newskoseli.Com

आ–आफ्नै सम्मेलन/महाधिवेशनमा प्रचण्ड–ओलीलाई चटारो

सत्ता गठबन्धनमा रहेको नेकपा (माओवादी केन्द्र) र सत्ताबाट अपदस्थ हुन पुगेको एमाले आ–आफ्नै राष्ट्रिय सम्मेलन/महाधिवेशनमा केन्द्रित हुन थालेका छन् । आसन्न सम्मेलन/महाधिवेशनका लागि दुवै पार्टीले टोल, गाउँ, वडा, गाउँपालिका/नगरपालिका, निर्वाचन क्षेत्र र जिल्ला अधिवेशनको कार्यतालिका सार्वजनिक गरेका छन् ।

दसैं सकिएसँगै यी दुई पार्टीले संगठन विस्तार र सम्मेलन/महाधिवेशन केन्द्रित कार्यक्रम तय गरेका हुन् । एमालेले देशभरका सबै वडामा एकसाथ अधिवेशन आयोजना गर्ने सो दलका कार्यालय सचिव शेरबहादुर तामाङले बताए । यसका लागि सबै जिल्ला कमिटीका बैठक बस्ने भएका छन् ।

कात्तिक २ देखि ४ गतेसम्म जिल्ला कमिटीका बैठक बसेर ६ गते हुने वडा अधिवेशनमा जिल्लाबाट प्रतिनिधि खटाउन लागिएको छ । मंसिरमा हुने महाधिवेशनअगाडि एमालेले वडा, स्थानीय तह, जिल्ला र प्रदेशका अधिवेशन सम्पन्न गर्दैछ । कात्तिक ९ गते देशभरका ७५३ स्थानीय तहमा अधिवेशन हुने एमालेले जनाएको छ ।

अधिवेशन तथा नेतृत्व चयन विधिबारे केन्द्रबाट मापदण्ड पठाइने तामाङले बताए । ‘वडा र स्थानीय तहको अधिवेशनका लागि केही मापदण्ड केन्द्रबाट जान्छ, बाँकी जिल्ला कमिटीले विधानअनुसार निर्णय गर्छ’– उनले भने । तामाङका अनुसार एमालेले गाउँ र नगरपछि जिल्ला अधिवेशन गर्नेछ ।

एमाले केन्द्रीय कार्यालयले बढीमा ५ सय वडालाई जुममा जोडेर अध्यक्ष खड्ग ओलीले एकैसाथ भर्चुअल रुपमा वडा अधिवेशनहरूको उद्घाटन तथा शुभकामना सन्देश दिने गरी तयारी गरेको छ । मंसिरमा बुटवलमा महाधिवेशन हुने एमालेले बताइसकेको छ ।

उता, मंगलबार बसेको नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठकले सदस्यता नवीकरण र स्थानीय सम्मेलनको तालिका परिवर्तन गरेको छ । बैठकले राष्ट्रिय सम्मेलनबाहेक अन्य तहका सम्मेलनको तालिका हेरफेर गरेको हो ।

प्रवक्ता कृष्णबहादुर महराले दिएको जानकारीअनुसार पार्टी सदस्यता नवीकरणको म्याद कात्तिक २५ गतेसम्म तोकिएको छ । टोल सम्मेलनहरू कात्तिक २७ गतेसम्म हुनेछन् भने मंसिर ४ सम्म वडा सम्मेलन गरिसक्नु पर्ने खबर बुधबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर