छिमेकी मुलुक भारतमा युके, दक्षिण अफ्रिकी, ब्राजिलियनलगायत प्रजातिका कोरोनाभाइरस देखिइसकेका छन् । यीमध्ये युके प्रजातिकै कोरोनाभाइरस भारतमा सबैभन्दा बढी पाइएको छ । यी पङ्क्ति लेखिँदासम्म नेपालमा भने युके र भारतीय बाहेकका प्रजाति देखिका छैनन् ।
नेपालमा समेत नयाँ प्रजाति (भेरियन्ट) को कोरोनाभाइरस भित्रिएर त्यसले ठूलै महामारीकाे रूप लिइसकेको छ । माघ ५ मा बेलायतबाट फर्किएका ३ जनामा बेलायतमै देखिएको नयाँ प्रजातिको कोरोनाभाइरस नेपालमा देखिएको थियो । यसबाट गम्भीर प्रश्न उब्जिएको छ– नेपालमा पनि भित्रभित्रै नयाँ प्रजातिको कोरोनाभाइरस व्यापकरूपले फैलिइरहेको त छैन ? पछिल्लाे समय फैलिएकाे महामारीले यसै कुराकाे पुष्टि गरेकाे छ ।
के हो नयाँ प्रजाति ?
कोरोनाभाइरसको रूप परिवर्तन हुँदै जाँदा नयाँ–नयाँ प्रजाति देखिन्छन् । निश्चित समयपछि भाइरसको रूप परिवर्तन हुँदै जानु स्वाभाविकै हो । कोरोनाभाइरसको पनि नयाँ प्रजाति देखिनु प्राकृतिक विषय नै हो । मौसमी फ्लुजस्तै कोरोनाभाइरस पनि लामो समयसम्म नै कायम रहन सक्छ ।
प्रश्न उब्जन सक्छ– पुरानो प्रजातिको कोरोनाभाइरसमा आधारित रहेर तयार पारिएका खोपले नयाँ प्रजातिका कोरोनाभाइरसका लागि काम गर्छन् कि गर्दैनन् या ती कति प्रभावकारी हुन्छन् ? प्रश्न स्वाभाविकै हो । तर, पुराना प्रजातिका भाइरसमा आधारित रहेर तयार पारिएका खोप नयाँ प्रजातिका लागि कति प्रभावकारी हुन्छन् भन्ने कुरा अध्ययनकै विषय हो । ती कति प्रभावकारी हुन्छन्, अहिले भन्न कठिन छ । यद्यपि मापण्ड पूरा गरेर बनेका खोप लगाउनु नै उचित हुन्छ; खोपको प्रभाकारिता धेर–थोर त हुन्छ नै ।
नेपालमा ‘कोभिसिल्ड’ खोप प्रयोग भइरहेको छ । यो खोप लगाउनु नै उचित हुन्छ । यो खोप करिव ७० प्रतिशत प्रभावकारी हुने बताइएको छ । तर, नयाँ प्रजातिको कोरोनाका निम्ति यो खोप कति प्रभावकारिता हुन्छ भन्ने यकिनचाहिँ छैन । चीनबाट पनि नेपालमा ‘भेरोसेल’ खोप भित्रिएको छ । यो पनि ‘कोभिसिल्ड’ जति नै प्रभावकारी रहेको मानिन्छ ।
सीमा–संवेदनशीलता
बुझ्नुपर्ने कुरा के छ भने पछिल्लो समय नेपालमा फेरि कोरोनाभाइरस सङ्क्रमणको ग्राफ बढिरहेको छ । छिमेकी भारतमा त यो क्रम व्यापक भैसकेको छ । र, नेपालमा पनि पछिल्लो समय अस्पताल पुग्ने कोरोना सङ्क्रमितहरूको सङ्ख्या बढिरहेको छ ।
नेपाल–भारतबीच खुला सीमाना छ, जसले गर्दा स्थलमार्गबाट नेपाल–भारतबीच निर्वाधरूपले आवतजावत चल्ने नै भयो । खुला सीमानाको यही विशेषताका कारण भारतमा कोरोनाभाइरस बढेसँगै नेपालमा समेत जोखिम बढ्ने कुरा स्वतः स्पष्ट छ । भारतमा नयाँ प्रजातिको कोरोना सङ्क्रमण बढिरहेकाले एकदम छिटै र सहजै नेपालमा पनि भित्रने जोखिम उच्च छ ।
गत वर्ष नै पनि नेपाल–भारत सीमा नाकाबाट हुने ओहोर–दोहोरका कारण कोरोना सङ्क्रमितको पहिचान, क्वारेन्टाइन, आइसोलेसनलगायतको व्यवस्थापनमा निकै ठूलो चुनौती खडा भएको थियो । अब फेरि स्थलमार्ग हुँदै भारतबाट नयाँ प्रजातिको कोरोनाभाइरस भित्रन नदिन तथा नियन्त्रण गर्नका निम्ति बेलैमा सीमा नाकाहरूमा हेल्थ डेस्कहरू व्यवस्थित गरिनु अत्यावश्यक छ ।
सावधानी र सतर्कता
नयाँ प्रजातिको कोरोनाभाइरस पुरानो प्रजातिभन्दा झण्डै ७० गुणा द्रुत गतिमा फैलने गरेको तथ्य सार्वजनिक भएको छ । त्यसैले यसप्रति पटक्कै हेलचेक्र्याइँ गर्नु हुँदैन । नयाँ युके भेरियन्टको कोरोना भाइरसका लक्षणहरू भने पुरानो कोरोनाभाइरसको जस्तै नै देखिएको छ ।
सारतः सबैभन्दा महत्त्वपूर्ण विषय भनेको स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गर्न छाड्नु हुँदैन । खोप लगाएका व्यक्ति होस् वा नलगाएको व्यक्ति नै किन नहोस्; मास्क, पञ्जा, फेससिल्ड लगाउनुपर्छ; साबुन–पानीले बेला–बेलामा हात धुने, भौतिक दूरी कायम गर्नेलगायतका क्रियाकलापमा अझ बढी ध्यान पुर्याउनुपर्छ ।