newskoseli.Com

ओलीलाई चुनौती दिँदै भुसाल : महाधिवेशनमा खड्ग–घनश्याम प्रतिस्पर्धा !

नेपाल कम्युनिस्ट पार्टी एमालेका उपमहासचिव घनश्याम भुसालले आसन्न १०औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने संकेत गरेका छन् । विजयादशमी, दीपावली, छठलगायतका चाडपर्वको अवसरमा पत्रकारहरूसँग आइतबार काठमाडौंमा भेटघाट गर्दै उपमहासचिव भुसालले पार्टीको १०औं महाधिवेशनमा अध्यक्षको उम्मेदवार बन्ने संकेत गरेका हुन् ।

‘हाम्रो पार्टीको विधानमै स्पष्ट व्यवस्था छ, केन्द्रीय कमिटीको पदाधिकारी भइसकेको व्यक्तिले अध्यक्षमा उम्मेदवारी दिन पाउँछ’– उनले भने । हालै सम्पन्न एमालेको विधान महाधिवेशनले ७० वर्षे उमेर हदको (अप)व्याख्या गर्दै अध्यक्ष खड्ग ओलीलाई नै पुनः अध्यक्ष हुन सहज हुने गरी विधान संशोधन गरेको छ ।

एमालेभित्र ‘१० भाइ’ भनेर चिनिने नेतामध्येका एक उपमहासचिव भुसाल पनि हुन् । वैचारिक नेताका रूपमा समेत चिनिने उपमहासचिव भुसाल महाधिवेशनमा ओलीसँग प्रतिस्पर्धा गर्न आन्तरिक तयारीमा समेत जुटिसकेका छन् ।

एमालेको १०औं महाधिवेशन १०–१३ मंसिरमा बुटवलमा हुने निर्णय भइसकेको छ । हालै सम्पन्न प्रथम विधान महाधिवेशनले पार्टीको विधान संशोधनसहितका दस्तावेज पारित गर्दै महाधिवेशनको मिति समेत टुंगो लगाइसकेको छ ।

राष्ट्रिय महाधिवेशनले एमालेको नयाँ नेतृत्व चयन गर्नेछ । विधान महाधिवेशनबाट एमालेका पदाधिकारीसहित कमिटीहरूको संख्या र आकार निर्धारण भइरहेको छ । १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्षसहित ४ उपाध्यक्ष, १ महासचिव, १ उपमहासचिव र ७ सचिवसहित १५ सदस्यीय पदाधिकारी रहने निर्णय विधान महाधिवेशनले गरिसकेको छ । २ सय २५ सदस्यीय केन्द्रीय कमिटी हुने विधान समेत सोही महाधिवशेनबाट पारित भइसकेको छ ।

उता, आइतबारै आयोजित अर्को कार्यक्रमबीच महासचिव ईश्वर पोखरेलले अध्यक्ष ओली नै अध्यक्षको उम्मेदवार बनेको अवस्थाबाहेकमा आफूले पनि अध्यक्षमा उम्मेदवारी दिने बताएका छन् । आफूले अध्यक्षमा उम्मेदवारी दिने घोषणा यसअघि नै गरेका पोखरेलले ‘ओली उम्मेदवार नभएको अवस्थामा’ मात्र आफू उम्मेदवार हुने बताइसकेको खबर राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर