एक वर्ष अघिसम्म सत्ताको नेतृत्व समालिरहेको एमाले २१ फागुनको मध्यावधि चुनावपछि निकै कमजोर हैसियतमा देखाप¥यो । वर्षदिन अघिसम्म पार्टीसत्तामा एकछत्र हैकम जमाइरहेका एमाले अध्यक्ष केपी शर्मा ओली पनि यतिबेलासम्म आइपुग्दा लगभग विस्थापनको स्थितिमा पुगे ।
मुख्यतः यिनै दुई परिस्थितिका ‘निकास खोज्न’ केन्द्रित सो पार्टीले स्थायी र केन्द्रीय कमिटीको बैठकमार्फत ‘नयाँपन’ को सन्देश प्रवाहित गर्ने प्रयत्न गरेको छ । सैद्धान्तिक, नीतिगत र सङ्गठनात्मक लगायत सवै पक्षहरूलाई यथावत राखेर ‘नयाँपन’ को सन्देश दिने एमाले पङ्क्तिको प्रयास खासै सार्थक नहुने सर्वत्र टिप्पणी गरिँदैछ ।
स्थायी र केन्द्रीय कमिटीका ‘निर्णय’ लाई संश्लेषित गर्दै जारी एमालेको अन्तरपार्टी निर्देशन (अपानि) ले सो पार्टीभित्रै ठूलो हलचल पैदा भएको छ । मुख्यतः पार्टीको नीति, निर्णय र नेतृत्वमाथि प्रश्न र आलोचना गर्न नपाइने व्यवस्थासहितको अपानि–३ ले अध्यक्ष ओलीको विकल्प खोज्न प्रयासरत एमाले–हरूलाई थप तरङ्गित तुल्याएको छ ।
लोकतान्त्रिक पार्टीभित्र अनुशासन कायम राख्ने बहानामा ‘राणा र पञ्च’ शासनको पुनरावृत्ति गराउन खोजिएको टिप्पणी कतिपय नेता–कार्यकर्ता–हरूले गरेका छन् । पार्टीभित्र फरक मत राख्न र प्रश्न गर्न बन्देज लगाउनु तानाशाही प्रवृत्ति भएको भन्दै प्रश्न र आलोचना गर्नबाट आफूहरू पछि नहट्ने उनीहरूले बताएका छन् ।
अपानिमा रहेको अनुशासनसम्बन्धी व्यवस्थालाई ‘मकै पर्व’ सँग तुलना गरेका उपमहासचिव योगेश भट्टराईले बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सत्ता र शक्तिवालाहरू आफैं कानुनको धज्जी उडाउने र कानुन उल्लंघन गर्ने तर अरुलाई कानुन पालना गर्न उर्दी जारी गर्ने गरेको टिप्पणी गरेका छन् । यस्तै कारणले ‘कृष्णलाल अधिकारी’ हरू जन्मने र त्यसपछि मकैको खेती सुरु हुने भनेर उनले सांकेतिक रूपमा विरोध जनाएका छन् । ‘सत्ता र शक्तिवालाहरू, आफू कानुनको धज्जी उडाउँछन्, कानुन उल्लंघन गर्छन् अनि अरूलाई कानुन पालना गर्न उर्दी जारी गर्छन्, तब कृष्णलाल अधिकारीहरू जन्मन्छन् र मकैको खेती सुरु हुन्छ,’ उनले लेखेका छन्– ‘त्यसपछि के हुन्छ ?’
एमाले युवानेतृ उषाकिरण तिम्सेनाले हालको एमाले नेतृत्वलाई राणा र पञ्चहरूको संज्ञा दिएकी छन् । ‘हिजो पनि थिए राणाशाहीहरू, पञ्चहरू, जो फरमान लाउँथे, आदेश दिन्थे । र, आज पनि छन् ठ्याक्कै पञ्चहरूजस्तै र छन्,’ तिम्सेनाले बुधबार सामाजिक सञ्जालमा लेखेकी छन्– ‘आदेश तामेली गर्नेहरू ।’ विद्रोह र क्रान्ति कसैले रोकेर नरोकिने चेतावनी एमालेकै नेतृत्वलाई दिँदै तिम्सेनाले एमाले ‘पुनर्गठन’ को पक्षपोषण गर्दै आएकी छन् ।
यस्तै, एमालेकी पूर्वकेन्द्रीय सदस्य नविना लामाले पनि २१औं शताब्दीमा कुनै पनि राजनीतिक व्यक्तिलाई बोल्न प्रतिबन्ध लगाउँछु भनेर कसैले नसोचे हुने बताएकी छन् । ‘पार्टीमा बोल्न र प्रश्न गर्न बन्देज लगाएर पार्टी चल्दैन,’ उनले थपेकी छन्– ‘पार्टीमा अनुशासनका नाममा कुनै पनि किसिमको डिक्टेटरसिप लागू हुन सक्दैन । हामी पार्टीको नीति–सिद्धान्तविरुद्ध जाँदैनौ तर व्यक्तिले गरेका गलत कुराको हिजोदेखि नै प्रश्न गर्दै आएका छौं । के बोल्नु हुन्छ र के बोल्नु हुँदैन भन्ने थाहा छ त्यसैले अब पनि प्रश्न गर्नबाट रोकिँदैनौ ।’
अर्का नेता कर्ण थापाले अनुशासनको कारबाहीका नाममा पार्टीमा तर्साउन खोजिएको टिप्पणी गरेका छन् । ‘पार्टी अनुशासन कायम हुनुपर्छ तर त्यो एउटालाई मात्र होइन, सवैमा बराबर लागू हुनुपर्छ,’ उनले भनेका छन्– ‘अनुशासनको डन्डा चलाएर वा तर्साएर मात्र हुँदैन, पार्टी बन्दैन ।’
अध्यक्ष ओली आफू सच्चिनुको साटो अझै म जे पनि गर्न सक्छु भन्ने देखाउन प्रयासरत रहेको भन्दै एमालेका एक पदाधिकारीले भने– ‘अध्यक्षले अझै म शक्तिशाली छु भनेर देखाउन अपानिमा अनुशासनसम्बन्धी कडा प्रावधान राखिएको हो । यसले पार्टीमा स्वस्थ आलोचना हुन छाड्छ, कमजोरी ढाकछोप हुन्छ र जनताले हेर्ने दृष्टिकोणमा गलत छाप पर्न सक्छ ।’ ओलीले योग्यतम र सक्षम व्यक्तिहरूलाई समयमै उपयुक्त जिम्मेवारी नदिएर किनारा लगाउने काम गरिरहेको ती पदाधिकारीको भनाइ छ ।
‘विद्या भण्डारीकै सवालमा पनि उत्साह, जोस र जाँगर देखाएका बेला उनको सदस्यता खोसियो । जतिबेला उनको प्रभावकारी भूमिका हुन सक्थ्यो,’ ती पदाधिकारीले भने– ‘अब आफ्नो स्वार्थपूर्ति भइसकेपछि र विद्याको पनि प्रभावकारी भूमिका हुन नसक्ने देखेपछि पार्टीमा ल्याएका छन् ।’ कुनै पनि मानिसलाई कमजोर, ऊर्जाहीन र अर्थहीन बनाएर मात्र पदमा पु¥याउनुको अर्थ नरहने ती नेताको भनाइ छ । ‘समग्रमा भन्दा केपी ओलीले पार्टीलाई प्यारालाइसिस गर्दैछन्,’ पछिल्लो दृष्टान्त पेस गर्दै ती पदाधिकारीले भने– ‘केन्द्रीय कमिटीमा जितेका र हिजो स्थायी कमिटीमा भएकाहरूलाई आजको स्थायी कमिटीमा नल्याएर राजनीतिबाट बिदा हुन्छु भनेर गएका मानिसहरूलाई ल्याइएको छ ।’
असोज ८ गते सम्पन्न केन्द्रीय कमिटीमार्फत ७ जना नेताहरूलाई स्थायी कमिटीमा मनोनीत गरिएको थियो । ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, काशीनाथ अधिकारी, शिवमाया तुम्बाहाम्फे, थममाया थापा, देवराज घिमिरे र लालबाबु पण्डितलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरिए पनि पोखरेल र ज्ञवाली बाहेकका नेताहरूले एमालेलाई ऊर्जा भर्न नसक्ने नेताहरूको भनाइ छ । ‘ईश्वर र ज्ञवालीसम्म ठिकै हो तर स्थायी कमिटीमा ल्याइएका अरू मानिसहरूबाट के अपेक्षा गर्ने ?’ ती नेताले भने– ‘दिनरात पार्टी बनाउन सक्रिय भूमिका निर्वाह गर्दै आएका तथा जोसजाँगर भएकालाई पन्छाउनु भनेको पार्टीको गति शिथिल बनाउनु हो ।’
एमाले केन्द्रीय सदस्य महेश बर्तौला पार्टीमा अनुशासन आवश्यक रहेको भन्दै पार्टीमा प्रश्न र आलोचना नै गर्न नपाउने भनेर गरिएको प्रचारमा सत्यता नरहेको बताए । ‘अपानि–३ लाई लिएर जे–जस्ता टिप्पणी भइरहेका छन् ती स्वस्थ छैनन्’ उनको भनाइ थियो ‘नेतृत्व ठिक वा बेठिक भन्ने बहस महाधिवेशनमा हुन्छ । तर हरेक दिन, हरेक भेला बैठकमा नेतृत्वको आलोचना गर्दा पार्टी कमजोर हुन्छ र आम कार्यकर्ता दुविधामा रहिरहनु हुँदैन भनिएको हो ।’
बर्तौलाले एमाले जनवादको कार्यनीतिलाई स्वीकार गरेको पार्टी भएको भन्दै एउटा लोकतान्त्रिक पार्टीमा उपयुक्त फोरम र समयमा प्रश्न गर्न पाइने बताए । ‘प्रश्न र आलोचना गर्न नै नपाइने भन्ने होइन । पाइन्छ तर त्यसको निश्चित विधि, पद्धति र प्रणाली छ त्यसैभित्र रहेर जति पनि बहस र प्रश्न गर्न छुट छ ।’
यसअघि असोज ८ गते सम्पन्न एमाले केन्द्रीय कमिटीले गरेको पार्टी अनुशासनसँग सम्बन्धित निर्णय उदृत गर्दै अध्यक्ष केपी शर्मा ओलीले सोमबार जारी गरेको अपानि–३ ‘स्वेच्छाचारी तथा अनुशासनहीन गतिविधि’ रोक्न भन्दै आलोचकलाई बोल्नै प्रतिबन्ध लगाइएको छ ।
‘अनुशासन पुनस्र्थापनाका लागि कटअफ बैठकले अध्यक्ष कमरेडको प्रस्ताव बमोजिम पार्टीमा हुर्किंदै गएको स्वेच्छाचारिता, अराजकता र अनुशासनहीनता अन्त्य गरी एकताबद्ध र सुदृढ पार्टी निर्माण गर्न निम्नअनुसारको निर्णय गरेको छ’ केन्द्रीय कमिटीले पारित गरेको निर्णय उदृत गर्दै पार्टी पंक्तिलाई पठाइएको अपानिमा उल्लेख गरिएको छ ‘पार्टीको नीति, निर्णय र नेतृत्वको विरुद्ध सार्वजनिक रूपमा आलोचना वा विरोध गर्ने, स्वेच्छाचारी, अराजक वा अनुशासनहीन क्रियाकलाप गर्ने वा गुटबन्दी गर्ने प्रवृत्तिमा पूर्ण रूपमा रोक लगाउने र पार्टीमा अनुशासन पुनर्स्थापित गर्नेर ।’
‘आजसम्म जो–जसले जे–जे बोल्नुभयो वा जेसुकै गर्नुभयो, आजसम्मको छोडिदिनेर । केन्द्रीय कमिटीको चालु बैठकलाई कटअफ बैठक मान्ने’ भनिएको छ । बैठकको निर्णयपछि पनि पार्टीको नीति, निर्णय र नेतृत्वविरुद्ध सार्वजनिक आलोचना, विरोध, निन्दा वा अपमान गर्ने तथा अनुशासनहीन गतिविधि गर्नेलाई कारबाही गर्ने अपानीमा उल्लेख छ । ‘अब उप्रान्त कसैले पार्टीको नीति, निर्णय र नेतृत्वविरुद्ध सार्वजनिक रूपमा आलोचना, विरोध, निन्दा, अपमान गरेमा वा गुटबन्दी गरेमा वा अराजक तथा अनुशासनहीन क्रियाकलाप गरेमा स्पष्टीकरण सोध्ने र कारबाही गर्ने,’ एमालेले भनेको छ– ‘त्यस्तो क्रियाकलाप गरेको पाइएमा कारबाहीको विषय बनाउने र कारबाही गर्ने अधिकार केन्द्रीय कमिटीले संगठन विभागलाई दिने ।’
केन्द्रीय समितिको निर्णय अनुसार एमालेले मंगलबार जारी गरेको अन्तरपार्टी निर्देशन–३ मा अध्यक्ष केपी शर्मा ओलीपछि दोस्रो स्थानमा रहने गरी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई जिम्मेवारी दिइएको पनि उल्लेख छ ।
–जनजिब्राेबाट ।







