newskoseli.Com

कुखुराको भालेलार्इ समेत परिवार नियोजन !

सुन्दा अनौठो लाग्न सक्छ तर सत्य घटना हो । कुखुराको पनि परिवार नियोजन हुन्छ भन्दा अब नौलो मान्नु पर्दैन । कुखुराको भालेमा बन्ध्याकरण सफल बन्दै गएपछि अब अचम्म मान्नु नपर्ने भएकाे छ ।

रामपुर नगरपालिका– १४ बर्दलेका जनार्दन पन्तले कुखुराको भालेको अण्डकोष निकालेर परिवार नियोजन गर्न थालेका छन् । कुखुराको भालेको बन्ध्याकरण गर्ने अभ्यास पाल्पामा नौलो हो । भालेको पछाडिको करङको शल्यक्रिया गरी अण्डकोष निकालेपछि भालेको शिर पोथीको जस्तो हुने र बास्ने भालेको अण्डकोष निकाल्दा बास्न छाड्ने गरेको पन्तको भनाइ छ । भालेको बन्ध्याकरण गर्दा मासुको उत्पादन बढी हुने गर्दछ ।

कुखुरापालन गर्ने पन्तले कुखुराको परिवार नियोजन गर्दा मासु एक इन्चसम्म बाक्लो हुने र तौल पाँचदेखि सात किलोसम्म बढ्ने बताउँछन् । पहिले कुखुराको अण्डकोष निकाल्न निकै समस्या भए पनि अहिले सहजरुपमा बन्ध्याकरण हुने गरेको उनी बताउँछन् । पशुपन्छीसम्बन्धी औपचारिक अध्ययन नभए पनि अाफूले दाङका ध्रुव बस्नेतसँग फोनमार्फत जानकारी लिई कुखुराको परिवार नियोजन गर्न थालेको पन्त बताउँछन् ।

सुरुसुरुमा केही कुखुरा मरे पनि अहिले कुखुराको शल्यक्रिया सफल भएको उनको दाबी छ । शल्यक्रियापछि कुखुरा चिल्लो हुँदै जाने र यौन क्षमता कमजोर हुँदै जाने उनको दाबी छ । स्थानीय प्रजातिका कुखुरामा मात्र अण्डकोष निकाल्न सम्भव हुने गर्दछ । ब्वायलर प्रजातिका कुखुरामा अण्डकोष निकाल्ने काम भने उनले गरेका छैनन् । पहिले रहरका लागि गरिएको यो काम अहिले अनुसन्धानमूलक भइरहेको उनको भनाइ छ ।

नेपाली समाजमा मानिस प्रायः कम सन्तानका लागि परिवार नियोजन गर्न रुचाउँछन् । तर, पछिल्ला वर्षमा अनुसन्धानका लागि कुकुरलाई तीनमहिने सुईको प्रयोग र बन्ध्याकरण गरिएको पाइए पनि भालेको ‘भ्यासेक्टोमी’ भने नौलो मानिएको छ ।

पाल्पाका ग्रामीण क्षेत्रमा गोरु, बोका, सुँगुर र बङ्गुरको अण्डकोष निकाल्ने चलन रहिआएको बूढापाकाहरु बताउँछन् । अण्डकोष निकाल्दा यौनक्षमता कमजोर भई शान्त स्वभावको हुने हुँदा मासुको उत्पादन बढी हुने जानकारहरु बताउँछन् । करिब पाँच–सात वर्षदेखि कुखुराको शल्यक्रियामार्फत बन्ध्याकरण गर्ने काममा उनले सफलता पाउँदै अाएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर