अपाङ्गता भएका ४४ जनालाई बुधबार कञ्चनपुरको झलारीमा आयोजित कार्यक्रमा ट्राइसाइकल र ह्विलचेयर वितरण गरिएको छ ।
राष्ट्रिय अपाङ्ग पुनःस्थापना समाज काठमाडौँको सहयोगमा झलारी पिपलाडी नगर अपाङ्ग सञ्जालको समन्वयमा ट्राइसाइकल र ह्विलचेयर नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् व्यवस्थापिका–संसद्का सांसद नारायणप्रकाश साउद र सांसद कृपाराम रानाले संयुक्तरुपमा वितरण गरेका हुन् ।
कार्यक्रममा सांसद साउदले सार्वजनिक निर्माण अपाङ्गमैत्री हुनुपर्ने सरकारी नीति लागू गर्नका लागि गम्भीर भएर लाग्ने बताए । राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा अपाङ्गता भएका व्यक्तिले देशको शिर ठाडो पार्ने गरी कार्य गरेका कैयौँ उदाहरण रहेको चर्चा गर्नुहुँदै उनले उनीहरुलाई माया हैन अवसरको खाँचो रहेको बताए ।
व्यवस्थापिका–संसद्का सांसद कृपाराम रानाले अपाङ्गता जो सुकैलाई पनि हुनसक्ने भएकाले अपाङ्गता भएका व्यक्तिलाई प्रोत्साहित गर्नुपर्ने बताए । राष्ट्रिय अपाङ्ग पुनःस्थापना समाजका राकेश हमालले दश वर्षदेखि अपाङ्गता भएका क्षेत्रमा संस्थाले कार्य गर्दै आएको धारणा अघि सार्दैै भने , “यस अवधिमा २५ करोडभन्दा बढीका १० हजारभन्दा बढी अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री वितरण गरिएको छ ।”
नगर सञ्जालका अध्यक्ष हरि भट्टले कार्यक्रममा अपाङ्गता भएका ३० लाई ह्विलचेयर र १४ जनालाई ट्राइसाइकल प्रदान गरिएको जानकारी दिए । उनका अनुसार झलारीका २३, पुनर्वासका एक, कृष्णपुरका १३, देखतभूलीका ६ र भीमदत्तनगरपालिकाको उल्टाखामका १ गरी ४४ जनालाई ७ लाख ५० हजार मूल्यका ट्राइसाइकल र ह्विलचेयर वितरण गरिएको छ ।
राष्ट्रिय अपाङ्ग पुनःस्थापना समाजले कैलालीको अत्तरिया, धनगढी, भजनी र कञ्चनपुरको महेन्द्रनगरमा १ सय २० भन्दा बढीलाई ३० लाख भन्दा बढीका ट्राइसाइकल र ह्विलचेयर अपाङ्गता भएका व्यक्तिलाई वितरण गर्ने कार्यक्रममा जानकारी गराएको छ । सहायक सामग्री वितरणले अपाङ्गता भएका व्यक्तिलाई आवतजावत गर्न सहयोग पुग्ने भएको छ । रासस