newskoseli.Com

नेविसङ्घमा ३२ वर्षे उमेर हद !

संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी सङ्घमा निर्वाचित हुन चाहनेका लागि ३२ वर्षे उमेर हद लागू हुने भएको छ ।

सङ्घको ११औं महाधिवेशन निर्धारित समयमै सम्पन्न गर्न समन्वयका लागि पार्टीले गठन गरेको निर्देशक समितिले सङ्घमा ३२ वर्षको उमेरको हद लागू हुनेगरी विधानको टुङ्गो लगाएको हो ।

यद्यपि उक्त प्रावधान १२औं महाधिवेशनबाट मात्र लागू हुनेछ । नेविसङ्घको ११औं महाधिवेशन साउन २३ देखि २५ सम्म राजधानीमा हुँदैछ । सङ्घमा अब १ व्यक्ति १ पदको अवधारणा अनिवार्य रुपमा लागू हुनेछ । कुनै १ पदमा बहाल रहेको व्यक्तिले अर्काे पदमा उम्मेदवारी दर्ता गरे उसको तल्लो तहको पद स्वतः खारेज हुने प्रवक्ता युपी लामिछानेले जानकारी दिए ।

अब सङ्घको केन्द्रीय समिति १ सय ५१ सदस्यीय हुनेछ, जसअनुसार १ अध्यक्ष, ७ प्रदेशबाट १–१ जनागरी ७, समावेशी ४ र २ मनोनीत गरी १३ उपाध्यक्ष रहने छन् । २ निर्वाचित महामन्त्री र १ मनोनीत गरी ३ महामन्त्री हुनेछन् । ७ प्रदेशबाट १–१ गरी ७, उपत्यका १, पिछडिएको क्षेत्र १, ४ समावेशी र ३ मनोनीत गरी १६ सहमहामन्त्री रहने व्यवस्था गरिएको प्रवक्ता लामिछानेले बताए । १ निर्वाचित कोषाध्यक्ष र बाँकी सदस्य रहनेछन् ।

सङ्घको २ वर्षभित्र अधिवेशन नगरे ३ महिनामा स्वतः केन्द्रीय समिति भङ्ग हुनेगरी पार्टीको निर्देशक समितिले विधानको टुङ्गो लगाएको छ । एघारौं महाधिवेशनमा उम्मेदवारी दर्ता गरेपछि हाल रहेको केन्द्रीय समितिको पद पनि स्वतः खारेज हुनेछ ।

सङ्घको अध्यक्षमा हालसम्म जितजङ्ग बस्नेत, मनोजमणि आचार्य, नैनसिंह महर, क्षितिज भण्डारी, दीपक भट्टराई, विनिता अधिकारी, नीलकण्ठ रिजाल, आनन्दराज त्रिपाठी, कुन्दनराज काफ्ले, शुभराम बस्नेतलगायतले उम्मेदवारी घोषणा गरिसकेका छन् । अन्य केही नेताहरू घोषणा गर्ने क्रममा छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर