newskoseli.Com

तीज, २०७६ : पशुपतिमा २ बजेसम्ममा ४ लाख भक्तजन, अन्यत्र कहाँ, कसरी मनाइयाे ?

पशुपति मन्दिरमा यस वर्ष दर्शनार्थीले सहज रुपमा दर्शन गर्न सक्ने गरी व्यवस्थित गरिएको पाइएको छ । सोमबार बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खुला गरिए । बिहान १५ मिनेटमै मूल मन्दिरभित्र प्रवेश गरेर दर्शन गर्न सकिन्थ्यो भने १० बजेपछि आधा घन्टासम्ममा दर्शन गर्न सकिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. प्रदीप ढकालले बताए ।

मूल मन्दिर प्रवेश गर्न पशुपति क्षेत्र जाने स्थानमा चार ठाउँबाट लाम लाग्ने व्यवस्था गरियो । उत्तरतिर गुह्येश्वरी र दक्षिण एयरपोर्ट– तिलगङ्गा क्षेत्रमा मूल मन्दिर प्रवेश गर्ने लाम निकै लामा थिए । पश्चिम जयबागेश्वरीबाट छिर्ने लाम भने सहज रहेकाले भक्तजनलाई त्यताबाट पस्न उनले आग्रह गरेका थिए । यस वर्षदेखि पूर्वतर्फको मूल ढोका पनि तीजका भक्तजनलाई प्रवेश गर्न वैकल्पिक रुपमा खुला गरिएकाले चाँडो दर्शन गरेर फर्कन सकिएको भक्तपुरको साँगाबाट आएकी रश्मिला ढुङ्गानाले बताइन् । विगत वर्षभन्दा यस वर्ष लामबाट मन्दिर प्रवेश गरी दर्शन गर्न सहज भएको उनको प्रतिक्रिया थियो ।

दिउँसो २ बजेसम्म करिव चार लाख भक्तजनले पशुपतिको मूल मन्दिरभित्र प्रवेश गरी दर्शन गरेको सदस्यसचिव ढकालले जानकारी दिए । तीजका दिन सोमबार पनि परेकाले भक्तजनको बढी भीड लागेको हो । भक्तजनको स्वास्थ्यलाई ध्यान दिएर मूल मन्दिर परिसरमै तीन वटा स्वास्थ्य शिविर सञ्चालन गरिए । निःशुल्क पानी वितरण गर्ने संस्था पनि पशुपति क्षेत्रमा खटिए ।

यस वर्ष उल्लेख्य रुपमा महिला प्रहरी पशुपति क्षेत्रमा खटाइए । तीस प्रतिशत महिला प्रहरी खटाइएको महानगरीय प्रहरी वृत्त गौशालाका प्रमुख प्रदीप सिंहले बताए । भक्तजनको सुरक्षाका लागि चार हजारभन्दा बढी सुरक्षाकर्मी पशुपति क्षेत्रमा परिचालन गरिए ।

मन्दिर दर्शन गरेका भक्तजन हंसमण्डप, वनकाली, गौशाला, मित्रपार्कलगायतका स्थानमा भक्ति सङ्गीतसहित गीत गाउँदै नाचगान गरेर बसे । अपराह्न ४ बजेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिर गई पूजा एवम् दर्शन गर्ने कार्यक्रम रहेको कोषले जनाएको छ ।

यसैगरी पेप्सीकोलास्थित नागेश्वर मन्दिरमा पनि बिहानैदेखि महिला भक्तजनको भीड लाग्यो । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रकाशजङ्ग रायमाझीका अनुसार नागको मणिलगायत बहुमूल्य वस्तु मूर्तिको गर्भगृहमा रहेकाले यहाँ भक्तजनको लाम लाग्ने गरेको छ । उपत्यकाका वसन्तपुरस्थित महादेव मन्दिर, गोकर्णेश्वर, डोलेश्वर, सन्तानेश्वरलगायत देशभरका शिवालयमा महिला भक्तजनको उल्लेख्य भीड लाग्यो ।

दिनभर ब्रत बसेका महिलाले बेलुकी पूजा लगाउने वा मङ्गलबार बिहान गौदान र पूर्णपात्र गरी हरितालिका तीज ब्रत उद्यापन गर्ने गर्छन् । तीजको ब्रत गरेमा पारिवारिक सुख र शान्ति प्राप्त हुने तथा मनोकामना पूरा हुने धार्मिक विश्वास छ । ‘सत्ययुग’ मा हिमालयकी पुत्री पार्वतीले पानी समेत नपिएर भाद्र शुक्ल तृतीयाका दिन ब्रत बस्दा महादेव स्वामी पाएको चर्चा पौराणिक धार्मिक ग्रन्थमा उल्लेख छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर