newskoseli.Com

वैशाख १३ गते ४ सम्पदा पुनःनिर्माण एकै साथ

गत वर्ष वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त बनेका पुरातात्विक, सांस्कृतिक, धार्मिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण चार सम्पदाको एकैसाथ पुनःनिर्माण सुरु गरिने भएको छ ।

पुरातत्व विभागले वैशाख १३ गते सोमबार प्रमुख चार दलका शीर्ष नेताबाट एकै समयमा पुनःनिर्माण सुरु गर्न लागेको महानिर्देशक भेषनारायण दाहालले राससलाई जानकारी दिए ।

उनका अनुसार प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वयम्भूको अनन्तपुर मन्दिर, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वसन्तपुरस्थित वंशगोपाल मन्दिर, एकीकृत नेकपा माओवादी का अध्यक्ष पुष्पकमल दाहालले पाटन दरबार क्षेत्रस्थित मणिमण्डप, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले भक्तपुरस्थित फसीवेग एवम् लायकू दरबारको ढोका पुनःनिर्माणको शुभारम्भ गर्ने कार्यक्रम तय भएको छ ।

चारवटै पुनःनिर्माणको शुभारम्भ बिहान ९ बजे एकै समयमा गरिने पनि विभागले जनाएको छ । मणिमण्डप एक वर्षभित्रमा पुनःनिर्माण भइसक्छ भने अन्य सबै सम्पदा बहुवर्षीय योजनामा परेका छन् । भूकम्पपछि १०४ पुरातात्विक सम्पदा पुनःनिर्माण गर्नुपर्नेमा ४९ सम्पदाको ठेक्का गरिसकिएको छ । एक हप्ताभित्र ठेक्का गरिएका सबै सम्पदा पुनःनिर्माण सुरु गरिने महानिर्देशक दाहालले जानकारी दिए ।

भूकम्पबाट क्षति भएका १०४ वटै सम्पदा पुनःनिर्माणका लागि रु दुई अर्ब १० लाख ३४ हजार लाग्ने प्रारम्भिक अनुमान विभागको छ । यसमध्ये रु २८ करोड राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट निकासा भइसकेको छ ।

यसैगरी गत वर्ष वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त बनेका पुरातात्विक, सांस्कृतिक, धार्मिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण सम्पदाको निर्माण पुरानै रुपमा गर्न दक्ष जनशक्ति तयार पार्न ३० जनालाई तालिम दिइएको छ ।

नर्वे सरकारको सहयोगमा विभागले सम्पदा स्थलका ढुङ्गा र काठलाई पुरानै स्वरुप दिने सीप सिकाउन ३० जनालाई तालिम दिएको हो । सँगै काष्ठकला संरक्षण गर्ने सीप पनि सिकाइएको छ ।

‘पुरातात्विक स्थलको महत्वपूर्ण संरचना संरक्षण गर्न सुरक्षित स्थानमा राखिएको छ, यसबीचमा स्वयम्भूको शान्तिपुरमा अवस्थित ऐतिहासिक भित्तेचित्र राष्ट्रिय सङ्ग्रहालयमा लगी सुरक्षित गरिएको छ, बागदरबारबाट पनि विश्वरुपको दुर्लभ चित्र सङ्ग्रहालयमै संरक्षण गरिएको छ’ – महानिर्देशक दाहालले बताए ।

सम्पदा पुनःनिर्माणका लागि विदेशी सहयोगसमेत आउन थालेको छ । स्वयम्भूको आनन्दकुटी विहार श्रीलङ्का सरकारको अनुमानित रु २० करोड लागतमा निर्माण हुनेछ ।

श्रीलङ्काकै रु पाँच करोड आर्थिक सहयोगमा ललितपुरको बुङ्मतीस्थित रातो मच्छेन्द्रनाथ मन्दिर पनि पुनःनिर्माण सुरु भएको छ । चालु आवमा पुरातात्विक सम्पदा संरक्षण एवम् जीर्णोद्धार र पुनःनिर्माण गर्न रु ७५ करोड बजेट छुट्याइएको विभागका प्रमुख पुरातत्व अधिकृत दामोदर गौतमले जानकारी दिए ।

‘पुनःनिर्माणका लागि जनशक्ति थप गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ, विभागमा हाल १७ जना इन्जिनियरको मात्र दरबन्दी भएकाले ४० जना आर्किटेक्चर इन्जिनियर, १० जना सिभिल इन्जिनियर र १५ जना सवइन्जिनियर भर्ना गर्ने क्रम सकिएर सिफारिस हुँदैछ’ – उहाँले भने ।

भूकम्पले विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रका ५३ वटा सम्पदामा क्षति पुगेको छ । जसलाई पुनःनिर्माणका लागि रु दुई अर्ब लाग्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यसका लागि यस वर्ष प्राधिकरणबाट रु सात करोड प्राप्त भएको कोषका सदस्य–सचिव डा गोविन्द टन्डनले जानकारी दिए ।

‘कोषको आफ्नै स्रोतबाट भूकम्पले भत्किएको लालगणेश मन्दिर पुनःनिर्माण गरेर पशुपति क्षेत्रका सम्पदा निर्माणको श्रीगणेश गरिएको छ, प्राधिकरणबाट प्राप्त रु सात करोडले शङ्खनारायण सत्तल, गोरखनाथको धुनीघर र आश्रम पुनःनिर्माण गर्न ठेक्का भई काम सुरु हुने चरणमा पुगेको छ’ –उनले भने ।

भूकम्पले क्षति पु¥याएको अर्को विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्रस्थित बौद्ध स्तूपको पुनःनिर्माण पनि बौद्धनाथ क्षेत्र विकास समिति, बौद्ध धर्मसम्बन्धी सङ्घसंस्था र बौद्ध धर्मगुरुको सहयोगमा सुरु भएको छ । स्तूपको डोमदेखि माथिको भाग गत माघदेखि पुनःनिर्माण सुरु गरिएको समितिका अध्यक्ष सम्पूर्णकुमार लामाले जानकारी दिए ।

‘स्तूपको माथिल्लो भागका १३ भुवन, आँखा र गजुरको भागमा सुनको मोलम्बा लगाउनुपर्ने भएकाले पुनःनिर्माणको लागत रु १८ करोड हुनेछ, मङ्सिरसम्ममा स्तूपको पुनःनिर्माण सम्पन्न हुनेछ, समितिकै कोषबाट यसअघि नै मूल स्तूप वरिपरिका साना दुई स्तूप, माने र पर्खाल रु २० लाखको लागतमा पुनःनिर्माण सम्पन्न भएको छ’ – उनले भने।

यसअघि भूकम्प सुरक्षा दिवसको अवसर पारेर सम्पदा पुनःनिर्माणको शुभारम्भ माघ २ गते बुङ्मतीमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थियो । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर