
सत्ताधारी नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाललगायतका नेताहरूले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री खड्ग ओलीलाई बिहीबार बुझाएको ‘जवाफीपत्र’ पछि उक्त पार्टीभित्रको समस्या समाधान हुनेभन्दा पनि झनै बल्झने स्थिति देखिएको छ ।
माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले पार्टी अनुशासनविपरीत काम गरको भन्दै एमाले (ओली समूह) को केही दिनअघि सम्पन्न ‘केन्द्रीय कमिटीको बैठक’ ले उनीहरूलाई स्पष्टीकरण सोध्ने तीनदिने पत्र थमाउने निर्णय गरेको थियो । सोहीबमोजिम ओलीको निर्देशनमा महासचिव ईश्वर पोखरेलले मागेको ‘स्पष्टीकरण’ को ‘जवाफ’ दिनुको साटो वरिष्ठ नेता नेपाललगायतका नेताहरूले उल्टै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई नै गम्भीर आरोप लगाउँदै पत्र लेखेपछि एमाले फुटको संघारमा पुगेको हो ।
‘स्पष्टीकरण’ को जवाफपछि पार्टी एक हुन सक्ने आशामा रहेका आम कार्यकर्ता नेपाललगायतका नेताहरूको ‘जवाफ’ पछि निराश बनेका छन् । अब ओली–नेपाल पक्षबीचको सम्बन्ध टुट्ने अवस्थामा पुगेको छ । नेपालको ‘जवाफी पत्र’ पछि उनीमाथि थप ‘कारबाही’ हुने प्रधानमन्त्री निकट स्रोतले बताएको छ । ‘नेपालहरूले पार्टीबाट अलग हुने मनसायका साथ अध्यक्षलाई अराजनीतिक आरोप लगाउँदै पत्र लेखेका छन्,’ ओलीनिकट एक नेताले भने– ‘त्यसैले उनीहरूमाथि अनुशासन उल्लंघनमा कठोर कारबाही हुनेछ ।’
आफ्नै अध्यक्ष खड्ग ओलीसँगको सम्बन्ध टुट्ने अवस्थामा पुगेको भए पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहाल ‘प्रचण्ड’सँग एमालेका वरिष्ठ नेता नेपालको सम्बन्ध भने अझै गाढा देखिएको छ । नेता नेपाल र माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ बीच बिहीबार पनि छलफल भएको छ ।
दुई नेता (प्रचण्ड–नेपाल) बीचको छलफलमा नेकपा भंग गराएर एमाले र माओवादी केन्द्र छुट्याइदिने गरी २३ फागुनमा सर्वोच्च अदालतले दिएको ‘फैसला’ लाई चुनौती दिँदै पुनरावलोकनमा जाने सहमति भएको खबर शुक्रबारको राजधानी दैनिकमा प्रकाशित छ ।