newskoseli.Com

पाल्देनको पहलमा लेखर्क र भैंसेका पहिरोपीडितलाई सहयोग

काठमाडौं बसेर मजदुरी गरिरहेका दोरम्बार शैलुङ– ५, रामेछाप निवासी पाल्देन लामा उक्त क्षेत्रका बाढीपहिरो पीडितहरूका निम्ति भरपर्दो साथी बनेका छन् । काठमाडौंमा रहेर विभिन्न पेसा व्यवसाय गरिरहेका रामेछापवासी तथा अन्यत्रका व्यक्तिहरूसँग स–सानो रकम संकलन गरी पाल्देनले गाउँपालिकामार्फत पहिरो पीडितहरूका लागि महत्त्वपूर्ण सहयोग उपलब्ध गराएका छन् ।

अविरल वर्षाका कारण ८ भदौ, २०८१ को मध्यराति दोरम्बा शैलुङ गाउँपालिका– ३, लेखर्कमा निकै ठूलो पहिरो गएको थियो । सो पहिरोमा परी १० जनाको ज्यान जानुका साथै एक जना सख्त घाइते भएका थिए । उक्त पहिरोका कारण ६५ घरपरिवार विस्थापित भए । पहिरोमा परी घरबारविहीन भएका तिनै नागरिकलाई बसोबासको व्यवस्था मिलाउन पाल्देनले आफ्नै एक्लो पहलमा ४ लाख ३९ हजार ९ सय ९१ रूपैयाँ संकलन गरी गाउँपालिकासँगको समन्वयमा स्थानीय पीडितहरूलाई बसोबासको निम्ति सहयोग गरेका छन् ।

संकलित उक्त रकममध्येबाट पाल्देनले ३ लाख ३ हजार ६ सय १५ रूपैयाँको जस्तापाता र अन्य निर्माण सामग्री खरिद गरी बिलसहित गाउँपालिकालाई हस्तान्तरण गरिसकेका छन् । सोही गाउँपालिका– ५ स्थित कल्लेरी, भैंसेमा १२ असोज, २०८१ मा गएको अर्को पहिरोले ४ घरलाई पूर्ण रुपमा क्षति पुर्याएको छ । उक्त पहिरोमा परी एकजना सख्त घाइते भएका छन् । संकलित रकमध्येबाट बाँकी रहेको १ लाख ३६ हजार ३ सय ७६ रूपैयाँचाहिँ कल्लेरी, भैंसेका बाढीपहिरो पीडितहरूका निम्ति सहयोगार्थ उपलब्ध गराउन गाउँपालिकासँग समन्वय गरिरहेको पाल्देनको भनाइ छ ।

सहृदयीहरूमार्फत प्राप्त सहयोग तथा पालिका स्वयंको कोष र पहलबाट बाढीपहिरो पीडितहरूलाई सुरक्षित ठाउँमा राख्न दोरम्बा शैलुङ गाउँपलिका साेही पालिकाकाे वडा नम्बर ३ स्थित टोकरपुरमा अस्थायी टहरा निर्माण गरी बसाेवासकाे व्यवस्था गरिसकेकाे छ । विस्थापित ६५ घरपरिवारलाई आवास उपलब्ध गराई व्यवस्थापन गर्नु चुनौतीपूर्ण काम भएको स्थानीयवासीहरु बताउँछन् । घरबास गुमाएर आफूहरुको उठिबास भएका बेला स्थानीय सरकारले तदारुकताका साथ अभिभावकत्व देखाएर जिम्मेवारी निर्वाह गर्न प्रयास गरिरहेकामा पीडितहरुले ठूलै राहतको अनुभूति गरिरहेका छन् ।

राजनीति र ‘समाजसेवा’ को बागडोर समालेको दावी गर्ने कयौंले बाढीपहिरो पीडितकहाँ पुग्ने, फोटो सेसन गर्ने र राजनीतिक मार्केटिङ गर्ने काममै आफूलाई सीमित राखेका छन् । तर, मजदुरी गर्ने निम्न परिवारका पाल्देन, जो राजनीतिक आस्था त राख्छन् तर आफूलाई ‘नेता’ वा ‘कार्यकर्ता’ का रुपमा प्रचारित गर्दैनन् । तर, जनताले दुःख पाएको र विपदमा परेको बेला दिलो ज्यानले सघाउँछन् । र, आफूले ‘सहयोग गरेको’ प्रचार गर्दै पीडितसँगै उभिएर फोटो सेसन गर्दैनन्, गरेनन् । सरोकारवालाहरूले उनीबाट केही सिक्नुपर्छ कि ?

   

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर