घाटमा पुर्याएर जलाउनै लागिएको एक महिलाको शव प्रहरीले नियन्त्रणमा लिएको छ । सिंघिया खोलाको घाटबाट महिलाको शव प्रहरीले नियन्त्रणमा लिएको हो ।
ती महिलाको मृत्यु शंकास्पद रहेको भन्दै माइती पक्षले खबर गरेपछि प्रहरीले मसानघाटबाट शव नियन्त्रणमा लिएको हो । विराटनगर– ८, बलुवाहीस्थित सिंघिया खोलामा जलाउने तयारी भइरहेको अवस्थाको शव नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । विराटनगर– ८, बलुवाहीकै २८ वर्षीया प्रेमदेवी साहलाई श्रीमानको परिवारले सद्गत गर्न खोलामा पुर्याएको थियो ।
बुधबार राति कालगतिले उनको मृत्यु भएको श्रीमान पक्षले दाबी गरे पनि मृतकको घाँटीमा शंकास्पद डाम देखिएपछि मृतक साहको शव प्रहरीले नियन्त्रणमा लिएको थियो । मृतक महिलालाई जलाउनका लागि घाटमा पुर्याएर चिता समेत बनाइसकेको अवस्थामा माइती पक्षका आफन्तले मृतको घाँटीमा आलो डाम देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
लगत्तै पुगेको प्रहरीले शवको मुचुल्का गरी पोस्टमार्टमका लागि कोशी अस्पतालमा पठाएको खबर शुक्रबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।