राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा माघ ७ गते अपराह्न २ बजेदेखि हुने बालप्रतिभा प्रतियोगिताका लागि शनिबार नयाँबजारस्थित सम्राट पार्टी प्यालेस (गिनाेज) मा पहिलो अडिसन सम्पन्न भएको छ । अडिसनमा १९ बालप्रतिभाहरू सहभागी भए ।
‘जी–एलेभेन’ नामक संस्थाको आयोजनामा हुन लागेको ‘किन्डरगार्टेन ग्लोरी नेपाल’ शीर्षकको बालप्रतिभा प्रतियोगिताका लागि अर्को अडिसन पुस १६ मा सोही स्थानमा हुने र पुस १८ गतेदेखि ट्रेनिङ हुने जानकारी कार्यक्रमका संयोजक भक्त राईले न्युजकोसेलीलाई दिएका छन् ।
सामान्यतः एलकेजीदेखि कक्षा एकसम्म अध्ययनरत बालबालिकालार्इ यस प्रतियोगितामा सहभागी गराइनेछ । प्रतियोगिातामा प्रतिस्पर्धा गर्ने बालबालिकाहरुमध्ये प्रथम हुनेले नगद २० हजार रुपैयाँका साथ ताज, प्रमणपत्र र उपहार प्याकेज, द्वितीय अर्थात फर्स्ट रनरअप हुनेले १५ हजार रुपैयाँ नगद, ताज र उपहार प्याकेज तथा तृतीय अर्थात सेकेन्ड रनरअप हुनेले १० हजार रुपैयाँ नगद, ताज र उपहार प्याकेज प्राप्त गर्नेछन् ।
त्यसैगरी ‘पब्लिक च्वाइस’ मा पर्ने विजेताले ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् भने अन्य प्रतियोगीहरुलाई समेत विविध विधामा पुरस्कृत गरिने आयोजक पक्षले जनाएको छ ।
बालबालिकाहरुमा अन्तर्न्हिित विविधखाले प्रतिभा र क्षमतालाई प्रस्फुटित गराएर उनीहरुको प्रतिभा विकास र विस्तारमा सघाउ पुर्याउने उद्देश्यले यो कार्यक्रम आयोजना गर्न लागिएको कार्यक्रम संयोजक भक्त राई बताउँछन् । जी–इलेभेन समूहले विगतमा पनि यसखाले थुप्रै सामाजिक–सांस्कृतिक कार्यक्रमहरुको आयोजना गर्दै आएको छ ।