newskoseli.Com

नयाँ शक्तिका सांसद् र नेताहरु प्रवेश गर्नै आएनन् : मज्जैले जिल्लिए कांग्रेसका शीर्ष नेताहरु !

नयाँ शक्ति पार्टी नेपालका नेता तथा एक जना प्रदेशसभा सांसद नेपाली कांग्रेसमा प्रवेश गर्ने चर्चा दुई साता अघिदेखि नै चलेको थियो । कांग्रेस सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरुको उपस्थितिमा नयाँ शक्तिबाट निर्वाचित प्रदेश सांसद प्रवेश गर्ने भनिएपछि त्यही अनुसार तयारी भयो र शीर्ष नेताहरु सोमबार रसुवा पुगे ।

सांसद कांग्रेसमा प्रवेश गर्ने चर्चासँगै कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला र नेता गगन थापालगायत रसुवा पुगेका थिए । तर, प्रदेश सांसद प्रेम तामाङसहितका करिव ५ हजार नेता–कार्यकर्ताहरु कांग्रेस प्रवेश गर्ने कुरा तब गलत सावित भयो, जब उनीहरु कार्यक्रममै आएनन् । कांग्रेस जिल्ला कमिटीले सूचना नै निकालेर रसुवाको नयाँ शक्तिको सिंगो संगठनलाई पार्टीमा बिलय गराउने चर्चा चलाएपछि त्यहाँ राजनीतिक सरगर्मी बढेको थियो ।

तर, नयाँ शक्ति पार्टी छाडेपछि सांसद पद नै धरापमा पर्ने बुझेका सांसद तामाङ जिल्लाकै कालिकास्थनमा भएको कार्यक्रममै आएनन् । कांग्रेसले साताअघि नै सांसद तामाङ र पार्वतीकुण्ड गाउँपालिकाका प्रमुख बुचुङ तामाङसहितका नेता–कार्यकर्तासहित नयाँ शक्तिको सिंगो जिल्ला कमिटी नै कांग्रेसमा बिलय हुने भन्दै प्रचारप्रसार गरिसकेको थियो ।

नयाँ शक्तिका सांसद नै आउने भनेपछि कार्यक्रमस्थलमा कांग्रेसले नयाँ शक्तिको समेत झन्डा प्रयोग गरेर ‘एेतिहासिक एकतासभा’ शीर्षकको ब्यानर टाँगेको थियो । तर, नयाँ शक्तिका नेताहरु पार्टी प्रवेश गर्न नआएपछि कांग्रेसका शीर्ष नेताहरु सांस्कृति कार्यक्रम मात्रै हेरेर काठमाडौं फर्किए ।

नयाँ शक्तिको आपत्ति

कांग्रेसमाथि नयाँ शक्तिको झन्डा दुरुपयोग गरेको आरोप लागेको छ । आफ्नो पार्टीको झन्डा कांग्रेसले दुरूपयोग गरेको भन्दै नयाँ शक्ति पार्टी रसुवाले सोमबार विज्ञप्ति नै निकालेर विरोध जनाएको छ । नयाँ शक्तिका रसुवा संयोजक दावा तामाङले विज्ञप्ति निकालेर झन्डा दुरूपयोगको कारण खुलाउन कांग्रेसलार्इ चेतावनी दिएका छन् । यदि कांग्रेसले गल्ती नसच्याए कांग्रेसको भण्डाफोर गर्ने चेतावनी उनले दिएका छन् ।

कांग्रेसको सभामा नयाँ शक्तिबाट कोही पनि जनप्रतिनिधि कांग्रेस प्रवेश नगरेको नयाँ शक्तिले जनाएको छ ।

सांसद तामाङ निलम्वित

कांग्रेसमा जाने कुरा सार्वजनिक भएसँगै विवादित बनेका प्रदेश सांसद प्रेम तामाङलाई आइतबारै निलम्बन गरिसकेको छ । तीन दिनभित्र पार्टी कार्यालयमा उपस्थित भएर स्पष्टीकरण दिन उनलाई नयाँ शक्तिले निर्देशन गरिसकेको छ ।

कांग्रेसमा प्रवेश गर्ने खबर फैलिएसँगै नयाँ शक्ति पार्टी रसुवाले प्रदेश– ३ का सांसद तामाङलाई कारबाहीको सिफारिस गरेको थियो । गत मंगलबार बसेको नयाँ शक्ति जिल्ला समितिको बैठकले कारबाहीका लागि सिफारिस गरेअनुसार पार्टी केन्द्रले उनलाई निलम्वन गरेको हो । सांसद तामाङलाई पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने गरी कारबाहीका लागि केन्द्रीय कमिटीमा सिफारिस गरेको जिल्ला संयोजक दावा तामाङले बताएका थिए ।

नयाँ शक्ति रसुवाका पूर्वसंयोजक समेत रहेका उनी प्रदेशसभा निर्वाचनमा रसुवा ‘ख’ बाट विजयी भएका थिए । नयाँ शक्तिसँगको गठबन्धनमा रसुवा ‘क’ बाट कांग्रेसकै प्रभात लामा विजयी भएका थिए । प्रतिनिधिसभामा भने कांग्रेसका मोहन आचार्यले जितेका थिए । आचार्यलाई नयाँ शक्तिले साथ दिएको थियो ।

प्रेम तामाङबारे के भने डा. बाबुरामले ?

एक महिनायता मध्यपहाडी लोकमार्गअन्तर्गत मेची–महाकाली अभियानमा रहेका नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले सांसद प्रेमबारे तिखो टिप्पणी गरेका छन् । केही दिनअघि एउटा म्यागेजिनमा अन्तवार्ता दिने क्रममा बाबुरामले प्रेमलाई ‘बिग्रिसकेको व्यक्ति’ को संज्ञा दिएका छन् ।

युवा उमेरका प्रेमले नयाँ शक्तिलाई कठिन क्षणमा साथ दिएको बताउँदै त्यो अन्तवार्तामा बाबुरामले कांग्रेसका सभापति शेरबहादुर देउवासँगै सल्लाह गरेर संघीय संसदमा नयाँ शक्तिले रसुवा र गोरखबाट टिकट लिएको सम्झेका छन् । कांग्रेससँगकै सहकार्यमा चुनाव जितेका प्रेमलाई कांग्रेसकै सांसद मोहन आचार्यले बिगारेको निचोड बाबुरामले निकालेका छन् ।

अर्बपति ठेकेदार आचार्यले प्रेमलाई किनेको स्मरण बाबुरामले गरेका छन् । रसुवामा संघीय संसदका लागि नयाँ शक्तिले पाइसकेको टिकट प्रेमले पैसा खाएर मोहन आचार्यलाई बेचेको दाबी बाबुरामले गरेका छन् । संघीय संसदका लागि आफूले लिएको टिकट नै बेच्ने व्यक्ति विचलित हुनु ठूलो कुरा नभएको निचोड बाबुरामले निकालेका छन् ।

यस्तो थियो कांग्रेसको सूचना

सूचना
नयाँ शक्ति पार्टी नेपालको तर्फबाट प्रत्यक्षतर्फ निर्वाचित एक मात्र प्रदेश सांसद श्री प्रेम तामाङ तथा एक मात्र निर्वाचित गाउँपालिका प्रमुख श्री बुचुङ तामाङसहित नयाँ शक्ति पार्टी नेपाल, रसुवाको नेपाली कांग्रेसमा हुन गइरहेको ऐतिहासिक तथा गौरवशाली समायोजन तथा एकीकरण कार्यक्रममा उपस्थितिका लागि हार्दिक अपिल गर्दछौं ।

मितिः २०७५–११–१३
स्थानः कालिकास्थान, रसुवा
प्रमुख अतिथिः पार्टी सभापति श्री शेरबहादुर देउवा
अतिथिः श्री गगनकुमार थापा, श्री विश्वप्रकाश शर्मा
आयोजकः नेपाली कांग्रेस
जिल्ला कार्यसमिति, रसुवा

अन्नपूर्णपोस्टडटकमबाट

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर