newskoseli.Com

संविधान दिवसमा नयाँ शक्तिको शुभकामना

नयाँ सविधानले ‘खच्चड संसदीय व्यवस्था’ स्थापित गरेको भन्दै संसदीय प्रणाली फेर्न माग गर्दै आएका डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिले संविधान दिवसका अवसरमा सोमबार सबैमा शुभकामना प्रकट गरेको छ ।

नयाँ शक्तिका वरिष्ठ नेता एवं प्रवक्ता खिमलाल देवकोटाले सोमबार शुभकामना वक्तव्य प्रकाशित गर्दै भनेका छन्– ‘नयाँ संविधान निर्माण भई जारी भएको एक वर्ष पूरा भएको छ । यो अवधिमा एकाथरीले दीपावली मनाउने र अर्काथरीले कालो दिन मनाउने स्थिति आउनु सुखद् कुरा होइन । संविधान जारी गर्दाकै बखत अपुग भएका र संशोधन गर्ने बाचा गरिएका कुराहरु आजका दिनसम्म पनि पूरा गर्न नसक्दा यो स्थिति उत्पन्न भएको नयाँ शक्ति पार्टी, नेपाल ठान्दछ ।’

नेता देवकोटाले अगाडि उल्लेख गरेका छन्– ‘असन्तुष्ट मधेसी, थारु, महिला, दलित, जनजाति र मुस्लिमहरुको अधिकार स्थापित गर्ने र पहिचान र सामर्थ्यका आधारमा संघीय संरचना निर्माण गर्नेगरी संविधान संशोधनमार्फत संविधानलाई पूर्णता दिन र संविधानको स्वीकार्यता स्थापित गरी संविधान कार्यान्वयनमार्फत आर्थिक समृद्धिको चरणमा मुलुकलाई अगाडि बढाउनका निम्ति नयाँ शक्ति पार्टी, नेपाल आग्रह गर्दछ ।’

Naya_Shakti_Logoसंविधान संशोधन र कार्यान्वयनमा जोड दिँदै देवकोटाले भनेका छन्– ‘जनताको स्वीकार्यताबिना संविधान कार्यान्वयन सम्भव छैन भन्ने कुरामा गम्भीरतापूर्वक ध्यानाकर्षण गराउँदै छिटोभन्दा छिटो संविधान संशोधन गरी जनताका अधिकार स्थापित गर्न माग गर्दछौं ।’

विज्ञप्तिको अन्त्यमा लेखिएको छ– ‘ऐतिहासिक संविधानसभाबाट संविधान जारी भएको प्रथम वार्षिकोत्सवको अवसरमा सबैलाई आ(आफ्नो दलगत, समूहगत र व्यक्तिगत संकीर्णताभन्दा माथि उठेर राष्ट्रिय एकता कायम गर्दै समृद्ध नयाँ नेपाल निर्माण गर्ने प्रेरणा र शक्ति प्राप्त होओस् भन्दै नयाँ शक्ति पार्टी, नेपाल हार्दिक शुभकामना व्यक्त गर्दछ ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर