
प्रधानमन्त्री एवं एमाले अध्यक्ष खड्ग ओलीले नेताहरूमाथि धमाधम ‘कारबाही’ गर्न थालेपछि झलनाथ खनाल–माधवकुमार नेपाल पक्षले पार्टीका समानान्तर कमिटीहरू गठन गर्दै आफ्नो ‘शक्ति संगठित’ गर्न थालेको छ । वरिष्ठ नेता नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डेलाई अध्यक्ष ओलीले ६ महिनाका लागि भन्दै पार्टी सदस्यबाट समेत ‘निलम्बन’ गरेपछि खनाल–नेपाल पक्षले मुलुकभर समानान्तर कमिटी बनाउन थालेको हो ।
यसअघि भ्रातृसंगठनहरूमा समानान्तर कमिटी बनाएको खनाल–नेपाल पक्षले अब प्रदेश र जिल्ला तहमा संगठन निर्माण गर्न थालेको छ । यसको सुरुआत बिहीबार गण्डकी प्रदेशबाट गरिएको छ । पोखरामा आयोजित खनाल–नेपाल पक्षको प्रदेशस्तरीय कार्यकर्ता भेलाले बिहीबारै ओलीबाट ‘कारबाही’ मा परेका नेता पाण्डेको नेतृत्वमा गण्डकी प्रदेशमा २२ सदस्यीय समानान्तर कमिटी गठन गरेको छ ।
चैत २९ अघि नै सबै जिल्लामा समानान्तर कमिटी घोषणा सम्पन्न भइसक्ने स्याङ्जा जिल्ला अध्यक्ष रामचन्द्र भट्टराईले जानकारी दिए । उनका अनुसार भेलामा एघारवटै जिल्लाका सचिवालय सदस्य र नेता–कार्यकर्ता उपस्थित थिए । अध्यक्ष ओलीले चारजना नेताहरूमाथि कारबाहीको प्रक्रिया अघि बढाएपछि खनाल–नेपाल पक्ष भने मुलुकभर समानान्तर संगठन निर्माण गरेर अघि बढ्ने निष्कर्षमा पुगेको थियो ।
खनाल–नेपाल पक्षमा आबद्ध ११ जना स्थायी कमिटी सदस्यले तीन दिनअघि संयुक्त वक्तव्य जारी गर्दै ओलीका अवैधानिक कदमविरुद्ध संगठित हुन आमकार्यकर्तालाई आग्रह गरेका थिए । अध्यक्ष ओलीले एक–एक गर्दै ‘कारबाही’ गरेर खनाल–नेपाल पक्षको शक्ति क्षीण बनाउने रणनीति अख्तियार गरेपछि उनलाई सफल हुन नदिन समानान्तर कमिटी बनाएर आफू पक्षका नेताहरूलाई जोगाइराख्ने योजना यो समूहले बनाएको खबर बुधबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।