newskoseli.Com

सिद्धान्तकार प्रा.डा. अधिकारीलाई सम्मान गरिँदै

सिद्धान्तकार एवम् लेखक–साहित्यकार प्रा.डा. निर्मलमणि अधिकारी सम्मानित हुने भएका छन् । गण्डकी वाङ्मय प्रतिष्ठान, तनहुँले नयाँ वर्षको सन्दर्भमा वैशाख १ गते प्रा.डा. अधिकारीलाई सम्मानित गर्ने भएको हो ।

नेपाली साहित्य, कला र संस्कृतिका क्षेत्रको विकास, समृद्धि र श्रीवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याएकामा कदर गर्दै प्रा.डा. अधिकारीलाई वाङ्मय पुरस्कार, २०८२ द्वारा सम्मान गर्ने निर्णय गरिएको प्रतिष्ठानकी अध्यक्ष गौकुमारी न्यौपानेले जनाएकी छन् ।

म्याग्दे गा.पा.– ४, पिपलटार, तनहुँमा जन्मिएका प्रा.डा. अधिकारी आयोदधौम्य साहित्यिक नामबाट समेत परिचित छन् । भौतिकशास्त्रमा बीएस्सी, आमसञ्चार र पत्रकारितामा एमए, अङ्ग्रेजीमा एमफिल तथा सञ्चारविधामा विद्यावारिधि र पोस्टडक् समेतको उपाधि हासिल गरेका प्रा.डा. अधिकारीका ६० वटा पुस्तकहरू प्रकाशित छन् ।

सयबढी अनुसन्धान आलेखहरू र तीन हजार आसपास फुटकर लेख, रचना, समीक्षा, टिप्पणी इत्यादि लेखिसकेका अधिकारी काठमाडौं विश्वविद्यालयको भाषा तथा आमसञ्चार विभागका प्रमुख हुन् । विशेषतः दर्शन, सिद्धान्त, संस्कृति, साहित्य, अनुसन्धान, सञ्चारलगायतका विधामा कलम चलाएका प्रा.डा. अधिकारीले सञ्चारको साधारणीकरण ढाँचा, सञ्चारयोग सिद्धान्त, राज्यराष्ट्र सिद्धान्तलगायतका सञ्चार–ढाँचा एवम् सिद्धान्तहरूको अभिनिर्माण गरिसकेका छन् ।

प्रा.डा. अधिकारीद्वारा अभिनिर्मित सञ्चार–ढाँचा र सिद्धान्तहरू विश्वका सयौँ देशमा अवस्थित विश्वविद्यालयको पाठ्यक्रममा समाविष्ट भई प्राध्यापन भइरहेका छन् । प्रा.डा. अधिकारी यसअघि धनगढी, कैलालीस्थित प्रदेश सरकारअन्तर्गतको सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानद्वारा पहलमानसिंह स्वाँर स्मृति राष्ट्रिय प्रतिभा सम्मान, २०८२ बाट समेत सम्मानित भइसकेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर