newskoseli.Com

राजनीतिक सङ्क्रमणकाल बढ्यो : अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकार परिवर्तनका कारण राजनीतिक सङ्क्रमणकाल बढेको बताएका छन् । एमाले प्रदेश नं ३ को प्रथम बैठकको साेमबार ललितपुरमा उद्घाटन गर्दै उनले सङ्क्रमणकाल बढेकाले राजनीतिक परिवर्तन सरल तरिकाले टुङ्गोमा पुर्याउन जटिलता थपिएको बताए ।

“संविधान जारी गरेपछि हामी राजनीतिक सङ्क्रमणकालको अन्तिममा थियौं”–पूर्वप्रधानमन्त्री ओलीले भने– “तर संविधान पूर्ण रुपमा कार्यान्वयन नभएकाले राजनीतिक परिवर्तन जटिल मोडमा पुगेको छ । सङ्क्रमणकाल सहज ढङ्गले जाने स्थिति छैन ।”

उनले कार्यकारी पदमा नभए पनि अहिलेको सङ्क्रमणकाललाई टुङ्ग्याउने जिम्मा एमालेकै हाे भन्दै २०७४ माघ ७ भित्र स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन सक्नुपर्ने बताए । छिमेकीसँगको नीतिमा केही समस्या आए पनि अन्तर्राष्ट्रिय नीतिमा केही फरक नपरेको उनले जिकिर गरे ।

उनले देश गम्भीर अवस्थामा पुगे पनि नेपाली कांग्रेसले चुप लागेर सत्ताको मुख ताकेको आरोप लगाए । “देशमा अशान्ति छ तर कांग्रेस एकाग्रह बनेको छ, केही बोल्दैन” उनले भने– “कांग्रेसको अर्जुनदृष्टि सत्तामा पुगेको छ, देशका बारेमा गम्भीर छैन ।”

नेता ओलीले आफूहरु हिमाल, पहाड र तराईका समस्या समाधान गर्न लडेको तर पनि आदिवासी जनजाति र मधेसीविरोधीको आरोप लगाइएकामा आक्रोश व्यक्त गर्दै त्यसलाई खण्डन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा एमालेका वरिष्ठ नेता झलनाथ खनालले लोकतान्त्रिक मूल्य–मान्यताका हिसाबले विश्वका अग्रगामी संविधानभित्र नेपालको संविधान पर्ने बताउँदै सबै जातजाति र भाषाभाषीका अधिकार स्थापित गर्ने समाजवादउन्मूख संविधान भएको जिकिर गरे । पूर्वप्रधानमन्त्री खनालले संविधान चाँडै घोषणा गर्नुपर्ने भएकाले एमालेले प्रत्यक्ष निर्वाचित कार्यकारीको अडान छाडेको उल्लेख गर्दै तर त्यसलाई पुनर्विचार गर्नुपर्ने आवश्यकता रहेको आैंल्याए ।

खनालले भने– “ तोकिएको समयमा ३ तहका निर्वाचन गरेर राजनीतिक सङ्क्रमणकाल अन्त्य गर्नुपर्छ ।” उनले पार्टी गुट र समूहगत भावनाले ग्रस्त भएकाले त्यसलाई अन्त्य गर्नुपर्नेमा जोड दिए । एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सार्वभौमिकता, राष्ट्रियता र स्वतन्त्रतामाथि हस्तक्षेप हुने खालका गतिविधि बढेकाले खबरदारी गर्नुपर्ने आवश्यकता औंल्याइन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर