newskoseli.Com

दसैंमा खसी र च्याङ्ग्रा कहाँबाट, कति आउँदैछन् ?

आर्थिक वर्ष ०६७–६८ मा करिव २ सय ३५ खसीबोका मरेपछि खाद्य संस्थानलाई ३५ लाख घाटा भयो । त्यसयता मुनाफा गर्न नसके पनि घाटा नहोस् भन्ने सोचिरहेको संस्थानको त्यो सपना अहिलेसम्म पूरा हुन सकेको छैन ।

त्यसो हुँदाहुँदै पनि यसपालिको दसैंमा संस्थानले १ हजार ५ सय च्याङ्ग्रा र १ हजार ५ सय खसी ल्याएर बिक्री गर्ने तयारी गरेको छ । यीमध्ये ६ सय ७५ लहानबाट, ६ सय २५ हेटौंडाबाट र २ सय तुल्सीपुर (दाङ) बाट ल्याउने भएको छ । सबै च्याङ्ग्रा मुस्ताङबाट आउने भएका छन् ।

बितेका ६ वर्षमा प्रत्येक वर्ष संस्थानले ५ देखि २० लाखसम्म घाटा व्यहोर्नु परिरहेको छ । संस्थानका सूचना अधिकारी पवनकुमार कार्कीले सधैंजसो घाटा खाएर व्यापार गर्नुपरेको बताए ।

गएका ३ आर्थिक वर्षको तथ्यांक हेर्दा संस्थानले लगातार घाटा व्यहोर्नुपरेको छ । आर्थिक वर्ष ०७०–७१ मा २ हजार ८ सय २९ खसीबोका खरिद गरेकामा करिव ५ लाख घाटा भएको थियो ।

आर्थिक वर्ष ०७१–७२ मा ३ करोडका ५ सय ८८ ओटा खसीबोका खरिद गरेकामा करिव २० लाख घाटा भएको कार्कीको भनाइ छ । खसीबोकामा घाटा मात्र हुने भएपछि संस्थानले गत वर्षदेखि च्याङ्ग्राहरु समेत खरिद–बिक्री गर्न थालेको छ ।

‘सधैंजसो घाटा हुने भएपछि गत वर्षदेखि च्याङ्ग्रा समेत ल्याउन सुरु गरेका छौं’, कार्कीले भने– ‘त्यसले केही सहयोग पुगेको छ, गत वर्ष खरिद–बिक्रीको रकम करिवकरिव बराबरै भयो ।’

गत वर्ष संस्थानले ३ करोड १५ लाखका खसीबोका र च्याङ्ग्रा खरिद गरेको थियो । यसपालिको दसैंका लागि पनि संस्थानले ४ लाख ६७ हजारको लागतमा १ हजार ५ सय च्याङ्ग्रा र १ हजार ५ खसीबोका खरिद गर्ने लक्ष्य राखेको छ ।

यसपालिको दसैंका लागि संस्थानले च्याङ्ग्रा खरिद गरिसकेको छ र १४ गतेभित्र काठमाडौं आइपुग्ने सबै तयारी भइसकेको छ । खसीबोका भने बुधबार (१२ गते) देखि मात्रै खरिद गर्न सुरु गरिने संस्थानले जनाएको छ ।

संस्थानका सूचना अधिकारी कार्कीका अनुसार मौसम प्रतिकूल नभएमा यस वर्ष भने घाटा नहुने अपेक्षा संस्थानले गरेको छ ।

घाटा व्यहोरेर किन कारोबार गर्छ संस्थान ?

व्यापार नाफाकै लागि गर्ने हो तर नेपाल खाद्य संस्थानले खसीबोकामा लगातार लाखौं घाटा व्यहोर्दै आएको छ तापनि व्यापार गर्न छाडेको छैन ।

नेपाल सरकारको मातहतमा रहेको संस्थान हुनुका नाताले नाफा कमाउने भन्दा पनि उपभोक्तालाई सहुलियत मूल्यमा दसैंमा मासु उपलब्ध गराउने उद्देश्यका लागि यस्तो गर्नुपरेको दावी संस्थानको छ ।

खसीबोकामा हुने महँगी, व्यापारीहरु बीचको अस्वस्थ प्रतिस्पर्धा रोक्न र मूल्यमा एकरुपता एवं स्थिरीकरणका लागि घाटा खाएर पनि कारोबार गर्नुपरेको सूचना अधिकारी कार्कीको भनाइ छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर