newskoseli.Com

कास्की– २, उपचुनाव अपडेट : प्रचारप्रसार तीव्र, विद्या र खेमराजसहित २१ उम्मेदवारको स्थिति के ?

उपनिर्वाचनको तिथि नजिकिन थालेसँगै प्रतिनिधिसभा सदस्य पदको चुनावी माहोलले कास्की– २ लाई तताउँदै लगिरहेको छ । कास्की– २ मा चुनावी प्रचारप्रसार तीव्र बन्दै गैरहेको छ ।

मतदातालाई आफ्नो पक्षमा आकर्षित गर्नका लागि घरदैलो कार्यक्रम, कोणसभा र सडकमा पार्टीका झन्डा तथा चुनाव चिह्न बोकेर कार्यकर्ताहरु प्रचारप्रसारमा जुटेका छन् । मङ्सिर १४ मा हुने कास्की– २ को उपनिर्वाचनमा १० स्वतन्त्रसहित ११ राजनीतिक पार्टीका उम्मेदवार चुनावी मैदानमा छन् । प्रत्येक उम्मेदवार निर्वाचनमा आफैंले जित्ने दाबी गर्दै मतदातालाई रिझाउँदै मत माग्ने प्रयासमा व्यस्त देखिन्छन् ।

उम्मेदवारहरू यसरी उत्रिइरहेछन् मैदानमा…

दिवंगत रवीन्द्र अधिकारीकी पत्नी एवं नेकपाकी उम्मेदवार विद्या भट्टराई रवीन्द्रको सपनालाई पूरा गर्ने तथा विकास निर्माणलाई प्राथमिकतामा राख्ने वाचाका साथ मतदातालाई आकर्षित गर्दै आफ्नो पक्षमा पार्ने अभियानमा जुटेकी छन् ।

नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेल भने उमेरका हिसाबले यस उपनिर्वाचनका सबैभन्दा जेठा प्रत्यासी हुन् । ७४ वर्षीय पौडेलले यो उमेरमा पनि युवाजतिकै खट्न सक्ने र निष्ठाको राजनीति गरिरहेको भन्दै आफैंलाई जिताउन मतदातासमक्ष आग्रह गरिरहेका छन् ।

लामो समयदेखि नेकपा र नेपाली कांग्रेसले मुलुकमा शासन चलाए तापनि कास्कीमा सो अनुरूपको विकास नभएको भन्दै अब आफूलाई जिताएमा कास्की– २ मा विकासका कार्यलाई तीव्रता दिने दाबीका साथ समाजवादी पार्टीका उम्मेदवार धर्मराज गुरुङ मतदाताबीच पुगिरहेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रोमबहादुर भण्डारी चाहिँ यो उपनिर्वाचनमा नेकपाले हारे पनि सरकारलाई कुनै असर नपर्ने र कांग्रेसले जिते पनि सरकारमा पुग्न नसक्ने भन्दै आफूले जित्नुपर्ने जिकिर गरिरहेका छन् । सनातन धर्मको रक्षाका लागि आवाज उठाउँदै आइरहेको हुँदा आफूलाई जिताउनेतर्फ लाग्न उनी मतदातासमक्ष आग्रह गरिरहेका छन् ।

साना दल र स्वतन्त्र उम्मेदवारका एजेन्डा के–के ?

त्यस्तै, नेकपा र कांग्रेसले जनताबीच गरेका विगतका वाचा पूरा नगरेको र मुलुकमा भ्रष्टचार मौलाएको भन्दै साझा पार्टीकी उम्मेदवार रजनी केसी आफूले चाहिँ जनताबीच गरिएका वाचा पूरा गर्ने दावीका साथ मत माग्न व्यस्त भएकी छन् ।

नेपाली कांग्रेस (बीपी) बाट चन्द्रबहादुर रानाभाट, नेपाल कम्युनिस्ट पार्टी (माले) बाट टेकनाथ भण्डारी, मङ्गोल नेसनल अर्गनाइजेसनबाट रियाज गुरुङ, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, देशभक्त समाज पार्टीबाट वीरबहादुर विश्वकर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बाट गङ्गा मल्लले पनि चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन् ।

स्वतन्त्ररूपमा चुनावी मैदानमा उत्रेका उमानाथ गौतम, कमलजङ्ग कुँवर, जमुना शर्मा, दीपक रेग्मी, नवराज बाँस्तोला, यज्ञप्रसाद पङ्गेनी, रनबहादुर दमै, लक्ष्मीकुमारी भुजेल, सुनीलबहादुर कोइराला र सुनिल भुसाल पनि आ–आफ्नो चुनाव चिह्नका साथ मतदाताको घरदैलोमा पुगिररहेका छन् ।

कास्की– २ मा ७१ हजार ८ सय ७१ मतदाता छन् । यस निर्वाचन क्षेत्रअन्तर्गत पोखरा महानगरपालिकाका ११ वटा वडा पर्दछन् । पाेखरा नगरपालिकाका वडा नं. ४, ७, ८, ९, ११, १५, १६,१७, २०, २१ र ३३ यस निर्वाचन क्षेत्रमा पर्ने खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर