केही वर्ष अघिसम्म ‘कुरुप छवि’ बनेको रत्नपार्क क्षेत्र अहिले सुन्दर र हराभरा मात्रै बनेको छैन, मनमोहक समेत देखिन थालेको छ । नयाँ साजसज्जाका साथ बगैंचा बनाइएछि रत्नपार्क क्षेत्रमा ‘यौनकर्मी’ को संख्या समेत निकै कम भएको प्रहरीले जनाएको छ ।
छ वर्षअघि एक म्यागेजिनलाई अन्तर्वार्ता दिँदै तत्कालीन महानगरीय प्रहरी प्रभाग जनसेवा काठमाडौंका प्रहरी निरीक्षक अवदेश विष्टले रत्नपार्क क्षेत्रमा यौनकर्मीको संख्या स्वात्तै घटेको दाबी गरेका थिए ।
निरीक्षक विष्टले सो समयसम्म करिव ५० जना ‘यौनकर्मी’ लाई कार्बाही गरिएको बताएका थिए । सोही समय (२०६७) मा तत्कालीन प्रहरी प्रभाग दरबारमार्गका प्रहरी निरीक्षक सुदीपराज पाठकले ‘तेस्रोलिङ्गीले धेरैलाई ठगेको’ जनाएका थिए ।
‘यौनकर्मी’ हरुको हाउभाउ, व्यवहार, लवाइ, हिँडाइ, बोलाइ र जीवनशैली हेर्दैमा अरुभन्दा फरक तथा असुहाउँदिलो ‘मेकअप’ हुने गरेको प्रहरी स्रोत बताउँछ । मुख चलाउने, असभ्य र अशिष्ट बोल्ने तथा कुनै पुरुष उनीहरु (यौनकर्मी) को नजिक पुग्दा सोध्न आउनेजस्ता आचरण पाइएको प्रहरीको भनाइ छ ।
बेरोजगार, गरिब तथा निम्न वर्गका मानिसहरु नै ‘यौन व्यापार’ मा संलग्न हुने गरेको प्रहरीको विश्लेषण छ । त्यसैगरी सार्वजनिक स्थल वा सडकबाट सोझै सम्पर्कमा पुगी यौनेच्छा मेटाउन चाहने ‘ग्राहक’ पनि निम्न वर्गीय नै हुने गरेका प्रहरीको भनाइ छ ।
रत्नपार्क क्षेत्रमा ६ वर्ष अघिसम्म नियमितजसो ३० देखि ६० को सङ्ख्यामा ‘यौनकर्मी’ क्रियाशील रहेको त्यस क्षेत्रका एक व्यापारीले बताए । यौनकर्मीहरू सो क्षेत्रमा जथाभावी बस्नाले सर्वसाधारणलाई कामविशेषले उभिन, साथीसँगीलाई पर्खन र हिँडडुल गर्न समेत असहज भएको धेरैको गुनासो थियो ।
रत्नपार्कको बगैंचा वरिपरी र गेटबाहिर अहिले पनि केही ‘यौनकर्मी’ हरु रहेको एक व्यक्तिले बताए । केहीले ‘यौन–व्यापार’ लाई भारतको बेश्यालयजस्तै ‘व्यवस्थित’ बनाउनुपर्ने धारणा राखेका छन् ।
पशुपति क्षेत्रलगायतका धार्मिक तथा सार्वजनिक क्षेत्रमा समेत यदाकदा ‘यौनकर्मी’ बस्ने गरेकाले श्रद्धालु भक्तजन तथा सर्वसाधरणले असहज महशुस गर्नुपरेको गुनासो कतिपयको छ ।