newskoseli.Com

बस्नेत भन्छन्– ‘प्रधानमन्त्री ओली युगपुरूष’

केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार विस्थापित भएर नयाँ सरकार गठन हुनै लाग्दा एक पूर्वमन्त्रीले भने ओलीलार्इ युगपुरूषको संज्ञा दिएका छन् । ओलीको कार्यकालमा भएका सकारात्मक–नकारात्मक काम–व्यवहारबारे समाजमा हिसाबकिताव, समर्थन–आलोचना र टीकाटिप्पणी चलिरहेका बेला विगतदेखि नै ओलीनिकट भनेर चिनिएका पूर्वमन्त्री एवम् एमाले नेताले ओलीलार्इ युगपुरूषको संज्ञा दिएका हुन् ।
शनिबार युवासङ्घ भक्तपुर नगर कमिटीले आयोजना गरेको बृहत् युवा भेला एवम् युवा पार्टी प्रवेश तथा सम्मान कार्यक्रममा बोल्दै पूर्व उद्योगमन्त्री महेश बस्नेतले जनताको नजरमा प्रधानमन्त्री ओली युगपुरुष भएको दावी गरेका हुन् ।

प्रधानमन्त्री ओलीले सरकार छाड्ने बेलासम्म पनि नेपालको राष्ट्रियतालाई विदेशीसामु झुक्न नदिएको र छोटो अवधिमा पनि जनताको पक्षमा कार्यक्रम ल्याएको भन्दै बस्नेतले ओलीलार्इ युगपुरुषको सङ्ज्ञा दिएका हुन् ।

बस्नेतले भने–“भारतीय नाकाबन्दीको सामना गर्दैै आम नागरिकको मनमनमा राष्ट्रियताको भावना जागृत गराउने वर्तमान सरकारले जनमुखी बजेट र कार्यक्रम ल्याउँदै चीनसँगको उपलब्धिमूलक सम्झौता गर्न सफल भएकाले त्यस्ताे सरकारकाे नेतृत्व गर्ने व्यक्ति प्रधानमन्त्री ओली अहिलेका युगपुरुष हुन् ।”

निर्वाचन र संविधान कार्यान्वयनमा अग्रसरता लिएको ओली नेतृत्वकाे सरकार छाडेर अविश्वास प्रस्ताव दर्ता गर्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई इतिहासले माफ नगर्ने दावी बस्नेतले गरे ।

उनले भने– “माओवादीप्रतिको जनताको झिनो विश्वास पनि अब चुँडिएको छ, अबको निर्वाचनमा जनताले त्यसलाई सावित गरिदिनेछन् ।” मनमोहन अधिकारीको ९ महिने शासनकाललाई जनताले आजसम्म पनि स्मरण गरेको चर्चा गर्दै बस्नेतले ओली नेतृत्वकाे सरकारलाई पनि आम नागरिकले कहिल्यै नभुल्ने उनको जिकिर थियो ।

कार्यक्रममा बस्नेतले अमेरिकी गृहमन्त्रालयले यस वर्षको मानव बेचबिखनविरुद्धको वर्ष हिरो घोषित गर्दै हालै प्रदान गरेको पुरस्कार प्राप्त गरेर देशकै नाम उच्च राखेको भन्दै महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक किरण बज्राचार्यलाई ताम्रपत्र प्रदान गरी सम्मान गरे ।

त्यस अवसरमा युवा सङ्घ केन्द्रीय उपाध्यक्ष रमेश पौडेल, महासचिव किरण पौडेल, एमाले भक्तपुर जिल्ला अध्यक्ष बच्चन देउजालगायतले एमालेले अब आगामी निर्वाचनलाई लक्षित गरेर देशव्यापी कार्यक्रम अगाडि बढाउनुपर्नेमा जोड दिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर