ललितपुरको मङ्गलबजारमा एउटा सटरको मासिक भाडा कति पर्ला रु जो–कसैले अनुमान गर्न सक्छ– ५० हजार वा त्योभन्दा बढी । तर, राजधानीकै केन्द्रका रुपमा रहेको र पर्यटकको समेत चहलपहल हुने यो स्थानमा अधिकांश पसल कबलको भाडा मासिक २ सय रूपैयाँभन्दा कम छ भन्दा धेरैलार्इ विश्वास नलाग्न सक्छ ।
पाटन दरबार क्षेत्र र त्यस आसपासका विभिन्न सरकारी निकायको स्वामित्वमा रहेका कबलहरुको लामो समयदेखि भाडा समायोजन हुन सकेको छैन । भाडा समायोजन हुन नसकेकै कारण पुरातत्व विभाग, पाटन दरबार हेरचाह कार्यालय, ललितपुर उपमहानगरपालिका लगायतका सरकारी निकायको स्वामित्वमा रहेका पसल कबलहरु व्यापारीले २ सय रूपैयाँभन्दा कम भाडामा सञ्चालन गरिरहेका छन् ।
दरबार क्षेत्रमा मात्रै झन्डै १ सय वटा पसल कबल रहेका छन् । तीमध्ये झन्डै ४५ वटा पसल गुठी संस्थान ललितपुर शाखाको स्वामित्वका छन् । अधिकांश कबलको भाडा ५० रूपैयाँदेखि २ सय या २ सय ५० रूपैयाँसम्म रहेको कार्यालयका प्रमुख बैकुण्ठ आचार्यले बताए । उनी भन्छन्– “धेरै व्यापारीहरु त पुस्तौंदेखि त्यही भाडादरमा यहाँ व्यवसाय सञ्चालन गरिरहेका छन् ।”
भाडाका रुपमा थोरै रकम मात्रै तोकिए पनि त्यो समेत व्यवसायीले वर्षौंदेखि बुझाएका छैनन् । उनी भन्छन्– “विभिन्न कारण देखाएर त्यही कम भाडा समेत कार्यालयमा बुझाएका छैनन् ।” कार्यालयले मात्रै चाहेर भाडा बढाउन वा उठाउन नसक्ने उनी बताउँछन् ।
यस क्षेत्रका कतिपय कबलहरुको विगतमा स्वामित्व विवाद थियो । कतिपय व्यापारीले स्वामित्व विवादको कारण देखाएर भाडा बुझाउन आनाकानी गर्दै आएका छन् । स्वामित्व विवादपछि ती कार्यालयहरु अदालतसम्म पुगेका थिए । उनी भन्छन्– “व्यापारी आफैंले मुद्दा गर्दा पनि वर्षौंसम्म टुङ्गिँदैन ।”
यस क्षेत्रमा पुस्तौंदेखि व्यवसाय सञ्चालन गर्दै आएका कतिपय व्यापारीले गुठी संस्थानसँग मोहियानी हक माग्ने गरेका छन् । लामो समयदेखि आफूले मर्मत–सम्भारको काम गरेको भन्दै मोहियानीको माग गर्ने गरेका हुन् । केही वर्ष पहिले केही व्यापारीले मोहियानी हकको माग गर्दै गुठीमा निवेदन दिन गएका थिए । गुठीले निवेदन बुझ्न नमानेपछि उनीहरुले हुलाकमार्फत पठाएका थिए ।
गुठी संस्थानले पहिले मर्मत गरेर बस्न पत्र दिएको थियो । यही पत्रलाई आधार बनाएर उनीहरु पटक–पटक अदालत समेत पुगिरहेका छन् । अदालतले धेरै पटक अन्तरिम आदेश दिँदा पनि यो विषय अझै लम्बिरहेको छ ।
पाटन दरबार हेरचाह कार्यालयका प्रमुख काजी प्याकुरेलले अहिले कार्यालयको स्वामित्वमा एउटा मात्रै भवन भाडामा रहेको बताए । लामपाटीमा माथिल्लो तलामा क्याफे र तल्लो तलामा पाँच–छ वटा पसल छन् । क्याफेसँग भएको सम्झौता साउनमा सकिएको छ । अर्को पटकका लागि टेन्डर आह्वान गरिए पनि अहिले क्याफे सञ्चालक आफैंले सञ्चालन गर्न पाउनुपर्ने माग गरेर अदालत गएका छन् । उनले भने– “भूकम्पका समयमा ९ महिना चलाउन नपाएकाले ९ महिना थप्न भन्दै अदालतमा मुद्दा परेको छ ।”