
खड्ग ओली नेतृत्वको वर्तमान सरकार ढल्ने निश्चित भैसकेकाले अब बन्ने सरकारमा आफूहरू जाने वा नजाने भन्ने विषयमा नेपाली कांग्रेसको शीर्ष नेतृत्व तहमा मत बाझिएको छ । सभापति शेरबहादुर देउवाले ‘अवसर पाए सरकारको नेतृत्व गर्ने’ अभिव्यक्ति दिइरहँदा वरिष्ठ नेता रामचन्द्र पौडेलले भने कांग्रेसलाई प्रतिपक्षकै जनादेश रहेकाले सरकारमा जानु नहुने बताएका छन् ।
पूर्वसांसद एकनाथ रानाभाटको बुधबार परेको दसौं स्मृति दिवसमा आयोजित चितवनमा आयोजित श्रद्धाञ्जलिसभामा बोल्दै सभापति देउवाले कांग्रेस जिम्मेवारीबाट नभाग्ने स्पष्ट पारे । ‘मरिहत्ते गर्दै खोजिँदैन, प्रधानमन्त्री नै चाहिने लोभ पनि छैन तर अवसर पाए छाडिँदैन, भाग्ने पनि होइन होला,’ देउवाको स्पष्ट भनाइ थियो– ‘मुलुकलाई कसै न कसैले अगाडि बढाउनुपर्छ, अहिलेको अवस्थामा अवसर पाए कांग्रेसले नेतृत्व गरेर अगाडि बढ्नुपर्छ ।’
‘प्रधानमन्त्री पाऊँ भनेर रोइकराइ गरेका पनि त छैनौं,’ देउवाले भने– ‘जिम्मेवारी आयो भने म भाग्नेवाला छैन, त्यसको फाइदा पार्टीलाई नै होला; म प्रधानमन्त्री भएँ भने पक्कै रामचन्द्रजी पनि खुसी नै हुनुहोला ।’ वरिष्ठ नेता रामचन्द्र पौडेलप्रति लक्षित गर्दै देउवाले भने– ‘जो भए पनि कांग्रेसकै मान्छे प्रधानमन्त्री हुने हो, यसमा रामचन्द्रजीले सानो चित्त गर्नुहुन्न होला ।’
सरकार परिवर्तनको सन्दर्भ र कांग्रेसभित्रको किचलोसम्बन्धी यो खबर वसन्त पराजुली र सञ्जयकुमार मिश्रको बाइलाइनमा बिहीबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।