newskoseli.Com

बोतल र जारको पानीमा हैजाका किटाणु…

‘जारको पानी पिउन योग्य हुन्छ’ भनी ढुक्कसँग नपिउनुहोला, जारमा भरिएका अधिकांश पानी पिउन योग्य छैनन् । पिउन अयोग्य मात्र होइन, कतिपय जार र बोतलका पानीमा हैजा र झाडापखालाका किटाणु समेत भेटिएका छन् ।

बोतल तथा जार एसोसिएसनका अध्यक्ष सुवास भण्डारीका अनुसार अहिले काठमाडौं उपत्यकाभित्र १ लाख २० हजार जार र २ लाख बोतलका पानी दैनिक खपत भइरहेका छन् । हैजा नियन्त्रणबारे गुथी संस्थाद्वारा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका उपनिर्देशक डा. गुणनिधि शर्माले यस पटक उपत्यकामा देखिएका अधिकांश हैजा असुरक्षित पानीका कारण भएको बताए ।

काठमाडाैं, ललितपुर, भक्तपुर र धादिङमा असार, साउन र भदौमा यस पटक १ सय ४५ जनामा हैजाको किटाणु भेटिएको थियो । तीमध्ये २४ प्रतिशत विद्यालयका बालबालिका थिए । सबैभन्दा बढी निर्माण कामदारमा हैजा देखिएको डा. शर्माले जानकारी दिए ।

अहिले उपत्यकाको जनसङ्ख्या ४० लाखको हारहारीमा पुगिसकेको बताइन्छ । “खाने कुरा र सरसफाइ भन्दा पानीकै कारण उपत्यकामा हैजाका बिरामी भेटियो । हैजाका बिरामीमध्ये अधिकांशले धाराको पानी र जारका पानी सिधै पिउनाले हैजाबाट सङ्क्रमित भए” उनले भने ।

डा. शर्माले कम्पनीले पिउन योग्य भनी सिलछाप गरेका जार र बोतलका पानीको परीक्षण गर्दा ५० प्रतिशत जारका पानी पिउन अयोग्य भेटिएको जानकारी दिए । पानी उपभोक्ताले प्रयोग गर्नुपूर्व स्वयम् पानी उत्पादन गर्ने कम्पनी, गुणनियन्त्रण विभाग र स्वास्थ्य सेवा विभागले गुणस्तरका बारेमा परीक्षण गर्नुपर्ने प्रावधान रहिआएको छ ।

यस पटक उपत्यकाभित्र काठमाडौंको बाफल क्षेत्रमा सर्वप्रथम हैजाको सङ्क्रमण देखिएको थियो । यसपछि काठमाडाैंका डल्लु, सामाखुसी, डाँछी, त्रिपुरेश्वर, सुन्धारा, थानकोट तथा ललितपुरका गोदावरी, लगनखेल, बालकुमारी, थैव, ठेचो, भैंसेपाटी र धापाखेलमा यसका बिरामी भेटिएका थिए ।

कार्यक्रममा काठमाडौं उपत्यका खानेपानी लिमिटेडका गुणस्तर शाखा प्रमुख ज्ञानेन्द्र कार्कीले ट्यांकरका तुलनामा जारको पानीको गुणस्तर हुने भए पनि सिधै पिउन योग्य नहुने बताए । उनले पानी व्यवसायीले बोतलको पानीमा जस्तै जारको पानीको गुणस्तरमा ध्यान दिन आग्रह गरे ।

खानेपानी तथा ढल निकास विभागका पानी गुणस्तर शाखाका प्रमुख नारायणप्रसाद खनालले खानेपानी सुरक्षा योजनालाई प्रभावकारी कार्यान्वयन गर्दै उपभोक्तालाई जलजन्य रोगका बारेमा जनचेतना जगाउनु आवश्यक भएको बताए ।

विश्व स्वास्थ्य सङ्गठनमा पानीको गुणस्तरमा कार्यरत विज्ञ डा. सुदन पन्थीले जारको पानी ढुक्कसित पिउन सक्ने अवस्था नरहेको आफ्नो अध्ययनले समेत पुष्टि गरेको जानकारी दिए ।

ट्यांकर व्यवसायी विष्णु दाहाल, उपेन्द्र पाठक तथा अध्यक्ष भण्डारीले पानीकै कारणै उपत्यकामा हैजाको सङ्क्रमण नदेखिएको दावी गर्दै तरकारी तथा अन्य खाद्य पदार्थका कारण हैजा देखिएको जिकिर गरे । उनीहरुले ५० प्रतिशत जारका पानी पिउन अयोग्य नभएको समेत बताए ।

गुथीका संयोजक प्रकाश अमात्यले हैजा सङ्क्रमण हुन नदिन तथा रोग नै देखा पर्न नदिन पानी व्यवसायी, सरकार तथा उपभोक्ताले एकले अर्कालाई दोषारोपण गर्नुभन्दा सहकार्य गर्नु आवश्यक रहेकामा जोड दिए ।

कार्यक्रममा ललितपुरका जनस्वास्थ्य अधिकृत झलक पौडेल तथा एन्फोका कार्यकारी निर्देशक विपीन डङ्गोलले पानी शुद्धीकरणका विधि र प्रक्रियाका बारेमा सचेतनाका कार्यक्रम आवश्यक रहेकामा जोड दिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर