newskoseli.Com

रहेनन् आचार्य खेमराज केशवशरण

नेपाली आध्यात्मिक क्षेत्रका धरोहर आचार्य खेमराज केशवशरणको ८१ वर्षको उमेरमा बुधबार राति निधन भएको छ ।

विभिन्न रोगसँगै निमोनियाबाट थला परेका उनलाई एक महिनाअघि मस्तिष्काघात समेत भएको थियो । चितवनको देवघाटमा बस्दै आएका उनको सोही रोगका कारण बुधबार राति १० बजे काठमाडौं महानगरपालिका– ७ स्थित कालोपुल नजिकै सिफलमा रहेको आफ्नै निवासमा निधन भएको छोरा गिरिधर उपाध्यायले जानकारी गराए ।

उनका दुई छोरा र दुई छोरी छन् । अमेरिकामा बस्ने जेठा छोरा नआइपुगेकाले उनको अन्तिम संस्कार शुक्रबार मात्रै काठमाडौंको आर्यघाटमा गरिने पारिवारिक स्रोतले जनाएको छ । आचार्य खेमराजको अन्तिम इच्छा देवघाट पुग्ने थियो । सोही इच्छाअनुसार उनलाई भेन्टिलेटर र अक्सिजनसहित हेलिकप्टरमा राखेर २६ दिनअघि देवघाट ल्याइएको थियो । त्यसपछि बिस्तारै उनको स्वास्थ्यमा सुधार आएर भेन्टिलेटर तथा अक्सिजन छुटाउँदा समेत स्वास्थ्यस्थिति स्थिर भएको थियो । चितवनको गर्मीले असर गर्न थालेपछि चार दिनअघि उनलाई काठमाडौं लगिएको थियो ।

मोरङ जिल्लाको लेटाङको जाँतेमा जन्मिएका उनी २०३५ देखि चितवनस्थित देवघाटमा बस्दै आएका थिए । आचार्य खेमराज केशवशरण संस्कृत वाङ्मय क्षेत्रका आध्यात्मिक व्यक्ति हुन् । सनातन हिन्दु दर्शनका व्याख्याता उनका तीन दर्जनभन्दा बढी कृति प्रकाशित छन् । उनले रेडियो नेपालमा लामो समय धार्मिक कार्यक्रम सञ्चालन गरेका थिए ।

स्थानीयवासी जगन्नाथ पोखरेलका अनुसार सुरुमा खेमराजले देवघाटमा अन्तर्राष्ट्रिय शरणागति आश्रम खोले । त्यहाँ माध्यमिकस्तरको पढाइ समेत हुन्थ्यो । पछि उनले राधा–माधवी मन्दिर पनि बनाए ।

“उन्नार्इस भाषामा प्रवचन दिन्छु भन्नुहुन्थ्यो”, लक्ष्मीनारायण मन्दिर देवघाटका पुजारी माधवप्रसाद आचार्यले भने– “उहाँले नेपालीसहित अंग्रेजी, संस्कृति, नेवारी, बंगाली, मराठी भाषामा प्रवचन गरेको त हामीले पनि सुन्यौं ।”

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर