
गोलबजार नगरपालिका– १०, सिरहाका रञ्जितकुमार पालले दुबई (संयुक्त अरब इमिरेट्स– यूएई) मा २३ मिलियन दिरामको चिट्ठा जितेका छन् । कतारमा कार्यरत पालले झन्डै ८२ करोड २७ लाख रुपैयाँभन्दा बढीको चिट्ठा जितेका हुन् ।
उनले ‘बिग टिकट’ नामक अनलाइनमा चिट्ठा काटेका थिए । ‘चिट्ठाको विजेता घोषणा गर्दा म अफिसमै लाइभ हेर्दै थिएँ,’ पालले भने– ‘ग्राहक आएपछि काममा लागेँ, काम सकिएपछि फेरि भिडियो हेर्दा थाहा भयो, २३ मिलियन दिरामको पुरस्कार मैले जितेछु ।’
मध्यमवर्गीय परिवारका पालले यो पुरस्कार जित्दा आफू निकै खुसी भएको बताउँदै अहिले गर्दै आएको कामलाई भने निरन्तरता नै दिने प्रस्ट्याए । ‘म कतार आएको सात वर्ष भयो, पहिले हिमाल रेमिटको प्रतिनिधिको जिम्मेवारीमा थिएँ,’ उनले भने– ‘केही समययता म इस्टर्न मनी एक्सचेन्ज सनैयामा कार्यरत छु, काम छाड्ने कुनै योजना छैन ।’
विदेशमा श्रम गरिरहेका नेपाली युवकले ठूलो रकम बराबरकाे चिट्ठा जितेको यो खबर सोमबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।