newskoseli.Com

गृहमन्त्री–यूएसएआईडी प्रशासक भेटवार्ता : विपद् व्यवस्थापनमा थप सहघाउने प्रतिबद्धता

नेपाल भ्रमणमा रहेकी अमेरिकी सहयोग नियोग (यूएसएआईडी) की एसिया ब्युरो सहायक प्रशासक ग्लोरिया डी. स्टीले बिहीबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सँग शिष्टाचार भेटवार्ता गरेकी छन् ।

गृह मन्त्रालयमा भएको भेटमा नेपालका विभिन्न क्षेत्रमा यूएसएआईडीले गर्दै आएको सहयोग तथा आगामी दिनमा थप सहयोग र सहकार्यका क्षेत्रमा केन्द्रित रहेर छलफल भएको थियो । भेटका क्रममा गृहमन्त्री थापाले नेपालको विकास, विपद् व्यवस्थापन तथा भूकम्प पछिको पुनर्निर्माणलगायतका क्षेत्रमा अमेरिकाले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा थप सहयोगका लागि समेत आग्रह गरे ।
गृह मन्त्रालयले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण गठनको प्रक्रिया सुरु गरी प्राधिकरणका लागि प्रमुख कार्यकारी अधिकृतको दरखास्त आह्वान गरीसकेको जानकारी दिँदै यूएसएआईडीबाट प्राधिकरणका लागि आवश्यक सहयोग पाउने आशा गृहमन्त्री थापाले व्यक्त गरे ।

भेटवार्ताका क्रममा सहायक प्रशासक ग्लोरियाले नेपाल–अमेरिका सम्बन्धको चर्चा गर्दै नेपाललाई यूएसएआईडीले सहयोगको प्राथमिकतामा राखेको जानकारी दिइन् । नेपाललाई दिइँदै आएको सहयोग निरन्तर रहनुका साथै नेपालको अपेक्षा अनुसार थप सहयोग विस्तार गर्न आफूहरु तयार रहेको उनले बताइन् ।

विपद् व्यवस्थापन प्राधिकरण गठन अन्तिम चरणमा पुगेको जानकारी पाउँदा आफूलाई खुशी लागेको भन्दै प्राधिकरणलाई आवश्यक सहयोग गर्न आफूहरु तयार रहेको सहायक प्रशासक ग्लोरियाले बताइन् । भेटवार्तामा नेपालका लागि अमेरिकाका राजदूत र्‍याण्डी बेरी पनि सहभागी रहेको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जनाएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर