
पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले ‘बृहत् कम्युनिस्ट मोर्चा’ बनाउने तयारी थालेका छन् । आफूले नै स–साना कम्युनिस्ट घटकलाई जोड्दै एमालेलाई अहिलेको अवस्थामा ल्याएको र अहिले पनि छिन्नभिन्न भएर बसेका कम्युनिस्ट घटकलाई पनि त्यसैगरी जोड्न सके ठूलो कम्युनिस्ट पार्टी बनाउन सकिने नेपालको विश्लेषण छ ।
‘अहिले एमालेको मात्रै एकताका बारेमा नसोच्नोस्, कसैले एमाले एकताका बारेमा बुझ्लान् तर हामी कम्युनिस्ट पार्टीहरुका बीचको एकताका पक्षमा छौं,’ वरिष्ठ नेता नेपालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो– ‘हामी अब बृहत् रुपले कम्युनिस्ट आन्दोलनको एकताको पक्षमा छौं ।’ खड्ग ओलीका कारण कम्युनिस्ट आन्दोलन छिन्नभिन्न हुने अवस्था आएको र ओलीले अवसरका लागि मात्रै कम्युनिस्ट आन्दोलानको दुरुपयोग गरेकाले एमाले पनि ध्वस्त भएर गएकाले कम्युनिस्ट आन्दोलनलाई बृहत् रुपमै सँगालेर लैजानुपर्ने आवश्यकता रहेको नेपालले बताएका हुन् ।
यही प्रयोजनका लागि वरिष्ठ नेता नेपालले माओवादीबाट छुट्टिएर बसेका कतिपय नेता र एमालेबाट विश्राम लिएका नेताहरुसँग एक चरण कुराकानी गसिकेका छन् । आफैंले बनाएको घरबाट ओलीले निकाल्न खोजेपछि नेपालले आफू निकटका नेताहरूसँग नयाँ दलको तयारी र बृहत् कम्युनिस्ट मोर्चाका बारेमा कुराकानी सुरु गरिसकेका छन् ।
सार्वजनिक रुपमा भने नेता नेपालले संघर्ष र रुपान्तरणसहित एमालेकै एकता गर्न खोजिरहेको बताएका छन् । ‘अहिले संघर्ष चलिरहेको छ, ओली रुपान्तरण भए एकता हुन्छ, रुपान्तरित भएनन् भने संघर्षकै नीति लिन्छौं’– नेपालको भनाइ छ । उनका अनुसार ओली सच्चिने सम्भावना निकै कम छ । ओली नसच्चिने निष्कर्ष निकालेकै कारण आफूहरू संघर्षको चरणमा प्रवेश गरिसकेको उनले बताएका छन् । ‘ओली सच्चिने सम्भावना निकै कम छ, त्यसैले हामी अन्तिम–अन्तिम विन्दुमा पुगेका छौं, पार्टी पुनर्गठनका पक्षमा छौं’– नेपालले भने ।
गत आइतबारदेखि एक सातासम्म पार्टीका विभिन्न तह र तप्कासँग नेपालले छलफल गरे । सबैजसो जनवर्गीय संगठन, पार्टीका समानान्तर जिल्ला कमिटी, केन्द्रीय सदस्य तथा सांसदसँग उनले छलफल गरे । अब धेरै दिन कुरेर बस्न नसक्ने भन्दै आफू निकटका नेताहरूको राजनीतिक भविष्य सुरक्षित बनाउन पनि नयाँ दल खोल्नुपर्ने बाध्यता रहेको उनले बताउन थालिसकेको खबर मंगलबारको नागरिक दैनिकमा प्रकाशित छ ।