ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)ले आयोजना गरेको गोसाईंकुण्ड–धुन्चे हाफ म्याराथन दौड प्रतियोगिता सम्पन्न भएको छ ।
गतवर्षको विनाशकारी भूकम्पले यसक्षेत्रमा पनि ठूलै नोक्सान पुर्याएको थियो । जसबाट विदेशी पर्यटकहरुमा नकारात्मक असर परिरहेको छ । भूकम्पले सबै पदमार्ग तथा विश्रामस्थलहरु समेत ध्वस्त पारेको छ भन्ने नकारात्मक सन्देश प्रवाह भइरहेको समयमा ट्रेकिङ एजेन्सी एशोसियसन नेपाल (टान)ले ऐतिहासिक रुपमा गोसाँकुण्ड लाङटाङ हाल्फ म्याराथन सम्पन्न गर्यो ।
२९ मेको बिहान ७ बजेर ५५ मिनेटमा गोसाँइकुण्डबाट शुरु भएको म्याराथन लौरीविनायक, चोलाङपाटी, चन्दनबारी, धिम्सा, देउराली, घट्टेखोला हुँदै २१ किलोमिटरको दुरी पार गरी धुन्चेमा पुगेर समापन भएको थियो ।
२१ किलोमिटरको दुरी १ घण्टा २२ मिनेट ५५ सेकेन्डमा पुरा गर्दै नेपाली सेनाका भरत खत्री प्रथम भएका थिए । १ घण्टा २३ मिनेटमा सो दुरी पुरा गर्दै नेपाली सेनाकै होमलाल श्रेष्ठ द्धितिय तथा जुम्लाका गोविन्द प्रसाद अधिकारी १ घण्टा २३ मिनेट ४६ सेकेन्डमा दुरी पार गर्दै तेस्रो भएका थिए ।
त्यस्तै, महिला तर्फको प्रथम उपाधि रसुवाकी फुलमाया स्याङ्वाेले हात पार्न सफल भइन् । उनले २१ किलोमिटरको दुरी २ घण्टा ७ मिनेटको समयमा पार गरेकी थिइन् ।
सिन्धुपाल्चोककी कमला तामाङ २ घण्टा १८ मिनेट ५३ सेकेन्डमा पार गर्दै दोस्रो उपाधि जित्न सफल भइन् भने बन्दना बिकले २ घण्टा २२ मिनेट १७ सेकेन्डमा सो दुरी पारगर्दै तेस्रो उपाधि जित्न सफल भएकी थिइन् ।
धुन्चेको बालबिकासको आँगनमा आयोजित समारोहमा टानका वरिष्ठ उपाध्यक्ष तेजबहादुर गुरुङ र रसुवाका जिल्ला प्रमुख अधिकारी केसीले विजेतालाई प्रमाणपत्र तथा चेक प्रदान गरेका थिए । महिला तथा पुरुष तर्फ प्रथम, द्धितिय तथा तृतिय हुने विजेतालाई प्रमाणपत्र तथा रु पचाश हजार, रु तीस हजार र रु बीस हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।
प्रकृतिले भरिपुर्ण रसुवाको यो क्षेत्रमा गत वर्षको विनाशकारी भूकम्प पश्चात थोरै पर्यटकहरु मात्र आउन थालेका थिए । टानले आयोजना गरेको यो प्रचारात्मक कार्यक्रमले गर्दा पर्यटकको संख्या बढ्ने कुरामा ढुक्क छु” प्रथम विजेता भरत खत्रीको भनाई थियो । उनले भने– केहिदिन देखि नियमित तयारी गरेकाले यो उपाधि जित्न सकेकोमा खुशी लागेको छ ।
त्यस्तै महिला तर्फकी प्रथम विजेता फुलमाया स्याङ्वाले पहिलो सहभागितामै प्रथम हुने मौका पाएकोमा खुशी व्यक्त गरिन् । उनले भनिन्–पहिलोपटक गोसाँइकुण्ड गएकी थिएँ, जित्छु जस्तो नलागे पनि महिलाहरुको सहभागिता कम भएकाले मलाई सहज भएको हो । बाटो साँघुरो र अति नै अप्ठ्यारो भएकाले यसको विकासतर्फ सचेत हुनुपर्ने स्याङ्वाेको भनाई थियो ।
टानका मिडिया कोअर्डिनेटर सुर्य बहादुर घिमिरेका अनुसार यो म्याराथनमा ५ जना विदेशी, २३ जना महिला सहित जम्मा १ सय तीनजनाको सहभागिता रहेको थियो ।