newskoseli.Com

बुधबार मात्रै सुरू हुने भो नेविसङ्घको बन्दसत्र

नेपाल कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको ११आैं महाधिवेशनको बन्दसत्र बुधबार मात्रै सुरू हुने भएको छ । महाधिवेशन प्रतिनिधि विवादका कारण निर्धारित समयमा हुन नसकी स्थगित हुँदै आएको नेविसङ्घको महाधिवेशनको बन्द सत्र बुधबार दिउँसो १२ बजेपछि हुने अध्यक्ष रन्जित कर्णले जानकारी दिए ।

सङ्घको महाधिवेशन उद्घाटन साउन २३ गते भए पनि निर्धारित समयमा बन्दसत्र हुन नसक्दा मुलुकभरबाट आएका हजारौं विद्यार्थी नेता कार्यकर्ता निर्वाचन हुने–नहुने भन्ने अन्यौलमा देखिन्छन् ।

सङ्घको महाधिवेशन सम्पन्न गर्न पार्टीले गठन गरेको निर्देशन समितिले मंगलबार रातभरिमा विवादित जिल्लाका महाधिवेशन प्रतिनिधिको विवाद टुङ्गो लगाई भोलि बन्दसत्र गर्ने तयारीका साथ काम गरिरहेको जनाएको छ ।

प्रतिनिधि विवादित ११ जिल्लामध्ये आधाभन्दा बढी जिल्लाको विवाद मिलिसकेको र बाँकी पनि समाधानउन्मुख रहेको समिति सदस्य गुरुराज घिमिरेले जानकारी दिए ।

पार्टीले नेविसङ्घको महाधिवेशन निर्धारित समयमै सम्पन्न गर्न नेता डा. प्रकाशशरण महतको संयोजकत्वमा गोविन्द भट्टराई, गुरुराज घिमिरे, किशोरसिंह राठौर र प्रदीप पौडेल सदस्य रहेको निर्देशन समिति गठन गरेको थियो ।

समयमा महाधिवेशन प्रतिनिधिको विवाद टुङ्गोमा नपुग्दा यही साउन २३ देखि २५ गतेसम्म निर्धारित महाधिवेशन लम्बिने निश्चित भएको छ । महाधिवेशनका लागि सङ्घले भृकुटीमण्डप हलको भाडा तीन दिनसम्म मात्र बुकिङ गरेको थियो ।

महाधिवेशन लम्बिँदा दैनिक ४० लाख रूपैयाँ खर्चको भार थपिएको प्रवक्ता युपी लामिछानेले बताए । सङ्घमा करिब ३ हजार ४ सय महाधिवेशन प्रतिनिधि रहने अनुमान गरिएको छ ।

समयमै बन्दसत्र हुनुपर्ने माग गर्दै मंगलबार दिनभरि नै महाधिवेशनस्थल भृकृटीमण्डपमा विद्यार्थीले नाराबाजी गरेका थिए । ‘समृद्ध राष्ट्र निर्माणका लागि संविधान कार्यान्वयन, गुणस्तरीय र सर्वसुलभ शिक्षाका लागि ११औं महाधिवेशन’ भन्ने नाराका साथ नेविसङ्घको महाधिवेशन जारी रहेकाे छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर