newskoseli.Com

भागबन्डाको संस्कृति देउवालाई पर्‍यो भारी

नेपाली कांग्रेसभित्र मन्त्रीको भागबण्डालाई लिएर बढेको असन्तुष्टि तोड्न सभापति देउवालाई हम्मेहम्मे परेको छ । देउवालाई पार्टीभित्रको समीकरण मिलाउन गाह्रो भएकैले सरकार बनेको २ साता बित्न लाग्दा पनि मन्त्रीमण्डलले पूर्णता पाउन सकेको छैन ।

पार्टीभित्र नेता रामचन्द्र पौडेल खेमाका नेताहरु सरकार निर्माण र मन्त्री छनौटमा देउवाले आफूखुशी निर्णय गरिरहेको भन्दै असन्तुष्टि जनाइरहेका छन् ।

तेस्रो धारको नेतृत्व गरिरहेका कृष्णप्रसाद सिटौला समूहलाई साथमा लिएर सुरुमा पौडेल समूहसंग सल्लाह गर्नुपर्ने आवश्यकता नै नठानेका सभापति देउवा अहिले भने केही नरम बनेको संकेत गरिरहेका छन् ।

केही दिनअघि सम्पन्न भएको नेविसंघको निर्वाचनपछि देउवाले तत्कालिन संस्थापन पक्षबाट चोइटिएर गएको सिटौला समूहलाई तेस्रो धारको वैद्यता दिएपछि पौडेल समूह थप आक्रोसित छ ।

त्यसैले अरुलाई मिलाउने नाममा पौडेल समूहलाई दुई वा तीन मन्त्रालयमा सिमित गर्न सकिन्छ कि भनेर उपयुक्र समय पर्खिरहेका देउवा पौडेल समूहले भने जति मन्त्रालय नपाएमा सरकारमा एउटा पनि नेता नपठाउने निष्कर्षमा पुगेपछि केही नरम भएको बताइन्छ ।

भागबन्डाको राजनीतिलाई संस्थागत गर्न लामो समयसम्म पार्टीभित्रै प्रतिपक्षिको भूमिका निर्वाह गरेका देउवा अहिले माग्ने नभई दिने ठाउँमा छन् । तर, विगतमा देउवाले अख्तियार गरेको रणनीति अहिले पौडेल पक्षले समेत पछ्याउन खोजेको छ ।

‘पहिले ६०/४० को संस्कृति स्थापना गरेका व्यक्तिले अहिले त्यसलाई लत्याउनु ठिक होइन’ पौडेल निकट नेताहरु भन्छन्—‘गठबन्धन र सरकार निर्माणमा सुरुदेखि गुटकै मानसिकताले हामीसंग सल्लाह नगर्ने तर अहिले योग्यतानुसार भूमिका दिनुप¥यो भन्दा हामीलाई नै भागबन्डा खोजेको भन्नु हाँस्यास्पद हो ।’

‘पार्टी एकतापछि सानातिना ठाउँमा पनि भाग चाहियो भनेर तत्कालिन निर्वाचित सभापतिलाई असहयोग गरेको कुरा कसैले बिर्सेका छैनन्’ बुधबार पौडेल समूहको भेलापछि एक नेताले न्यूज कासेलीलाई भने—‘हामीले हिजोको रिस साध्ने भन्दा पनि योग्य नेताहरुको अवमूल्यन हुनुभएन भनिरहेका छौं, आफूलाई मत नदिने सबैलाई अविश्वास गर्नु पार्टी हित विपरित छ ।’

०५९ मा फूटेको पार्टी एकतापछि देउवाले पटक पटक हारे पनि पार्टीमा भाग खोजिरहे । अहिले देउवा सभापति भए पनि उनको कार्यसमितिमा पौडेल पक्षबाट निर्वाचित महामन्त्री र कोषाध्यक्ष छन् ।

तर, देउवा गलाउने र मनाउने मनस्थितिमा भएको भन्दै पौडेल समूह शसंकित छ । अपमान नसहने बरु सरकारमै नजाने भन्दै सो समूहले बुधबार कडा निर्णय गर्दै पार्टी सभापतिलाई समेत जानकारी दिइसकेको छ । हिजो आफैंले बनाएको भागबण्डाको संस्कृति अहिले देउवालाई भारी परेको टिप्पणी हुन थालेको छ ।

स्रोतका अनुसार पौडेल समूह आक्रामक रुपमा प्रस्तुत भएपछि देउवाले भागबन्डामा सहमति जनाउने प्रयास गरिरहेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर