नेपालको कम्युनिस्ट आन्दोलन, सारतः माओवादी आन्दोलन टुटफुट र विभाजनका कारण विशृङ्खल अवस्थामा रहेको र क्रान्तिकारी बौद्धिक–सांस्कृतिक क्षेत्र पनि लथालिङ्ग र भताभुङ्ग अवस्थामा रहेको स्थितिमा यसलाई नयाँ किसिमले गठित र पुनर्गठित गरेर लैजानुपर्छ भन्ने उद्देश्यका साथ मालेमावादी बौद्धिक–सांस्कृतिककर्मीहरूबीच भएको छलफलसँगै डा. ऋषिराज बरालको संयोजकत्वमा ‘क्रान्तिकारी बौद्धिक–सांस्कृतिक मञ्च, नेपाल’ गठन भएको छ ।
उक्त मञ्चद्वारा जारी ‘घोषणापत्र– २०८१’ मा मञ्च गठनको आवश्यकता र औचित्यमाथि प्रकाश पार्दै उल्लेख गरिएको छ– साहित्य–कला तथा बौद्धिक गतिविधिका माध्यमबाट समाज रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने दायित्व पूरा गर्ने हेतुले मार्क्सवाद–लेनिनवाद–माओवादप्रति प्रतिबद्ध हामी बौद्धिक–सांस्कृतिककर्मीहरूले क्रान्तिकारी बौद्धिक–सांस्कृतिक मञ्च गठन गरी यसका उद्देश्य, नीति तथा कार्यक्रम सार्वजनिक गरेका छौँ ।’
‘यताको एक दशकमा माओवादी आन्दोलनमा भएको वैचारिक विचलन, टुटुफुट, विभाजन र एकताका नाममा भएका विसङ्गत शृङ्खलाहरू हाम्रासामु छन् र हामी सबै भुक्तभोगी छौं । अहिले नेपाली समाज र क्रान्तिको दिशा र चरित्रका बारेमा आ–आफ्ना वैचारिक–राजनीतिक बुझाइ र ठम्याइ अनुसारका गतिविधि चलिरहेका छन् र गलत प्रवृत्तिका विरुद्ध वैचारिक–राजनीतिक सङ्घर्ष चर्काउँदै क्रान्तिकारी पुनर्गठनको अभियान पनि निरन्तरतामा छ,’ बौद्धिक–सांस्कृतिक मञ्चको घोषणापत्रमा लेखिएको छ– ‘यस स्थितिको प्रभाव बौद्धिक–सांस्कृतिक क्षेत्रमा नपर्ने कुरा थिएन र छैन । आज जसरी राजनीतिक क्षेत्रमा नयाँ किसिमले क्रान्तिकारी पुनर्गठन नगरी मालेमावादी क्रान्तिकारी आन्दोलनलाई विसर्जन हुनबाट जोगाएर अघि बढाउन सहज र सम्भव छैन भन्ने वैचारिक–राजनीतिक विचार विमर्शको शृङ्खला चलेको छ, यही कुरा सांस्कृतिक–बौद्धिक क्षेत्रमा पनि हुनु स्वाभाविक छ । अझ अहिलेको जटिल र अन्योलपूर्ण घडीमा जनमत निर्माण र वैचारिक सङ्घर्षमा बौद्धिक–सांस्कृतिक क्षेत्रले अगुवाको भूमिका खेल्नुपर्ने जिम्मेवारी आएको छ ।’
त्यसै गरी बौद्धिक क्षेत्रको तत्कालिक कार्यभारबारे चर्चा गर्दै सो घोषाणपत्रमा लेखिएको छ– ‘यतिखेर मुलुक क्रान्ति र प्रतिक्रान्तिको भीषण द्वद्व र टक्करको बीचबाट गुज्रिरहेको छ । मुलुकलाई यथास्थितिमा सीमित राख्न र रक्तपात मच्चाउन देशी–विदेशी यथास्थितिवादी र प्रतिक्रियावादी शक्तिहरू जोडतोडका साथ लागेका छन् । जनताले बलिदानको महान् यात्रा पार गरेर निर्माण गरेका प्राप्तिहरूको रक्षा गर्दे जनगणतन्त्रको निर्दिष्ट लक्ष्य पूरा गर्नुपर्ने महान् जिम्मेवारीका साथ राष्ट्रिय आत्मसमर्पणवादी प्रवृत्तिका विरुद्धको लडाइँलाई निरन्तर अगाडि बढाइरहनु पर्ने जिम्मेवारी अहिले क्रान्तिकारीहरूका सामु रहेको छ ।’
घोषणपत्रमार्फत मञ्चको सारभूत औचित्य प्रष्ट्याउँदै लेखिएको छ– ‘राष्ट्रिय स्वाधीनता र जनगणतन्त्र दुवैको पक्षमा व्यापक जनमत सिर्जना गर्दै बौद्धिक समुदाय तथा सांस्कृतिककर्मीहरू आत्मिक र भौतिक रूपबाट सक्रिय हुनुपर्ने चुनौती अहिले हाम्रा सामु छ । त्यसैगरी, बौद्धिक–सांस्कृतिक आन्दोलनमा देखापरेका दक्षिणपन्थी संशोधनवाद, नव–सारसङ्ग्रहवादी मध्यपन्थी अवसरवादका साथै विसर्जनवादका विरुद्धको सङ्घर्षलाई थप तीव्रताका साथ अघि बढाउनुपर्ने दायित्व पनि यतिखेर हाम्रासामु छ । यसका लागि राजनीतिक क्षेत्रका झैं साहित्यिक–सांस्कृतिक क्षेत्रमा पनि क्रान्तिकारी पुनर्गठन आजको अपरिहार्य आवश्यकता बनेको छ । वर्तमान घडीमा क्रान्तिकारी बौद्धिक–सांस्कृतिक मञ्च, राष्ट्रिय स्वाधीनता र जनगणतन्त्रको पक्षमा र सबै किसिमका अवसरवाद र विसर्जनवादका विरुद्ध गोलबद्ध भई जनगणतन्त्रको दिशामा अघि बढ्न सम्पूर्ण क्रान्तिकारी, प्रगतिशील र देशभक्त बुद्धिजीवी तथा सांस्कृतिक कर्मीहरूलाई हार्दिक आह्वान गर्दछ ।’
घोषणपत्रमार्फत अपिल गरिएको छ– ‘आउनुहोस्, सबैखाले अवसरवाद विरुद्धको लडाइँलाई तीव्र बनाऔं ! टुटफुट विभाजन, विचलन, विशृङ्खल र दिशाविहीन हुन थालेको क्रान्तिकारी बौद्धिक–सांस्कृतिक आन्दोलनलाई क्रान्तिकारी पुनर्गठनका साथ नयाँ दिशा र गति प्रदान गरौं !’