्ने खालको छैन । बिहीबार उनले ओली नेकपाको मञ्चमा गरेको भाषण ‘क्रान्तिकारी माओवादी’ का प्रखर नेताको जस्तै सुनिएको थियो । उनले बारम्बार ‘क्रान्ति’, ‘प्रतिक्रान्ति’, ‘अग्रगमन’ र ‘पश्चगमन’ जस्ता शब्द (जार्गनहरु) प्रयोग गरे ।

बादलले नेकपाको अर्को समूह व्यवस्था परिवर्तनमा लागेको र उनीहरूलाई संघीयता र गणतन्त्र फिटिक्कै मन नपरेको बताइरहँदा उनैले मोहन वैद्य नेतृत्वको पार्टीबाट ल्याएका ३४ जना केन्द्रीय सदस्य भने त्यही समूहको बैठकमा बसेर ‘थापाले राजनीतिक भविष्य ध्वस्त पारेको’ मूल्यांकन गरिरहेका थिए । दुवै खेमाको तानातानमा परेका थापालाई फकाउन बिहीबार बिहानको भेटपछि ओली सफल भएका हुन् ।

पार्टीमा उपाध्यक्ष र सरकारमा उपप्रधानसहित गृहमन्त्री बनाउने ओलीको आश्वासनपछि थापा उतै खुले । तर, उनी एक्लै ओलीको खेमामा गएको खबर शुक्रबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

++++    ++++    ++++

तत्कालीन नेकपा (माओवादी) भित्र तीव्र अन्तर्संघर्ष चर्किइरहेका बेला बहुचर्चित चुनबाङ बैठकमा बादलले रुँदैरुँदै भाषण गरेर आफू अध्यक्ष प्रचण्डमा ‘बिलय’ भएको बताएका थिए । पाठकहरुका निम्ति रुचिकर हुने ठानी हामीले यहाँ सो भाषणको सम्पादित अंश पुनर्प्रकाशित गरेका छौं–

++++    ++++    ++++

चुनबाङ बैठकमा रुँदैरुँदै बादलकाे भाषण

हाम्रा सहयोद्धाहरूलाई अहिले अध्यक्ष कमरेड (प्रचण्ड) सँग मेरो सम्बन्ध के हो र हेडक्वार्टरप्रति मेरो सम्बन्ध के हो भन्ने गम्भीर प्रश्नले उद्वेलित बनाएको पाएको छु । कमरेड प्रचण्डप्रति मेरो धारणा के हो, मैले यसलाई दुई भागमा बाँडेको छु । उहाँको र मेरो सम्बन्ध वस्तुगत ऐतिहासिक विकासका क्रममा विकसित भएको हो । त्यो वस्तुगत जगत् र इतिहासबाट पृथक रहेर हेर्दा मेरो लिडर, कमान्डर भनेको अध्यक्ष हो भन्ने सिधा देख्न सकिन्छ । तर, इतिहासलाई केलाएर हाम्रो सम्बन्ध हेर्नुभयो भने यति मात्र छैन । हाम्रो सम्बन्ध एउटा कम्युनिस्टको सम्बन्ध छ, कमरेडको सम्बन्ध छ, एउटा आत्मीय सम्बन्ध छ । त्यसकारण यो जो सम्बन्ध हो, एकतिरबाट हेर्दा हामी तल र माथि छौं, अर्कोतिरबाट हेर्दा हामी एउटै ठाउँमा छौं । एकातिरबाट हेर्दा अर्को छुट्ने, अर्कातिरबाट हेर्दा फेरि अर्काे एउटा छुट्ने । यो विगतमा हुँदै आयो । हाम्रो जो एउटा कम्युनिस्ट, आत्मीय, कमरेडको सम्बन्ध हाे ।

हाम्रो सम्बन्धले कतिसम्म भयो भने हाम्रा श्रीमतीहरू पनि इर्ष्यालू भए । हामीले सफलतामा धेरै हर्ष मनायौं र हाम्रो बिफलतामा हामी रातभरि रोयौं । हामीले जनयुद्ध, नयाँ पार्टी, नयाँ सेना, नयाँ मोर्चा कसरी निर्माण गर्ने भनेर सिरानचोकमा तालिम गर्‍यौं, मनाङ पुग्यौं । हामीले सिस्ने–जलजलाको भीरमा गोरेटो कोर्ने कोसिस गर्‍यौं । भीमसेननगरदेखि मात्र होइन, रामपुर, कर्णालीको किनारदेखि सम्बन्ध सुरु गर्‍यौं । त्यसयता कम्युनिस्ट संगठन, अध्ययनमण्डल हुँदै यहाँसम्म आइपुगेको छ । यो हाम्रो व्यक्तिगत सम्बन्ध मात्र होइन, कस्तो कम्युनिस्ट पार्टी बनाउने भन्ने कुरामा मार्क्स र एंगेल्सजस्तो सम्बन्ध स्थापित गर्न खोजेका थियौं । एंगेल्स भनेर मैले आफूलाई भन्न खोजेको होइन ।

यो पनि पढ्नुहोस्–
बादल अन्ततः एक्लै लागे ओलीतिर : पहिले को–को थिए उनका साथ ? (नामावलीसहित)

अहिले २१औं शताब्दीको पार्टी बनाउने कुरा छ । मार्क्स–एंगेल्सको समय १९औं शताब्दीको हो । यसलाई औपचारिकरूपमा मात्र हेर्ने हो कि अथवा अनौपचारिकरूपमा हेर्ने कि कम्युनिस्ट आधारमा ? हामीले त्यसलाई संगठनका आधारमा मात्र हेर्ने कि हाम्रो कम्युनिस्ट विचारका आधारमा हेर्ने हो ? एउटा सर्वहाराबीचको सम्बन्धलाई यो २१औं शताब्दीमा कसरी परिभाषित र विकास गर्नु जरुरी छ भन्ने सवाल खडा भएको छ । छोटोमा भन्दा यो रिलेसनमा मैले जुन भूमिका खेल्नुपर्ने हो, त्यहाँ मैले के त्रुटि गरें ? के कमजोरी गरें ? म त्यो कमजोरी, त्यो गल्तीलाई आत्मसमीक्षा र एउटा ऐतिहासिक आत्मालोचना गर्न यो कठघरामा उभिएको छु । आज म इतिहासका अगाडि त्यो बयान दिँदै छु । मलाई लाग्छ, एउटा कमान्डरले आफ्नो सिपाही र फर्मेसनबाट के अपेक्षा गर्छ भने कमान्डरको आदेशलाई निःसर्त पालना गरोस् । आदेश दिएपछि त्यो मर्न नहिच्किचाओस् भन्ने अपेक्षा गर्छ । सारमा यही हो ।

अर्कातिर हाम्रो सम्बन्धलाई हेर्दा मैले कमान्डरलाई जित्न खोजें किनकि एउटा सिपाहीले जब कमान्डरको आदेश मान्दैन अथवा त्यो आदेशप्रति उदासीन हुन्छ भने त्यो सिपाहीले कमान्डरलाई जित्न खोजेको हुन्छ । मैले कमान्डरलाई जित्न खोजें, त्यो मेरो नियतले होस् या अज्ञानताले होस् । त्यहाँबाट समस्या पैदा भयो, त्यसले पनि आँसु बगायो । मैले कमान्डरका अगाडि हार्नुपर्थ्यो, मैले निःसर्त आदेशको पालन गर्नुपर्थ्यो, शायद मैले गरिनँ । त्यसकारण मैले कमान्डरलाई जित्न खोजें, म हारें । म त्यो हार स्वीकार गर्छु, यो इतिहासको कठघरामा उभिएर । र, म मेरो कमान्डरलाई जित्न चाहन्छु तर म जितेर होइन कि हारेर जित्न चाहन्छु । त्यसकारण म आफ्नो कमान्डरसमक्ष आज आफ्नो हार स्वीकार गर्छु । म मेरो कमान्डरको जितमा उहाँलाई मुठ्ठी उठाएर सलाम गर्छु ।

कमरेडहरू, शायद म अलि भावनाको उत्कर्षमा आएँ । तर, मलाई लाग्छ, मैले सही गरिराखेको छु । कमरेडहरू, मेरो यति मात्रै कमजोरी छैन । म अझ बढी कमजोरी स्वीकार गर्न चाहन्छु । हामीले यो पार्टी निर्माण र क्रान्तिको सुरुआत गर्ने क्रममा एक–अर्काबीच बाचा गरेका थियौं कि दुनियाँका सबै जल्लादले जतिसुकै आँधीबेहरी सृष्टि गरे पनि हाम्रो यो आत्मीयता र सम्बन्ध कहिल्यै टुट्ने छैन । हामी सिद्धिने छौं तर हामी झुक्ने छैनाैं, टुट्ने छैनौं । हामीले गरेका बाचा पटक–पटक स्मरण पनि गरेका हौं । तर कमरेडहरू, हुरी आयो, तुफान आयो र त्याे हुरीबतासले हामीमा दरार पैदा गर्‍यो । त्यो दरारबाट धेरै धमिरा पसे र आज हाम्रो पार्टी, सम्बन्धमा धमिरा लागेजस्तो भयो । त्यो पूरा भत्किएको, ध्वस्त भएको त छैन तर धमिरा पस्यो त्यो दरारबाट । मलाई लाग्छ, त्यसमा मेरो मुख्य कमजोरी रह्यो ।

मैले कमरेड प्रचण्डलाई भन्ने गर्थें, म उचाइ होइन कमरेड, म शिखर होइन । म शिखर हुन चाहन्न र मेरो त्यो विशेषता पनि होइन । म त आधार हुँ कमरेड । म त एउटा जग हुँ । शायद त्यो उचाइलाई कायम राख्न जग मजबुत हुनुपर्थ्यो । जग मजबुत भएन भने उचाइको अर्थ रहँदैन । त्यो गर्ल्यामगुर्लुम्म ट्विनटावर जसरी ढल्छ । त्यो उचाइ धेरै भयो भने जग भासिन्छ । विडम्बना ! हाम्रो सम्बन्धमा एउटा चिज धमिरा बनेर घुस्यो । त्यहाँ लिनप्याओ घुस्यो । हाम्रो सम्बन्ध अब होक्जा र लिनप्याओको भयो वा बनाइदिए । साँच्चि यो हो त ? होक्जा र लिनप्याओ को हुन् त ? इतिहासका तथ्यहरूले सावित गर्छन्, हामी होक्जा हाैं ? लिनप्याओ हो त म ? मैले कमरेड अध्यक्षको सत्ता उल्ट्याउन खोजेकै हो त ? मैले इतिहासमा यसको जवाफ दिनुपर्छ । र, म त्यो जवाफ दिन यहाँ उभिएको छु ।

मैले आफ्नो आत्मीयलाई सिध्याउन उहाँसँग मितेरी गाँसेको होइन । कुनै पनि तथ्यले त्यो पुष्टि गर्दैन । तर, कमरेड किन हामीबीचमा कुरो मिल्दैन त ? किन शंकाहरू रहन्छन् त ? इतिहासलाई यो प्रश्न मेरो पनि हो। म पनि त जनता हुँ । म नेता मात्र होइन, जनता र नेताको फ्युजन हुँ । म जनताको हैसियतले यहाँ उपस्थित नेताहरूलाई सोध्छु– के म लिनप्याओ हो त ? इतिहासले यो जवाफ दिनुपर्छ । आजको २१औं शताब्दीका जनताले जवाफ दिनुपर्छ । कमरेड अध्यक्ष होक्जा नै हो त ? त्यो जवाफ दिनुपर्छ । यो जवाफ नदिईकन हामी अगाडि बढ्न सक्दैनौं ।

यो सम्बन्धको मैले ऐतिहासिक समीक्षा गर्दा म एउटा मगरजातिबाट आएँ कमरेड । मगर भएर जन्मन मेरो इच्छा थिएन । मगर भन्ने एउटा जाति हो । जनताको एउटा हिस्सा हो । र, यो मगरजातिको परिवेश र संस्कारसहित म आएँ । तपाईं (अध्यक्ष प्रचण्ड) एउटा ब्राह्मण परिवारमा जन्मेर आउनुभयो । ब्राह्मणमा जन्मिन्छु भनेर जन्मेको होइन । त्यो ऐतिहासिक परिवेश र संस्कारसहित आउनुभयो । र, यहाँ इतिहासले हामीलाई नारायणी किनारमा मिलन गराइदियो । एउटा कम्युनिस्टका रूपमा हाम्रो त्यहाँ फ्युजन भयो ।

ज्ञान र चेतनाका हिसाबले मार्क्सवादले सत्ता र नेतृत्व चाहिन्छ, एउटा संक्रमणकालीन सत्ता हुनुपर्छ भन्छ । त्यो चेतनाका हिसाबले म सहमत छु । त्यही हो मार्क्सवाद । तर, मेरो संस्कारले मलाई पछाडि तान्छ । शायद मेरो संस्कार र चेतनाबीचको अन्तर्विरोध यहाँनेर छ । सत्ता र नेतृत्वको महत्त्व बुझ्ने कुरामा तपाईंं मभन्दा अगाडि हुनुहुन्छ । यो इतिहासले पुष्टि गरेको कुरा हो । तर, त्यसको महत्त्वलाई अति जोड दिँदा त्यो सर्वसत्तावाद र नोकरशाहीमा जान्छ । त्योसँग कम्युनिस्ट सम्बन्ध हुन सक्दैन ।

र अर्को, मेरो संस्कारले मानौं यहाँ साम्यवाद आइसक्यो, जम्मै यहाँ गौप्राणी भए, सबै हामी बराबर हौँ भन्ने सोचाइ राख्छ । यतातिरबाट हेर्दा त्यो एकदम उग्रजस्तो देखिन्छ । मैले एकैचोटि साम्यवादमा पुगेर त्यहीं डिल गर्न खोजें । अहिले तात्कालिक अवस्थाबाट हेर्दा म पछि परें त्यहाँ । नेतृत्वसम्बन्धी अवधारणामा अथवा त्यसको प्रयोगमा मेरा कमजोरी रहेकाले यी शंकाहरू पैदा भए । जस्तो, गोरखा मिटिङको बारम्बार कुरा आउँदा मैले गोरखा मिटिङमा लिडरसिपको विरोध गरें । मैले मन्दताको कुरा गरें, तीव्रताको गरिनँ । पटक–पटक लिनप्याओ गोरखा सिटिङबाट पुष्टि हुन्छ । त्यताबाट अझ ‘सिज अभियान’ मा पनि आउँछ ।

यो एउटा शृंखला बनेको छ । साँच्चै, त्यस्तै हो कि यो कृत्रिम हो ? यो अवसरवादी शृंखला हो कि यो क्रान्तिकारी हो ? मभित्र के अन्तर्विरोध छ ? मैले यहाँ आत्मसमीक्षा गर्न खोजेको हो । मभित्र भएको कमजोरीलाई उल्लेख गर्न खोजेको हो । गोरखा सिटिङको, यो हाम्रो फर्मल रिलेसन र एउटा इन्फर्मल सम्बन्ध, एउटा कम्युनिस्ट रिलेसनबीचको डाइलेक्टिक्सलाई मैले राम्रोसँग ह्यान्डल गर्न सकिनँ । धेरैलाई लाग्छ, किन यसले चाहिँ लिडरसिपको कुरा उठाउँछ ? हाेइन, मैले त मानिराखेकै छु, सहयोग गरिराख्या छु । शायद यसको बुझाइमा उहाँ (प्रचण्ड) ले मलाई बुझाउन नसक्ने र मैले उहाँलाई बुझाउन नसक्ने भएको होला । उहाँले त्यहाँ कुरा उठाउनुभएको थियो, त्यसमा मैले साथ दिनुपर्थ्यो ।

यहाँ विनम्रतापूर्वक के भन्नुपर्छ भने लिडरसिपसम्बन्धी प्रश्नमा मैले कमरेड प्रचण्डका लागि जुन भूमिका खेल्नुपर्थ्यो, त्यो सचेत वा अचेत संस्कारको कमजोरी या मेरो प्रवृत्तिको कमजोरीले खेल्न सकिनँ । म उक्त कमजोरी नयाँ उचाइका साथ हटाउने विश्वास कमरेड प्रचण्डलाई दिलाउन चाहन्छु । म कमरेड अध्यक्षको अपेक्षामा अधिकतम खरोरूपमा उत्रने प्रयास गर्नेछु । र, कमान्डरका हरेक आदेशलाई निःसर्त पालन गर्ने संकल्प लिन चाहन्छु ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर