शनिबार राजधानीमा आयोजित एमाले–माओवादी केन्द्रका सांसदहरुको संयुक्त प्रशिक्षण कार्यक्रममा एमाले सांसद नवराज सिलवालको सहभागितालाई लिएर सबैजसो सञ्चार माध्यमहरुले समाचार प्रकाशन–प्रशारण गरे ।
नेपाल प्रहरीका पूर्व डीआईजी सिलवाल चर्चित आईजीपी नियुक्ति प्रकरणका एक पात्र समेत थिए । त्यसै सन्दर्भमा उनले सर्वोच्च अदालतमा पेस गरेका कागजातमध्ये किर्ते कार्यसम्पादन मूल्यांकन (कासमु) समेत संलग्न रहेको भन्दै सिलवालले चुनाव जितेलगत्तै बजार तताउने काम भयो ।
सांसद सिलवाललाई पक्राउ गर्न प्रहरीले चौतर्फी खोजी गरिरहेको र उनी फरार रहेको चर्चाबीच शनिबार उनी बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजित कार्यक्रममा सहभागी भएका तस्बिर र भिडियो सार्वजनिक गरिए, थरीथरीका समाचार बने ।
शनिबार साँझ ५ः१२ मा ट्विट गर्दै सांसद सिलवालले यी घटनाक्रमप्रति दुःख व्यक्त गरेका छन् । ‘नवराज सिलवालमाथि कुनै औपचारिक अभियोग दर्ज पनि छैन र ऊ कुनै फ़रार व्यक्ति पनि होइन’, सांसद सिलवालले ट्विटरमा लेखेका छन्– ‘तथ्यलाई बंग्याएर केही मित्रहरूले अन्यथा ढंगले प्रचार गरी जनमानसमा भ्रम फैलाएकोप्रति दुःख व्यक्त गर्दछु ।’
नवराज सिलवालमाथि कुनै औपचारिक अभियोग दर्ज पनि छैन र ऊ कुनै फ़रार व्यक्ति पनि होइन । तथ्यलाई वंग्याएर केही मित्रहरूले अन्यथा ढंगले प्रचार गरी जनमानसमा भ्रम फैलाएको प्रति दु:ख व्यक्त गर्दछु ।
— Nawa Raj Silwal (@Nawasilwal) March 3, 2018