newskoseli.Com

जनावरमा पनि नभएको ‘भाले–पोथी असमानता’ यसकारण छ मान्छेमा…

समाजमा विद्यमान विवेकहीन मानेवृत्तिकै कारण सर्वहारा वर्ग र महिलाहरु समाजको सबैभन्दा असुरक्षित र पीडित समूह बनेका छन् । सम्पत्ति सम्पूर्ण रुपले हत्याएका पुरुषहरुले यति ठूलो विजय हासिल गरेको अहमता पालेका छन् कि सम्पत्तिहीनहरुमाथि जे पनि गर्न सक्ने ‘अधिकार’ आफूमा रहेको ठानिरहेका छन् ।

शोषण, उत्पीडन, दमन र अत्याचारको पराकाष्ठा भनेको बलात्कार हो अनि हत्या र हिंसा हो । ‘मालिक’ र ‘पुरुष’ ले सर्वहारा वर्ग र महिला भनेका घृणाका पात्र हुन् झैं लाग्ने गरी व्यवहार गरिरहेका छन् । उनीहरू छोरीलाई बोझ ठान्छन् र मुख हेर्नै नपरोस् भनेर गर्भमै तुहाउन पछि पर्दैनन् । ‘सक्ने’ ले त त्यसो गरिरहेका छन् ।

समाजमा यिनको आवश्यकता नै छैन झैं गरी छोरी भए गर्भमै हत्या गरिदिनेजस्तो जघन्य अपराध गरिरहेका छन् । ‘नचाहीकन जन्मिएका’ नानीहरुलाई पनि बलात्कार र हत्या गरेर मारिदिने गरेका छन् । वृद्धवृद्धा भैसकेको अवस्थामा पनि यस्ता अपराध गर्न छाडेका छैनन् ।

सर्वहारा वर्गलाई देख्दा ‘अगति पर्ने’ भावमा ‘मालिक’ ले आफूबाट टाढा राख्ने आदेश–फरमान गर्छन् । सवारी साधनमा समेत पर्दा हालेर सवार हुन्छन् । यस्तो भान पर्दै गएको छ कि ‘पुरुष’ र ‘मालिक’ भनेको सबै क्षेत्रबाट हेर्दा अपराधी सिवाय केही होइनन् ।

विवेकहीन ढङ्गले महिलामाथि बलात्कार त भैरहेकै हो, सर्वहारा वर्गलाई पनि सम्पूर्ण अधिकार खोसेर हत्या गरिरहेका छन् । त्यसपछि दर्दनाक हत्या हुनुले मानवसभ्यातामाथि नै भयानक चुनौती खडा हुन पुगेको छ । ‘पोथी’ होस् वा ‘भाले’, आखिर प्रकृति र प्राणीमाझ यिनीहरुबीचमा समानता नै त छ ! मानव त मानव नै हो नि ’

समाजशास्त्रीय तथा मानवशास्त्रीय अध्ययनका आधारमा उत्पत्तिदेखि पछिल्लो चरणसम्म पनि मानवबीच कुनै असमानता रहेको पाइँदैन । ‘डाइनोसर’ लोप भएका बेला, ५ करोड वर्ष अगाडि मानवजाति अस्तित्वमा आयो र लाखौं–करोडौं वर्ष बिताउँदा पनि महिला र पुरुषबीच भेदभाव देखिएन । एउटाबाट अर्को ‘शासित’ र ‘आश्रित’ देखिएनन् । एउटाबाट अर्को असुरक्षित र अपहेलित अवस्थामा पुर्‍याइएको पनि देखिँदैन ।

श्रम गरेर आफ्नो आवश्यकता पूरा गर्ने क्षमता भएको मानवजातिले यस्तो क्रूर, विवेकहीन, हिंश्रक र अपराधीको बिल्ला लाउनु परेको थिएन । तर अहिले आएर भने आफ्नै व्यवहारका कारण ‘पुरुष’ समूहले यो सभ्यताविरोधी बिल्ला भिर्नु परेको छ ।

मानवशास्त्र अनुसार श्रमको महत्त्व बढदै गएपछि श्रम गर्ने मानिस (महिला वा पुरुष)को पनि महत्त्व बढ्दै गयो । त्यसै महत्त्वका कारण श्रमिक र श्रमको स्वामित्व हत्याउन महिला सफल भए किनकि श्रम गर्ने मानिस हो र तिनलाई उनीहरुले आफूले जन्माएको दाबी गर्न सक्ने भए । तर, जन्मिने सन्तानमा दाबी गर्ने स्थिति कुनै पनि पुरुषको थिएन । स्वैच्छिक र समूहगत सहवासले गर्दा ‘भाले’ अर्थात् ‘पुरुष’ को दावी यसमा गुमेको हुन्थ्यो ।

हजारौं–लाखौं वर्षसम्म मानिसमा सहवास र सम्भोगबाट बच्चा जन्मने जानकारी समेत थिएन । सन्तानले आमा चिने पनि बाबु चिन्ने स्थिति थिएन । मानिस आमाका हुन्थे, बाबुका हुँदैनथे । यसरी महिलाले ‘अधिकार’ र ‘शक्ति’ पाएर लामो समयसम्म मातृसत्ता चलेको पाइन्छ । तर, त्यतिबेला महिलाबाट अहिलेको जस्तो जघन्य अपराध भएको पाइँदैन ।

सम्पत्तिको प्रचुरता र बचतमा स्वामित्व ग्रहण गर्ने क्रममा पुरुषले सम्पत्तिमा अधिकार जमाए । सम्पत्ति र अधिकार शक्तिमा बदलिँदै गयो र अन्ततः त्यो शक्तिले गर्दा श्रमिक र महिलाको अधिकार गुम्यो र शक्तिहीन बन्न पुगे । शक्तिहीनहरुको सम्पूर्ण नैसर्गिक अधिकारहरु समेत खोसिँदै गए । सम्पत्ति नहुनेहरु शक्तिहीन र निरीह बने । क्रमशः अहिलेको सर्वहारा वर्ग र महिलाहरुको दयनीय स्थिति देखा पर्‍यो । उनीहरुमाथि भएका अत्याचार अनि दर्दनाक व्यवहारहरु अहिले हामी हेरिरहेका छौं । हेर्न नसक्नेहरु यो स्थिति बदल्न लागिपरिहेका छन् ।

सर्वहारा, श्रमजीवी र महिलाले मुक्त हुन पाउनु अधिकार हो । तर, शोषक, मालिक र पुरुषले त्यो स्वीकार्दैनन् । शोषण, दमन, अन्याय, अत्याचार, विभेद गर्न पाउनुलार्इ उनीहरु ‘अधिकार’ ठान्दैछन् । कसैले स्वीकारे पनि नस्वीकारे पनि यो यिनै दुई वर्गबीचको लडाइँको युग हो । सम्पूर्ण मानवजाति यिनै दुई कित्तामा विभाजित भएका छन् र आ–आफ्नो व्यवहार गरिरहेका छन् । यो वर्ग संघर्ष हो । बलात्कार, हत्या, दमन आदि सबै यसैका परिणाम हुन् ।

लैङ्गिक विभेद अर्थात् महिलामाथि गरिने विभेद राजनीतिक रुप लिएर अहिले चर्चामा छ । नेपालको सन्दर्भमा जनयुद्धमार्फत महिलाले प्राप्त गरेका अधिकारहरु शान्तिपूर्ण संंक्रमणको कालका नाममा षड्यन्त्रमार्फत खोसिएका छन्, जसरी सर्वहारा वर्गको मुक्तिका लागि वलिदानमार्फत जम्मा पारेका हतियार खोसिएका छन् । अहिले त ‘तेस्रो लिङ्ग’ ले पनि संघर्षमार्फत संवैधानिक अधिकार खोजेका छन् । पुरुषहरु आफ्नो अधिकार कटौतीको पक्षमा छैनन् । यसले अन्तहीन झैं लाग्ने संघर्ष सिर्जना हुन पुगेको छ ।

महिला र पुरुष अर्थात् मानवजातिको ‘भाले’ र ‘पोथी’, अरु प्राणी झैं लिङ्ग, तौल, रुप, आकार, स्वर आदिमा फरक रुपमा रहेका छन् । संवेदनशीलताका हिसाबले पनि फरक हुने कुरा आउने गरेका छन् । बाँच्ने ‘आयु’ पनि उस्तै–उस्तै हुन्छ तर अवसर भने नितान्त फरक छ ।

प्राणीजगतमा मान्छे बाहेक अरूका ‘भाले’ र ‘पोथी’ जुध्दैनन्, भलै भाले बलवान् र आकर्षक हुन्छ । तर, मानिसका विषयमा फरक स्थिति छ– जुध्दछन् । तर, मानव संसारमा ‘पोथी’ जातिका लागि सबैभन्दा ‘खतरनाक’ कुरा ‘भाले’ नै हुन्छ । सूर्यको उज्यालोको केही समय अलि सुरक्षित भएको महशुस गर्छन्, बाँकी समय पूरै असुरक्षित र रिमरिम अँध्यारोसँगै उनीहरुमाथि ‘कर्फ’ आदेश भैहाल्छ । त्यसबखत हुने सबै दुर्घटनाहरुको दोषी आफैं हुनुपर्ने ‘हुकुम–फरमान्’ हुन्छ । पराधिनताको दुःख–दर्दको स्थितिबाट गुज्रिनु उनीहरुका लागि बाध्यता छ । ‘पोथी’ अर्थात् महिला यो संसारमा सबैभन्दा असुरक्षित छन् भने केवल ‘भाले’ अर्थात् ‘पुरुष’ बाट नै छन् ।

‘भाले’ जातिका सम्पूर्ण क्रियाकलापहरु ‘पोथी’ कै लागि भन्नेहरु पनि छन् । अर्थात्, ‘भाले’ हरु पोथीका ‘दास’ हरु हुन् भन्नेहरु पनि छन् । ‘पोथी’ हरु पनि सम्पूर्ण रुपले ‘भाले’ हरुप्रति समर्पित देखिएका पनि छन् । यस्तो हुँदाहुँदै पनि महिला र पुरुषबीच आकाश–पातालको फरक स्थिति छ ।

हुन त इतिहासभरि यसको फरक–फरक स्थिति छ । हरेक वस्तुस्थिति र बेलामा मानिसका व्यवहार, भावना र संस्कारहरु फरक रहेका छन् । यसलाई सम्पत्ति, शक्ति र पारिवारिक स्थितिमा निजीपनले प्रभाव पारेको देखिन्छ । पितृसत्तात्मक समाज भए तापनि सम्पत्तिमा स्वामित्व जमाउन नपाएका पुरुष कति निरीह र ‘नालायक’ देखिन्छन् भने उनको ‘पुरुषत्व’ नै गुमेको हुन्छ र आफू अत्यन्तै ‘कुरुप अवस्था’ मा रहेको भान पर्छ । सम्पत्तिको उत्पत्ति नभएको अवस्थाका पुरुष शायद अहिलेको अवस्थाका जस्ता पक्कै थिएनन् भनेर अनुमान लगाउन कठिन पर्दैन ।

अझ आफूले जन्माएका बच्चामाथिको स्वामित्व आफूसँग मात्र रहेको बेलाका महिला पनि शायद अहिलेको अवस्थामा छँदै थिएनन् भन्न आइतबार पर्खिनु पर्दैन । सम्पत्तिमा महिलाले जति–जति स्वामित्व गुमाउँदै गए, उति–उति महिलाको अवस्था नाजुक हुँदै गयो भन्न पनि हिचकिचाउनु पर्ने अवस्था होइन । मानिसको मनोवृत्ति पनि त्यही सम्पत्तिको स्वामित्वले निर्धारण गरेको पाइन्छ । यसले बनाएको समाजको मनोविज्ञान पनि सम्पत्तिको स्वामित्वको स्तरअनुसार फरक–फरक स्थितिको हुन्छ भन्न धेरै तथ्याङ्कहरु पेस गर्नै पर्दैन । त्यसैले महिला र पुरुषको मनोवृत्तिमा पनि फरकपन देखापर्दै गएको पाइन्छ ।

यो अवस्था वर्तमानको यथार्थ हो । बलात्कार र हत्याको जड कुरा यहींभित्र लुकेको छ । विद्यमान अवस्थालाई नबदलीकन यो अवस्था पनि हटाउन सकिँदैन । यो अवस्था एकाएक फुत्त आएको पनि होइन र यो तत्कालै हटेर जाने अवस्था पनि छैन । एउटा सचेत मान्छेले व्यवस्था नै फेर्ने कुरासित जोडेर यसमा प्रतिक्रिया जनाउन सक्छ भने आध्यात्मिक र प्रतिक्रियावादी सोच र चिन्तन भएको एउटा ‘अचेत’ भने आफैंभित्र भएका दोषहरु नदेखेर उकुसमुकुस हुँदै युगौंदेखि करायो, कराउँछ, चिच्याउँछ; यो अवस्था जादुगरले झैं फुत्त हटाउन सकिन्छ भनीराख्छ ।

१५ साउन, २०७५ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर