newskoseli.Com

अविश्वासको प्रस्ताव नओस् भनेर ठूलो प्रयास गरें : वामदेव

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव आउन नदिनका लागि आफूले धेरै प्रयत्न गरेको जानकारी नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतमले दिएका छन् । शनिबार संसदमा सम्बाेधन गर्दै सांसद एवम् उपाध्यक्ष गाैतमले साे कुरा बताएका हुन् ।

गाैतमले भने– “मलाई साँच्चिकै अप्ठ्यारो लागिरहेको छ, प्रस्ताव पार्टीको अध्यक्षका विरुद्धमा छ, प्रस्तावमा घनिष्ठ मित्रले पहिलो हस्ताक्षर गर्नुभएको छ, मित्रलाई सधैं सही सल्लाह दिँदै आएको छु ।”

माओवादी नेतालाई मृत्युको मुखबाट बचाउन आफूले धेरै भूमिका खेलेको दावी गर्दै गाैतमले संसदमा दर्ता भएको अविश्वासको प्रस्तावमा भएका बुँदाले माओवादीप्रतिको आफ्नो विश्वासनीयतालाई कमजोर तुल्याएको बताए ।

नेकपा (माओवादी केन्द्र) का नेता सुरेन्द्र कार्कीले संविधानको नायकका रुपमा उभ्याइएका संविधानसभाका तत्कालीन अध्यक्षले संविधानको अपव्याख्या गरेर सार्वभौम संसदलाई तर्साउने काम गरेको भन्दै आलोचना गरे । उनले भने– “अझै पनि नयाँ सरकार गठनको कुरालाई शङ्काको दृष्टिकोणबाट हेर्ने प्रवृत्तिबाट राजनीतिक सङ्क्रमणले निकास पाउन सक्दैन । ”

माअाेवादीकै सांसद रामनारायण बिडारीले संविधानको व्याख्या एउटा उपधारा र धारा हेरेर मात्र होइन, संविधानका सिद्धान्त र भावनाका आधारमा हुनुपर्छ भन्दै नेपालको संविधानको धारा २९८ नयाँ सरकार गठनका निम्ति पूर्ण रहेको धारणा व्यक्त गरे ।

नेपाली कांग्रेसका सांसद डा. मीनेन्द्र रिजालले मधेसीलाई विदेशी देखेर राष्ट्रभक्ति हुन सक्दैन भन्ने कुरालाई एमालेलगायत सरकारमा रहेका राजनीतिक दलले बुझ्नु आवश्यक रहेको बताए ।

बैठकमा प्रभु साह, धर्मेन्द्र साह तेली, लोकमणि ढकाल र गङ्गा चौधरी सत्गौवाले प्रधानमन्त्री ओलीको व्यक्तिगत दम्भका कारण अविश्वासको प्रस्ताव ल्याउन बाध्य भइएको धारणा राखे ।

सत्तारुढ एमालेका डा. राजन भट्टराई र पशुपति चौलागाईंले माओवादी द्वन्दका समयमा गठन भएका जनसरकारले गरेका निर्णय वर्तमान सरकारले कार्यान्वयन गरेन भनेर प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याइएको हो कि भन्ने प्रश्न गरे ।

नेकपा (माले) का अइन्द्रसुन्दर नेम्बाङले अविश्वासको प्रस्ताव प्रस्तुत गर्नुपर्नाको औचित्य सरकार सञ्चालनको उच्चस्तरीय संयन्त्रको जिम्मेवारीमा रहेका माओवादी केन्द्रका अध्यक्षले पुष्टि गर्नु आवश्यक भएकाे बताए । संसदकाे बैठक जारी नै छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर