newskoseli.Com

देशैभर चन्द माओवादीको थाल जुलुस, नेपाल बन्दको तयारी

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी) ले सोमबार देशभर थाल जुलुस प्रदर्शन गरेको छ । पार्टीको केन्द्रीय कार्यक्रम अनुसार नै सो पार्टीले देशव्यापी थाल जुलुस प्रदर्शन गरेको हो ।

राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवाल अत्यन्तै नाजुक भएको भन्दै माओवादीले तिनै मागहरू अघि सारेर संघर्ष गर्दै आएको छ । यसै क्रममा महँगी, भष्ट्राचार र कालोबजारीविरुद्ध चन्द माओवादी आन्दोलित छ ।

जनताका निम्ति अत्यावश्यक दैनिक उपभोग्य वस्तु तथा सेवाको चर्को मूल्यवृद्धिले जनतालार्इ आहत तुल्याएको भन्दै मूल्यवृद्धि घटाउन र गरिबको चुल्हो बल्ने स्थिति सिर्जना गर्न सो पार्टीले माग गरेको छ । सरकारी तथ्याङकअनुसार समेत २७.३ प्रतिशत अथवा ७७ लाख ८० हजार ५ सय नेपाली निरपेक्ष गरिबीको रेखामुनि भएकाले तिनको दैनिक आम्दानी ५२ रुपियाँ पनि नहुँदा १ किलो चामलको ५५ रूपैयाँ तिरेर कसरी चुलो बाल्छन् भन्दै माओवादीले राज्य सञ्चालकहरूसँग प्रश्न उठाएको छ ।

करिव ७८ लाख जनताको घरमा चुल्हो बल्ने स्थिति नरहेको जनाउँदै चन्द माओवादीले राज्यका कतिपय उपल्लो निकायहरुकै मिलेमतोमा कालोबजारीया र कमिसनखोरहरुले व्यापक मूल्यवृद्धि गरार्इ गरिबको बिल्लीबाठ पारेको आरोप लगाएको छ ।

मङ्सिरमा किसानसँग प्रतिकेजी १७ रुपैयाँका दरले धान किनेर तिनै जनतालार्इ ५५ रूपैयाँमा चामल किन्न बाध्य पारेर राज्यले किसानसहित सबै श्रमशील वर्गमाथि अत्याचार थोपरेको पनि माअाेवादीको आरोप छ ।

इन्डियन आयल निगमसँग प्रतिलिटर ४२ रुपैयाँ ६ पैसामा प्रेट्रोल खरिद गरी नेपालमा ९७ रुपैयाँमा बेच्ने, प्रतिलिटर ४१ रुपैयाँ ६४ पैसामा डिजल खरिद खरी ७३ रुपैयाँमा बेच्ने, प्रतिसिलिन्डर ८ सय ३० रुपैयाँ ९७ पैसामा ग्यास खरिद गरी १ हजार ३ सय २५ मा ब्रिकी गर्ने जस्ता क्रियाकलाप गरेर राज्यनियन्त्रित संस्थानबाटै जनता ठग्ने काम गरिएको माओवादीको दावी छ ।

जनताको आधारभूत जीविकासँग जोडिएका यी सामग्री राजश्व,ढुवानी र न्यूनतम कर मात्रै जोडेर जनतालार्इ उपलब्ध गराउन माग गर्दै माओवादीले कालाबजारिय र कमिसनखोरहरुले सरकारी संरक्षणमै यस्ता क्रियाकलाप गरिराखेको आरोप लगाएको छ ।

जनताको खाद्य सम्प्रभुता कायम गर्नुपर्ने मागका साथ चन्द माओवादीले केही महिनाअघि नै दैनिक उपभोग्य वस्तुको जारी मूल्यसूची र अब कायम गर्नुपर्ने मूल्यसूची सार्वजनिक गरेर देशभर सचेतना अभियान,अन्तर्क्रिया कार्यक्रम, मोटरसाइकल र्‍याली,चक्काजामदेखि नेपालबन्दसम्मका कार्यक्रमा घोषणा गरेको थियो ।

थप जानकारीका लागि याे पनि पढ्नुहाेस्–

के गर्दैछ विप्लव माओवादी ?

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर