लगातार वर्षा भएसँगै बैतडीमा भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढ्दै गएको छ । जिल्ला अस्पताल, पाटन प्राथमिक स्वास्थ्य केन्द्र र मेलौली प्राथमिक स्वास्थ्य केन्द्रमा बिरामीको सङ्ख्या बढेका हुन् ।
जिल्ला अस्पताल बैतडीमा आजभोलि दिनहँुजसो सयभन्दा बढी भाइरल ज्वरोका बिरामी आउने गरेको अस्पतालका डा. विदुर भण्डारीले जानकारी दिए । विगतको भन्दा भाइरल ज्वरोका बिरामीको सङ्ख्यामा वृद्धि भएको जनाइएको छ । बर्खायाममा पानीका मुहानमा फोहोर पानी मिसिने भएकाले खानेपानीबाट बढी रोग फैलिने गरेको डा. भण्डारीले बताए ।
पाटन नगरपालिकामा भाइरल ज्वरोका बिरामीको सङ्ख्या गएको एक हप्तायता प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा उपचारका लागि दिनहुँ ६० भन्दा बढी भाइरल ज्वरोका बिरामी आउने गरेको डा. शशी कँडेलले जानकारी दिए । उनले भने— “मौसम परिवर्तन भएसँगै भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढेको हो ।”
पाटन नगरपालिका र आसपासका गाविसका बिरामी पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि आउने गरेको उनले बताए । मेलौली प्राथमिक स्वास्थ्य केन्द्रमा पनि आजभोलि दैनिक ८० जना भाइरल ज्वरोका बिरामी आउने गरेका अनमी मीना अधिकारीले जानकारी दिइन् ।
भाइरल ज्वरो भएका बिरामीले प्रशस्त मात्रामा पानी पिउनुपर्ने, आराम गर्नुपर्ने, झोलिलो खानेकुरा खानुपर्ने र सरसफाइमा ध्यान दिनुपर्नेमा स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।